आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

टेकु अस्पताल पुगेका कोरोनाको शंकास्पद बिरामी ‘फलोअप’मा नगएपछि...

बुधबार, २९ माघ २०७६, १९ : ३१
बुधबार, २९ माघ २०७६

काठमाडौँ । कोरोना भाइरसको आशंकामा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पुगेका एक विदेशी नागरिक पुनः फलोअपमा नगएको विषयले हंगामा भएको छ । चार दिनअघि एक विदेशी नागरिकलाई उनका साथीले कोरोना भाइरसको आशंका गर्दै टेकु अस्पताल लगेका थिए । 

अस्पतालको ओपीडीमा ती विदेशी काउन्सिलिङका लागि पुगेको र आफूले नै उनलाई  काउन्सिलिङ गरेको क्लिनिकल रिसर्च युनिटका संयोजक शेरबहादुर पुनले रातोपाटीलाई जानकारी दिए । 

‘करिब ४ दिनअघि जस्तो लाग्छ एक जना विदेशी नागरिकलाई उहाँका साथीले कोरोनाको आशंकामा अस्पताल ल्याउनु भएको थियो । मैले नै उहाँलाई काउन्सिलिङ गरेको थिएँ’ पुनले भने, ‘रुघाखोकी लागेका उनमा कोरोनाको जस्तो लक्षण थिएन । तैपनि मैले कुनै थप समस्या देखिए जुनसुकै बेला अस्पतालमा आउन सक्नुहुन्छ भनेको थिएँ । उहाँहरु जानु भएछ, पछि सम्पर्कमा आउनु भएन, भएको यही हो ।’

चीन हुँदै नेपाल आएका उनीहरु खाडी मूलुकका नागरिक भएको पुनले बताए । 

यस्तै ती विदेशी नागरिकमा कोरोना भाइरस लागेको नलागेकोबारे कुनै परीक्षण नभएको पुनले बताए । ‘ओपीडीमा देखाउनु भएपछि भर्नाको कुरा पनि भएको हो तर उहाँहरुले सोही दिन स्वदेश फर्किने कुरा पनि गर्नुभएको थियो’, उनले भने, ‘भीडभाड भएकाले अरु बिरामी पनि जाँचन थाल्दा उहाँहरु हिँडिसक्नु भएछ ।’ यही विषय स्वास्थ्य मन्त्रालय स्रोत हुँदै बाहिरिएपछि हंगामा भएको हो । ती विदेशी नागरिक स्वदेश फर्के-नफर्केकाे भने खुल्न सकेकाे छैन । 

नेपालमा कोरोनाभाइरसको संक्रमण हालसम्म एक जनामा मात्रै पुष्टि भएको छ । उनीपनि अहिले स्वस्थ भइसकेका छन् । तर कोरोनाकाे आशंकामा दिनहुँ सामान्य रुघाखोकी लागेकाहरु समेत टेकु अस्पताल पुग्ने गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप