शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कोरोना क्वारेन्टाइन खरिपाटी र नगरकोट : घर छोडेर अन्यत्र जाने स्थानीयको चेतावनी

सरकारको निर्णयको विरोध गर्दै जनप्रतिनिधिले बैठक पुस्तिकामा हस्ताक्षर गर्न मानेनन्
बुधबार, २९ माघ २०७६, १८ : ४२
बुधबार, २९ माघ २०७६

भक्तपुर । चीनबाट ल्याइने नेपालीलाई १४ दिन राख्न बनाइएको खरिपाटी र पिपलबोट (नगरकोट) क्वारेन्टाइनको बारेमा केन्द्र सरकार र स्थानीय सरकारबीच समन्वयको अभाव देखिएको छ । 

बुधबार चाँगुनारायण नगरपालिकाको सभाकक्षमा भएको अन्तरक्रियाका क्रममा स्थानीय जनप्रतिनिधिहरुले सरकारको निर्णयको विरोध गर्दै बैठक पुस्तिकामा हस्ताक्षर समेत गरेनन् । 

प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय र स्वास्थ्य मन्त्रालयले स्थानीय सरकारसंग समन्वय नगर्दा आक्रोश र विरोध जारी छ । 

चाँगुनारायण नगरपालिका वडा नम्बर ७, खरीपाटीमा रहेको विद्युत् प्राधिकरणको तालिम केन्द्रमा चीनबाट ल्याइने नेपालीलाई क्वारेन्टाइनको व्यवस्था गरेपछि स्थानीय बासिन्दामा त्रास फैलिएको छ । 

नगरप्रमुख सोमप्रसाद मिश्रले आफूलाई दैनिकजसो स्थानीय बासिन्दाले ज्ञापनपत्र बुझाउँदै चीनबाट फर्किएका नेपाली खरिपाटीमा राखे सो अवधिभर घर छोडेर अन्यत्र जान्छौं भन्दै विरोध गर्ने गरेको बताए । 
उनले ‘सरकारले हाम्रो नगरपालिकालाई डम्पिङ साइट मात्र बनाउने खोजेको जस्तो देखियो, हाम्रो सहमति किन खोजिएन ?’ भन्दै प्रश्न गरे । 

नगरप्रमुख मिश्र जस्तै वडा नम्बर १ का वडाध्यक्ष राजेश खड्का, ६ का सन्ते वाइवा, ७ का ज्ञानबहादुर केसीले पनि स्थानीय सरकारलाई वेवस्था गर्दै केन्द्र सरकारले एकलौटी निर्णय गरेको तर जनतालाई जवाफ आफूहरुले दिन परिरहेको गुनासो गरे । 

यता स्थानीय बासिन्दा प्रकाश लामिछानेले भने सरकारले कोरोना रोग लागेका बिरामी नभएर प्रभावित क्षेत्रका स्वस्थ्य नेपाली ल्याएर राख्ने भनेर चेतना यस क्षेत्र वरपर फैलाउन नसकेको बताए । 

कसरी ल्याइन्छ, कसरी राखिन्छ ? 


चीनको वुहान शहरमा रहेका१ सय ८० जना नेपाली स्वदेश आउनका लागि सरकारको पर्खाइमा छन् ।  उनीहरुलाई फागुन ३ गते विशेष विमानमार्फत नेपाल फर्काइने छ । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएपछि उनीहरुलाई ५ वटा बसमा राखेर भक्तपुरको खरिपाटी क्वारेन्टाइनमा लगिने स्वास्थ्य सेवा विभाग, इपिडेमियोलोजी तथा महामारी व्यवस्थापन विभागका डाक्टर फडिन्द्र प्रसाद बरालले जानकारी दिए । 

खरिपाटीमा सर्वसाधरणलाई राखिने र चाँगुनारायण नगरपालिका वडा नम्बर ६, पिपलबोटमा रहेको खानेपानीको तालिम केन्द्रमा उनीहरुलाई लिन जाने विमान चालक दलका सदस्य, कर्मचारीहरुलाई राखिने डाक्टर बरालले जानकारी दिए । 

 ४ वटा भवनमा प्रत्येक कोठामा ३ जनालाई राखिने गरी व्यवस्थानपन गरिएको छ । उक्त क्वारेन्टाइनमा डाक्टर, नर्स, औषधीकर्मी र चालक १/१ जना २४ घण्टा तैनाथ हुनेछन् । सुरक्षाका लागि भवनभन्दा बाहिर गेटमा नेपाली सेना, शस्शत्र प्रहरी र नेपाल प्रहरी रहने छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

हेमराज ढकाल
हेमराज ढकाल

हेमराज ढकाल रातोपाटीका भक्तपुर संवाददाता हुन् ।

लेखकबाट थप