शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भिडियो समाचार : चालु आर्थिक वर्षको बजेटको आकार घट्यो, काँग्रेसमा विधानका दफा निलम्बन विवाद टुंगियो

बुधबार, २९ माघ २०७६, २१ : १४
बुधबार, २९ माघ २०७६

बजेट समिक्षा

अर्थमन्त्री डा. युवराज खतिवडाले चालु आर्थिक वर्षको बजेटको आकार घटाइएको बताएका छन् । आर्थिक वर्ष २०७६÷०७७ को बजेटको अर्धवार्षिक समीक्षा गर्न बुधबार अर्थमन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री खतिवडाले बजेटको आकार घटाएर १३ खर्ब ८५ अर्ब ९६ करोड ३६ लाख रुपैयाँमा झारेको बताए । 

आर्थिक वर्षको अन्त्य सम्ममा कुल बजेटको ९० दशमलव ४ प्रतिशत बजेट खर्च हुने अनुमान अनुसार बजेटको आकार घटाइएको उनले बताए । गत जेठमा संसदमा प्रस्तुत गरेको बजेटको कुल आकार १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख रुपैयाँको रहेको थियो ।

त्यस्तै अर्धवार्षिक समिक्षामा चालु खर्चतर्फ ९ खर्ब ४ अर्ब ४६ करोड ८ लाख रुपैयाँ अर्थात विनियोजित बजेटको ९४ दशमलव ५ प्रतिशत खर्च हुने अनुमान गरिएको छ भने पूँजीगत तर्फ ३ खर्ब २६ अर्ब ८१ करोड २७ लाख रुपैयाँ अर्थात ८० दशमलव १ प्रतिशत खर्च हुने अनुमान गरिएको छ । 

अर्थमन्त्री खतिवडाले ६ महिनामा विनियोजित बजेटको २७ दशमलव ६ प्रतिशत अर्थात ४ खर्ब २२ खर्ब ५५ करोड ६ लाख रुपैयाँ बजेट खर्च भएको बताए ।

उनले गत आर्थिक वर्षको सोही अवधिमा भन्दा ६ प्रतिशतले खर्च बढेको र माघ २८ गते सम्ममा यस्तो बजेट खर्च ४ खर्ब ८२ अर्ब पुगेको समेत उनले बताए ।

अर्थमन्त्री खतिवडाले ६ महिनामा कुल व्यापार घाटा ६ दशमलव १ प्रतिशतले घटेर ६ खर्ब ३७ अर्ब ४१ करोड रुपैयाँ कायम भएको बताए ।

नेपाली काँग्रेस

 नेपाली काँग्रेसको केन्दीय कार्यसमिति बैठकले हरेक वडा तहमा ५० प्रतिशत नयाँ क्रियाशील सदस्यता वितरण गर्ने निर्णय गरेको छ । पार्टीको बुधबारको केन्द्रीय कार्यसमिति बैठकले प्रत्येक वडामा ५० प्रतिशत नयाँ क्रियाशील सदस्यता थप गर्ने तथा वडा कार्य समिति र क्षेत्रिय कार्यसमितिका लागि आवश्यक पर्नेसम्म क्रियाशिल सदस्यता वितरण खुला गर्ने निर्णय गरेको हो ।

 

प्रत्येका वडामा जनसंख्याको बनोटलाई आधार बनाएर समानुपातिक हिसाबले वितरण गर्ने निर्णय बैठकले गरेको प्रवक्ता विश्वप्रकाश शर्माले बताए । प्रवक्ता शर्माले गत पुस ११ गतेको बैठकले अधिवेशनसम्मका लागि विधानका केही धारा निलम्बन गर्ने भनि गरेको निर्णय बुधबारको बैठकले सर्वसम्मतिले पारित गरको बताए । 

पार्टीको महाधिवेशनसम्म विधानका ५ वटा धारा निलम्बन गर्ने निर्णय गत पुस ११ गतेको केन्द्रीय कार्यसमिति बैठकले गरेको थियो । आजको बैठकमा सिटौलाको साथ पाएका देउवाले सो धारामा सहमति जुटाएका हुन् । तर त्यतिबेला वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले बैठक नै बहिस्कार गर्दै बहुमतबाट भएका निर्णयहरु मान्य नहुने बताउँदै आएका थिए । 

केन्द्रीय सदसय प्रदीप पौडेलले भने, ‘विधानको धारा निलम्बनको कुरा नयाँलाई दिने वा नदिने भन्नेमा जोडियो । नयाँलाई सदस्यता नदिने कुरा हुन सक्दैन । पार्टीको सदस्यता अभिलेख अध्यावधि छैन । त्यस्तैले एक वर्ष अगाडि सदस्यता लिएकोले मात्र चुनावमा भाग लिन पाउने भन्ने कुरा लागू नसक्ने भएपछि नेताहरुबीच सहमति भयो ।’ 

अन्य विवादित विषयलाई थाँती राखेर विधान लिनम्बनको विषय टुंगो लगाइएको हो । यस्तै पार्टीको संशोधन विधानको दफा ३५ को उपदफा २ अनुसार तोकिएको समयसीमाभित्र अधिवेशन गराउन कानुनी असहजता देखिएपछि बैठकले विधानको बाधा अड्काउ फुकाउ आदेशको प्रयोगमार्फत उक्त दफा निलम्बन गरेको छ ।

प्रतिनिधिसभाको, शून्य समय

प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसदहरुले चीनबाट संक्रमण सुरु भएका कारोना भाइरसका कारण नेपालको पर्यटन क्षेत्रमा पर्ने प्रभाव, ललिता निवास प्रकरणमा अख्तियारको निर्णय र छुवाछुत लगायतका विषयहरु बैठकमा उठेका थिए ।

सांसद विद्या भट्टाराईले भविष्यमा कारोनाको जोखिम बढेको सन्दर्भमा विमानस्थलमा राखिएको स्क्यानिङ मेसिनबाट हुने चेकजाँचलाई प्रभावकारी बनाउनुपर्ने बताइन् ।

भ्रमण वर्ष २०२० लाई सफल पार्न र विश्वभरी नै नेपालमा कोरोनाको जोखिम छैन् भन्ने सन्देश दिन विमानस्थलमा हुने चेकजाँचर्लाइ कडाई गर्नुपर्ने उनले बताइन् । चीनको वुहानमा रहेका विद्यार्थीहरुलाई स्वदेश फर्काउने सरकारले तयारी गरिरहेको र सबैले यो विषयमा सबैले सरकारलाई आग्रह गरिन् ।

सांसद विना कुमारी श्रेष्ठले नेपालको श्रम बजार औपचारिक भन्दा अनौपचारिक रुपम बृद्धि भएको तर्फ सरकारको ध्यानाकर्षण गराइन् ।

 
सांसद विन्दा पाण्डेले ललिता निवास प्रकरणमा मुद्दा विशेष अदालतमा गएको र अदालतबाट दोषि कोही नछुट्ने र निर्दोष कोही नफस्ने गरी निर्णय हुनेमा आफु ढुक्क रहेको बताइन्  । 

प्रतिनिधिसभा, गोपाल बहादुर बम

बैठकमा बोल्दै सत्तरुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका सांसद गोपाल बहादुर बमले छाउगोठ भत्काइएका कर्णाली र सुदूरपश्चिम प्रदेशका महिलाको अवस्थाका विषयमा बुझ्न आग्रह गरेका छन् ।

सरकारले सुरु गरेको छाउगोठ भत्काउने अभियानमा आफ्नो पूर्ण समर्थन रहेको बताउँदै बमले छाउगोठ भत्काएपछि ती क्षेत्रका महिलाको अवस्था कस्तो छ भन्ने विषयमा बुझ्न सरकारलाई आग्रह गरे ।
सरकार र अभियानकर्ताहरुले छलफल, सेमिनार गोष्टि गरेपनि त्यहाँको वास्तविक समस्याको विषयमा छलफल नभएको बताउँदै उनले कर्णालीका महिलाले भोगेका पीडा, छाउगोड बन्नुका बाध्यता के हुन् ? किन त्यो बाध्यताले छाउगोठ बने ? भन्ने कुराको अध्ययन गर्न पनि उहाँले आग्रह गरे ।

कर्णालीमा बन्ने घरहरुको अवस्थाका कारणले पनि छाउगोठ छुट्टै बन्ने गरेको उहाँले बताउनुभो । २ तले घरमा एक तलामा गाईगोरु र अर्को एक तलामा भान्सा, पुजाकोठा, सासु ससुरा र छोरा बुहारी बस्नुपर्ने बाध्यता रहेको बताए ।

उनले अभियानकर्ताहरुलाई ठूला होटलमा कार्यक्रम गरेर मात्रै नहुने भएकाले त्यहाँको वास्तविकता बुझ्न पनि आग्रह गरे ।

प्रतिनिधिसभा विशेष समय

बैठकमा बोल्दै राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका सांसद लक्ष्मणलाल कर्णले सीमा क्षेत्रका व्यपारीहरुलाई प्रहरीले दुःख दिने गरेको बताएका छन् । सांसद कर्णले कर तिरेर सदरमुकामबाट सामान लिएर जाने गरेको भएपनि प्रहरीले २५ किलोमिटर भित्रबाटै समातेर सीमाबाट बरामद गरेको भन्दै मुचुल्का बनाउने गरेको बताए ।

कानूनी शासनको कुराहरु जति गरेपनि देशमा त्यो भेटाउन निकै गाह्रो भएको उनको भनाइ छ । बाराको जितपुरमा बोर्डरबाट भैसी आउने गरको भएपनि त्यहाँ क्वारेन्टाइन नहुँदा स्थानीय पशु चिकित्सालयले लेखेको भरमा देशभरी भैंसी जानेको गरेको उनले बतए ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सांसद झपड बहादुर रावलले छुवाछुत उन्मुलन गर्न दलित समूदायका लागि विशेष कार्यक्रम सञ्चालन गर्नसरकारसँग आग्रह गरे । आज जन्मेका बालबालिकाहरुले जातिय उत्पिडन र छुवाछुत भोग्नुपर्ने अवस्था आउन नदिन भेदभावका विरुद्ध राष्ट्रिय जागरण अभियान सुरु गर्नुपर्ने उनको भनाइ छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद मिन बहादुर विश्वकर्माले सरकारले समृद्ध नेपाल सुखी नेपालीको लोकप्रिय नारा अघि सारेको भएपनि जनताले समृद्ध नेता, दुःखी नेपाली को महसुस गरिरहेको बताए ।

शिक्षा समिति

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापनाका लागि विकास गरिएको सोच अनुसारको विधेयक आउन नसकेको सांसदहरुले बताएका छन् ।  

शिक्षा समितिको बुधबारको बैठकमा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक माथि भएको सैद्धान्तिक छलफलका क्रममा संसदहरुले विश्वविद्यालयको सोच र विधेयकमा फरक परेको बताएका हुन् ।

सांसद गगनकुमार थापाले विज्ञान तथा प्रविधि सम्बन्धी विश्वविद्यालयमा सबै विषयको अध्ययन हुन सक्ने भएपनि विधेयक अनुसार अहिले रहेका विश्वविद्यालय र यो विश्वविद्यालयमा कुनै फरक नभएको बताए ।


सांसद मानबहादुर विश्वकर्माले विज्ञान र प्रविधि विश्वविद्यालय भित्र मानविकी तथा समाजशास्त्र, व्यवस्थापन, कानून र न्याय पढाई हुने व्यवस्था गरिएको भन्दै त्यसलाई हटाउनुपर्ने बताए ।

उनले अहिलेको समय स्पेसेलाइजेसनको समय भएकाले विज्ञान र प्रविधिको विषयमा मात्र केन्द्रीत भएर विधेयक ल्याउनुपर्ने बताए ।

सांसद खगराज अधिकारीले फेरीपनि मानविकी, कानून, व्यवस्थापन लगायतका विषय हुने तर कृषि तथा प्रविधिको कुरा नआउने देखिएको भन्दै विधेयकमाथी गहन छलफल गर्नुपर्ने आवश्यकता रहेको बताए ।

सांसद विद्या भट्टराईले अहिलेपनि नेपालमा प्रकृतिक विज्ञानलाई मात्र विज्ञान बुझ्ने सामाजिक र सांस्कृतिक विज्ञानलाई विज्ञान नमान्ने प्रवृति रहेको भन्दै विज्ञानभित्र सबै विषयको अध्ययन हुनुपर्ने बताइन् ।

सांसदहरुको प्रश्नको जवाफ दिदै शिक्षामन्त्री गिरिराजमणि पोखरेलले विश्वविद्यालयको मूल फोकस साइन्स र टेक्नोलोजिमा नै भएको तर अन्य विषयहरुमाथिको अनुसन्धानलाई पनि समावेस गरेर जानसक्ने किसिको परिकल्पना गरिएको बताए ।

उनले यो विषयमा छलफल गरेर अगाडि बढ्न सकिने समेत बताए । उन ले देशको समृद्धिको लागि जनशक्ति तयार गर्न र प्रविधिको विकास गर्न यो विश्वविद्यालयको आवश्यकता रहेको बताए ।

२ वर्ष भित्रमा पठनपाठन सुरु गर्ने उद्देश्यले विधेयक निर्माणको प्रकृयामा हुँदै गर्दापनि गठन आदेशबाट कार्यान्वयनलाई अगाडि बढाईसकेको बताए । उनले यो विश्वविद्यालय आर्थिक रुपमा पनि आफैमा निर्भर रहने गरी लगानी र उत्पादनलाई जोडिएको बताए । 

सिन्धुपाल्चोक 

सिन्धुपाल्चोकको जुगल गाउँपालिका गुम्बागाउँमा भाइरल सङ्क्रमण भए पनि कोरोना भाइरसको सङ्क्रमणको सम्भावना नरहेको पाइएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुर्गादत्त चापागाईले आफू मंगलबारबाट अध्ययनमा लागेको र त्यहाँ चीनबाट कसैको पनि आवतजावत नभएकाले कोरोना नभएको बताए । उनका अनुसार आफूहरुले सो गाउँको यात्रा विवरणबारे बुझ्न लगाएको र निरन्तर अध्ययनमा नै रहेको छ ।

सो क्षेत्रमा हाल देखा परेको भाइरल सङ्क्रमणको उपचारमा गाउँपालिकाका स्वास्थ्य केन्द्रमा कार्यरत हेल्थ असिस्टेन्ट परिचालन गरी उपचार भइरहेको छ । बिरामीमध्ये केहीलाई निकोसमेत भएको प्रमुख चापागाईले बताए ।

गाउँमा १५० मा रुघाखोकी र ज्वरो देखिएको तथा १० को उपचार भएको छ भने एकको अवस्था गम्भीर रहेको गाउपालिका अध्यक्ष होमनारायण श्रेष्ठले जनाकारी दिए ।

गाउँमा भाइरल सङ्क्रमण भएपछि कोरोना भाइरसको लक्ष्यणसँग मिल्दोजुल्दो भएको भन्दै गाउँपालिकाले सहयोगका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई पत्राचारसमेत गरेको छ । सो स्थानमा विगत तीन दिनदेखि बिरामीको सङ्ख्या बढेको हो ।

दुईजना स्वास्थ्यकर्मीसहित आवश्यक औषधि, मास्क र पञ्जा लिएर गुम्बा पुगिएको उपाध्यक्ष सिर्जना तामाङले जानकारी दिनुभयो । आज बिहानसम्म २०१ ले बिरामी परेको भन्दै नाम दर्ता गराएका छन् । उनीहरुमध्ये १५० मा रुघाखोकी र अत्यधिक ज्वरो देखिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो । 

कोरोना 

कोरोना भाइरसको कारण अहिलेसम्म चीनमा हजार भन्दा धेरैको ज्यान गइसकेको छ भने ४२ हजार भन्दा धेरै संक्रमित रहेका छन् । यो भाइरस लागेको ९ दिनसम्म जीवत रहने पनि बताइएको छ ।
आम फ्लु भन्दा कोरोना ४ गुणा धेरै समयसम्म कुनै पनि सतहमा जिउँदो रहन सक्छ । त्यसैले सार्वजनिक स्थानमा जाँदा आफ्नो हात धुनु पर्ने अध्ययनको ठहर छ । साथै सार्वजनिक ठाउँमा जाँदा मास्क लगाएर हिँड्न पनि अध्ययन कर्ताले बताएका छन् ।

आइजीपी ज्ञवाली

नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले दज्र्यानी चिन्ह ग्रहण गरेका छन् । । 
बुधबार गृहमन्त्रालयमा आयोजित एक कार्यक्रममा प्रहरी महानिरीक्षक (आइजीपी) ज्ञवालीलाई गृहसचिव महेश्वर न्यौपानेले आईजीपीको दज्र्यानी चिन्ह लगाई दिएका हुन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ज्ञवालीलाई नेपाल प्रहरीको २७ औं महानिरीक्षकमा बढुवा गरेको थियो । 

आईजीपी सर्वेन्द्र खनालले मंगलबारबाट ३० वर्षे सेवा अवधिका कारण अवकाश पाएपछि सरकारले ज्ञवालीलाई आइजीपीमा बढुवा गरेको हो । 

यसअघि नायव महानिरीक्षक (डीआईजी) रहेका ज्ञवाली प्रदेश १ प्रहरी प्रमुखको रुपमा कार्यरत थिए । दज्र्यानी चिन्ह ग्रहण पछि आईजीपी ज्ञवालीले नेपाल प्रहरीले सम्पादन गर्ने हरेक जिम्मेवारी पारदर्शि तवरबाट सम्पादन गर्ने बतए ।


उनले जस्तोसुकै चुनौतिमा पनि उच्च व्यवसायीक धर्म र उच्च मनोबलका साथ कर्तव्यपथमा समर्पित रहन प्रहरी महानिरीक्षकदेखि प्रहरी जवानसम्मका सम्पूर्ण सदस्यहरु प्रतिवद्ध रहेको समेत बताए । यससँगै प्रहरी महानिरीक्षक ज्ञवालीले बुधबार नै प्रहरी प्रधान कार्यालय, नक्साल पुगेर पदभार ग्रहण गरे ।

निर्वाचन आयोग

निर्वाचन आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष २०७५र०७६ को वार्षिक प्रतिवेदन पेश गरेको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बुधबार राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन पेश गरेका हुन् । 

प्रतिवेदनमा निर्वाचन आयोगको संक्षिप्त परिचय, संगठन संरचना एवम् प्रशासकीय कार्य व्यवस्थापन, योजना, अनुगमन, समावेशीकरण तथा वैदेशिक सम्बन्ध, मतदाता नामावली तथा निर्वाचन सञ्चालन, निर्वाचन शिक्षा तथा तालिम, सूचना प्रविधि तथा प्रणाली व्यवस्थापन, कानून तथा राजनीतिक दल व्यवस्थापन र वित्तीय स्रोत परिचालन लगायतका विविध विषयहरू समेटिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

 आयोगको वार्षिक प्रतिवेदन ग्रहण गर्दै राष्ट्रपति भण्डारीले संवैधानिक व्यवस्था बमोजिम आयोगले आफ्नो वार्षिक प्रतिवेदन पेश गरेकोमा प्रमुख निर्वाचन आयुक्त, आयुक्त, सचिव लगायतका सम्पूर्ण कर्मचारीलाई धन्यवाद व्यक्त गरे ।

प्रतिवेदन पेश गर्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले आयोगले प्रतिवेदन वर्षमा सम्पादन गरेका कार्यहरूको संक्षिप्त विवरण राष्ट्रपतिसमक्ष प्रस्तुत गरे ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप