शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

गिरिजाप्रसाद कोइरालाले फौजी आक्रमण बढाइदिनुप-यो भन्नुहुन्थ्यो : प्रचण्ड

बिहीबार, ०१ फागुन २०७६, १० : २४
बिहीबार, ०१ फागुन २०७६

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सही विचार र सही नेतृत्वले इतिहासमा ठूल्ठूला फड्को मार्न सक्ने बताएका छन् ।

जनयुद्ध दिवसका अवसरमा नेकपा मुख्यालयमा बिहीबार बिहान आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै प्रचण्डले केही वर्ष पहिलासम्म नेपालमा यति छिटो संविधान घोषणा भइहाल्ला, शत्रुतापूर्ण अवस्थामा रहेका मुख्य पार्टीहरु एकतामा आइहाल्लान् र दुई तिहाई ल्याइ हाल्लान् भनेर कसैले सोच्न नसकेको टिप्पणी गरे ।

सही विचार लिएकै कारण त्यो सम्भव भएको उनले बताए । उनले तत्कालीन अवस्थामा माओवादीले सुरु गरेको जनयुद्ध सम्भव होला भन्ने कसैले पनि नसोचेको पनि स्मरण गराए । ‘यसले संविधान सभा जन्माउला, गणतन्त्र नेपाल स्थापना गराउला भन्ने थिएन,’ उनले भने ।

राज्य र विद्रोही पक्ष फेरि शान्ति समझौतामा आउलान्, उनीहरुको सहकार्यबाट मुुलुकमा राजतन्त्र अन्त्य होला भन्ने पनि कुनैबेला असम्भवजस्तै लाग्ने विषय रहेको प्रचण्डले बताए । तर सही विचार र सही नेतृत्वले गर्दा नै त्यो सम्भव भएको उनको भनाइ थियो ।

उनले तत्कालीन एमालेका नेता बामदेव गौतम, युवराज ज्ञवाली लगायतले आफूहरु जनयुद्धमै रहेको समयमा आधार इलाकामै आएर छलफल गरेको र एक प्रकारको समझदारी गरेको जिकिर गर्दै प्रचण्डले त्यही समझदारीको दायरा फराकिलो हुँदै राजतन्त्र अन्त्य र गणतन्त्र स्थापनाको आधार तयार भएको बताए ।

उनले नेपाली काँग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला र आफूबीच १२ बुँदे सहमतिको सेरोफेरोमा दैनिक सम्पर्क हुने गरेको र गिरिजाप्रसाद कोइरालाले आफूहरुलाई फौजी आक्रमण बढाइदिन आग्रह गर्ने गरेको पनि खुलासा गरे ।

‘ठूल्ठूला फौजी आक्रमण गरिदिनुप-यो भन्नुहुन्थ्यो,’ उनले भने, ‘यसले नै राजतन्त्र अन्त्य गर्ने वातावरण बन्यो ।’

अर्को नेतृत्व र अर्को विचार हुन्थ्यो भने शान्ति प्रक्रियामा आउने कुरा त्यति सजिलो नभएको पनि उनले प्रष्ट पारे ।  विचार र नेतृत्वप्रति आन्दोलनमा विश्वास हुँदैन थियो भने आजको परिवर्तन सम्भव नहुने उनको भनाइ थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप