शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनाभाइरसको साइड इफेक्ट : कामदार नफर्किंदा आयोजनाहरू प्रभावित

बुधबार, २९ माघ २०७६, १५ : ४०
बुधबार, २९ माघ २०७६

काठमाडौँ । चीनमा महामारीका रूपमा फैलिएको कोरोनाभाइरसको प्रकोपले ४५ दिन पूरा गरिसकेको छ । सो अवधिमा कोरोनाकै कारण एक हजारभन्दा बढी चिनियाँहरुको मृत्यु भइसकेको छ भने करिब ३० हजार चिनियाँ नागरिक उक्त रोगबाट प्रभावित छन् । यसले सिङ्गो चीन आक्रान्त छ । 

यो समयमा कोरोनाकै कारण चीनको आर्थिक सामाजिक तथा अन्तर्राष्ट्रिय सम्बन्धसमेत नराम्रोसँग बिग्रिन पुगको छ । देशको उत्पादन तथा आयात निर्यात ठप्प जस्तै छ । चीनको उत्पादन अन्तर्राष्ट्रिय बजारमा जान सकेको छैन भने यसको नतिजा दोस्रो र तेस्रो मुलुकहरु समेत पार्न थालिसकेको छ ।

विश्वकै दोस्रो ठूलो अर्थतन्त्र बोकेको मुलुकको अर्थतन्त्रमा आयको विचलनले विश्व अर्थतन्त्रमा नै दरार ल्याउने सङ्केत देखापर्न थालेका छन् । पछिल्लो समय चीनको कारोनाको प्रभाव नेपाली विकास निर्माण तथा ठूला आयोजनाहरुमा समेत प्रत्यक्ष रूपमा पर्न थालेको छ । 

कोरोनाका कारण नेपालको पर्यटन तथा आयात निर्यातको क्षेत्र प्रभावित भएको छ । अर्कोतर्फ नेपालको विकास निर्माण तथा ठूला आयोजनाहरु समेत प्रत्यक्ष प्रभाव पर्न थालेको छ । चिनियाँ ठेकेदार तथा कामदारहरु रहेका नेपाली प्रोजेक्टमा यस्तो समस्या देखिन थालेको हो । प्रोजेक्टका लागि आवश्यक मालसामान तथा मेसिनेरी उपकरण चीनबाट नेपाल आउन सकेका छैनन् भने कामदारहरू उतै रोकिएका छन् । 

नयाँ वर्ष मनाउन चीन गएका नेपाली प्रोजेक्टका चिनियाँ कामदार कोरोनाका कारण उतै रोकिएका छन् । त्यसको प्रत्यक्ष असर आयोजनामा पर्न गएको छ । ती आयोजनामध्ये सबैभन्दा बढी जलविद्युत क्षेत्र प्रभावित भएको छ ।  

प्रभावित सानादेखि ठूला आयोजना
नेपाली विकास, निर्माण तथा राष्ट्रिय गौरवका आयोजनाहरुमा धेरैजसो चिनियाँ कामदर रहेका छन् । नयाँ वर्ष मनाउन चीन गएका कामदार उतै रोकिएपछि आयोजनाहरु प्रभावित बनेका छन् । सामान्य, साना तथा मझौला खालका आयोजनादेखि ठूला राष्ट्रिय गौरवका आयोजना समेत परेका छन् । यस्तो समस्यामा अपर तामाकोसीदेखि मेलम्ची खानेपानी आयोजनामा पनि परेको राष्ट्रिय योजना आयोगको भनाइ छ । 

अहिले कोरोनाका कारण नेपाली आयोजनाहरुको काममा ८ देखि १० प्रतिशतसम्म प्रभावित भएको हुनसक्ने राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्प कँडेल बताउँछन् । ‘कोरोनाका कारण चिनियाँ कामदारहरु

नहुँदा अपर तामाकोसी जलविद्युत् आयोजनादेखि मेलम्ची खानेपानी आयोजनासम्म प्रभावित भएको सूचना आएको छ । यी राष्ट्रिय गौरवका आयोजनासहित अन्य विकास, निर्माणका आयोजना समेत प्रभावित भएको सुनिएको छ ।’ उपाध्यक्ष कँडेलले भने, ‘अन्य कारणबाहेक चिनियाँ कामदारका कारण समस्यामा पर्ने यस्ता  प्रोजेक्टहरु करिब ८ देखि १० प्रतिशत हुनुपर्छ ।’

तर अहिलेसम्म कहाँ कति यस्ता आयोजनाहरुमा समस्या आएका छन् सोको तथ्याङ्क आइसकेको छैन । अहिले ती प्रभावित आयोजनाहरुको तथ्याङ्क सङ्कलन गर्ने कार्य भइरहेको राष्ट्रिय योजना आयोगको भनाइ छ । 

राष्ट्रिय गौरवका आयोजनाहरु
त्रिशूली थ्री बी


प्रभावित आयोजनामध्ये सबैभन्दा बढी प्रभावित आयोजना, राष्ट्रिय गौरवका आयोजनामा रहेको माथिल्लो त्रिशूली थ्रीबी मानिएको छ । जुन प्रोजेक्ट चिनियाँका कारण ७०–८० प्रतिशतसम्म प्रभावित भएको समाचार आएको छ । नुवाकोट–रसुवा सिमानामा बन्दैगरेको ३७ मेगावाट क्षमताको माथिल्लो त्रिशूली थ्री बी आयोजनामा चिनियाँ कामदार नफर्किंदा काममा बाधा पुगेको आयोजना प्रमुख मोहन गौतमले जानकारी दिएका छन् ।
गौतमका अनुसार आयोजनाका ५० जना चिनियाँ कामदार नयाँ वर्ष मनाउन चीन गएकोमा अहिले सम्म ५ जना मात्र फर्किएका र बाँकी उतै रोकिएकाले समस्या आएको हो । अहिले आयोजनाको काम ठप्प जस्तै छ ।

माथिल्लो तामाकोसी जलविद्युत् आयोजना


राष्ट्रिय गौरवका आयोजनाअन्तर्गत काम भइरहेको माथिल्लो तामाकोसी जलविद्युत आयोजना समेत कोरोनाका कारण प्रभावित भएको छ । ४ सय ५० मेगावाट क्षमताको माथिल्लो तामाकोसीमा चिनियाँ कामदार नफर्किंदा समस्यामा परेको हो । नयाँ वर्ष मनाउन गएका ७–८ जना चिनियाँ कामदार अहिलेसम्म काममा फर्किएका छैनन् । यसले ठूलो अन्तर नपारे पनि आयोजनाको गतिमा प्रभावित बनेको आयोजनाको भनाइ छ । हाल यो आयोजनामा चिनियाँ कम्पनी टेक्सम्याको रेल्वे इन्जिनियरिङले काम गरिरहेको छ । 

पाँच वर्षमा सम्पन्न गर्नेगरी २०६७ सालमा सुरु भएको यो अयोजना २०७२ सालको भूकम्पले प्रभावित भएको थियो । 

मेलम्ची खानेपानी आयोजना


कारोनाले प्रभावित हुने राष्ट्रिय गौरवको आयोजनामा मेलम्ची खानेपानी आयोजना पनि रहेको समाचार आएको छ । यस आयोजनामा काम गर्ने ५, ७ जना चिनियाँ कामदार काममा नफर्किंदा आयोजनामा समस्या परेको बुझिएको छ । तर यसले आयोजनालाई खासै फरक नपारेको खानेपानी मन्त्रालयका प्रवक्तासमेत रहेका सहसचिव रितेशकुमार शाक्य बताउँछन् । 

चिनियाँ कामदारका कारण अहिलेसम्म आयोजनामा त्यस्तो समस्या आएको सुनिएको छैन । केही चिनियाँ काममा नफर्किएको हुन सक्छन् । तर यसबाट आयोजना प्रभावित भएको छैन ।’ प्रवक्ता शाक्यले भने, ‘बरु मेलम्चीको सुरुङ तथा पाइपलाइन वितरणको क्षेत्रमा यस्तो समस्या आएको हुन सक्छ । यसमा यकिन तथ्याङ्क आएको छैन ।’ 
हाल मेलम्ची खानेपानी आयोजनामा चिनियाँ कम्पनी सिन्ह्वा हाइड्रोले काम गरिरहेको छ ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल
भैरहवामा निर्माणधीन नेपालको अर्को आयोजना गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल कारोनाबाट प्रभावित भएको छ । चीनबाट आयत गर्नुपर्ने उपकरण र चिनियाँ प्राविधिकहरुका कारण यो आयोजना प्रभावित हुन पुगेको छ । 


विमानस्थल निर्माणका लागि आवश्यक प्राविधिक जनशक्ति र उपकरणहरु चीनबाट आउन नसक्दा विमानस्थलको काम प्रभावित हुन पुगेको  आयोजना एकाइ प्रमुख प्रवेश अधिकारीले रातोपाटीलाई बताए । 

विमानस्थललाई आवश्यक केही उपकरण चीनबाट ल्याउन अप्ठ्यारो भएको र यहाँ काम गरिरहेका चिनियाँ प्राविधिकहरु पनि नयाँ वर्ष मनाउन चीन गएपछि नफर्किएकाले समस्या आएको अधिकारीको भनाइ छ । अहिले कोरोनाकै कारण भैरहवामा निर्माणाधीन गौतमवुद्ध विमानस्थल प्रत्यक्ष प्रभावित छ । 

भोटेकोसी जलविद्युत् आयोजना


१ सय २ मेगावाट क्षमताको मध्य भोटेकोसी आयोजना समेत चिनियाँ कामदारका कारण समस्यामा परेको छ । नयाँ वर्ष मनाउन गएका चिनियाँ कामदारहरु काममा नफर्कंदा यस्तो समस्या आएको हो । 

रसुवागढी जलविद्युत् अयोजना


चिनियाँ कामदारकै कारण १ सय ११ मेगावाटको रसुवागढी जलविद्युत आयोजनामा पनि कामदारको समस्या आएको छ । अन्तिम चरणमा रहेको आयोजना कामदारकै कारण प्रभावित भएको समाचार आएको छ ।

नयाँ वर्ष मनाउन गएका आयोजनाका चिनियाँ कामदार काममा फर्किएका छैनन् । यो आयोजना चिनियाँ ठेकेदार कम्पनी सीडब्ल्यू चाइनाले ह्यान्डेलिङ गरिरहेको छ । 

सान्जेन जलविद्युत् आयोजना
रसुवामा निर्माणाधीन माथिल्लो सान्जेन जलविद्युत अयोजनामा पनि चिनियाँकै कारण समस्या आएको छ । १४.८ मेगावाटको सो आयोजना कामदारको अभावमा काम रोकिने अवस्था आएको हो ।

तनहुँ जलविद्युत् आयोजना 
तनहुँको १ सय ४० मेगावाटको तनहुँ जलविद्युत आयोजना पनि कोरोनाका कारण प्रभावित भएको छ । चिनियाँ सिनो हाइड्रोले काम गरेको यो आयोजनामा साइट व्यवस्थापक चीनबाट नफर्किंदा समस्या आएको हो । 
यी लगायत दोर्दी कोरिडोरका ४ परियोजनासहित न्यादी जलविद्युत आयोजना, दोलखा, रामेछाप, कास्की लगायत विभिन्न जिल्लाहरुमा सञ्चालित ४० वटा जलविद्युत आयोजना प्रभावित भएका छन् । 
यसले लगानीकर्ता, विकासकर्ता, कामदार र उपकरण सप्लायर्स, उपकरण जडान लगायतका सबै कुरा प्रभावित भएको सरोकारवालहरुको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

प्रयास श्रेष्ठले आर्थिक क्षेत्रमा कलम चलाउँछन् ।

लेखकबाट थप