बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

चीनबाट ल्याइने नेपालीलाई खरिपाटीमा राख्ने भएपछि स्थानीयवासी त्रासमा

सोमबार, २७ माघ २०७६, १८ : ४०
सोमबार, २७ माघ २०७६

भक्तपुर । चीनको वुहान शहरमा रहेका करिब १ सय ८० जना नेपाली स्वदेश आउनका लागि सरकारको निर्णय कुरेर बसिरहेका छन् । सरकारले फागुण ३ गते वुहानमा रहेका नेपालीलाई ल्याउने तयारी गरिरहेको बुझिएको छ । 

नेपाल ल्याउने विद्यार्थीको लागि ६० जना स्वास्थ्यकर्मी परिचालन हुनेछन् । क्वारेन्टाइनमा राखिने नेपालीको स्वास्थ्य निगरानीमा खटिने ६० जना चिकित्सकलाई स्वास्थ्य मन्त्रालयले सोमबार अभिमुखीकरण तालिम दिएको छ । 

उचित पूर्वाधारको अभाव चीनबाट ल्याईएका विद्यार्थी कहाँ राख्ने भन्नेमा सुरुमा अन्यौल देखिएको थियो । तर, पछि सरकारले शिवपुरीस्थित नेपाली सेनाको तालिम केन्द्र, इचंगुनारायणस्थित सुकुम्बासीका लागि बनाइएको अपार्टमेन्ट, कृषि तालिम केन्द्र  र भक्तपुरस्थित खरीपाटीमा रहेको विद्युत् प्राधिकरणको तालिम केन्द्रसहित चार स्थानमा क्वारन्टीनस्थल व्यवस्थित गर्न प्रधानमन्त्रीले केपि ओलीले निर्देशन दिएका हुन् । 

खरिपाटीमा क्वारेन्टाइनः  स्थानीयमा त्रास 

सरकारले चाँगुनारायण नगरपालिका वडा नम्बर ७, खरीपाटीमा रहेको विद्युत् प्राधिकरणको तालिम केन्द्रमा चीनबाट ल्याइने नेपालीलाई क्वारेन्टाइनको व्यवस्था गरेपछि स्थानीय बासिन्दामा त्रास फैलिएको छ ।  सरकारी संन्यत्रले स्थानीयस्तरमा उचित जनचेतना फैलाउन नसक्दा स्थानीयमा त्रास फैलिएको हो । तालिम केन्द्रको मुख्य प्रवेशद्धारमा नेपाल प्रहरीको सुरक्षा सहित दक्षिणतर्फ रहेको दुई भवनमा चीनबाट ल्याएका नेपाली राख्ने तयारी छ । स्थानीयको विरोध गरिरहेको अवस्थामा उचित सचेतना फैलाउन नसक्नु जिल्लास्थित सरकारी निकायको कमजोरी देखिन्छ । 

त्यसबारेमा भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेलाई प्रश्न गर्दा उनले स्थानीयको विरोध गर्न पाउने अधिकारी भएको र अन्य कुरा स्वास्थ्य मन्त्रालयका प्रवक्तासँग बुझन् आग्रह गरिन् ।  मुख्य ढोकामा नै कालो व्यानर टाँगेर स्थानीय बासिन्दाले विरोध गरेका छन् । क्वारेन्टाइनका लागि खरिपाटीस्थित विद्युत् प्राधिकरणको तालिम केन्द्रको दक्षिण तर्फ रहेका वातावरण तथा सामाजिक अध्ययन विभाग र होस्टेलको भवनका ५० कोठा खाली गरिएको स्रोतले रातोपाटीलाई जानकारी दिएको छ । उक्त स्थानमा सुरक्षाकर्मी, कामदार र कर्मचारी बाहेक अरुलाई प्रवेश गर्न दिएको छैन् । 

चाँगुनारायण नगरपालिका नगरप्रमुख सोमप्रसाद मिश्रले भने, ‘हामीले सरकारलाई अन्यात्र विकल्प खोज्न आग्रह गरेका छौं ।’ स्थानीय बासिन्दा त्रसित भएकाले अन्य स्थान छनोट हुनुपर्ने मिश्रको भनाई छ ।  चीनबाट स्वदेश फर्काएपछि नेपालीलाई १४ दिन क्वारेन्टाइनमा राख्न छुट्टै ठाउँ आवश्यकता पर्दछ । रोगको संक्रमण भएको देखिएमा अस्पतालमा छुट्टै राखेर उपचार गर्नुपर्ने र नभएपनि १४ दिन क्वारेन्टाइनमा राख्नुपर्ने चिकित्सकहरुको भनाई छ । 

राजनीतिक दलको विरोध जुलुस 

नेपाली काँग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर १ भक्तपुरले मंगलबारै चीनबाट फर्किएका नेपालीलाई खरिपाटी केन्द्रमा नराख्न सरकारसँग आग्रह गर्दै विज्ञप्ति जारी गरेको थियो । क्षेत्रीय सभापति जीवन खत्रीले सरकारले तयारीबिना बस्तीको बीचमा कोरोना प्रभावित क्षेत्रबाट ल्याउने नेपालीलाई खरिपाटीमा राख्न नहुने भन्दै कांग्रेसले विरोध जुलुस समेत निकालेको थियो ।

 

खरिपाटीको भौगोलिक अवस्था यस्तो छ
क्वारेन्टाइनका लागि खरिपाटीस्थित विद्युत् प्राधिकरणको तालिम केन्द्रको दक्षिण तर्फ रहेका वातावरण तथा सामाजिक अध्ययन विभाग र होस्टेलको भवनलाई छानिएको छ ।  चारैतर्फ बार लगाएर घेरिएको उक्त तालिम केन्द्रको वरिपरि बाक्लो बस्ती छ । केन्द्रको पूर्व तर्फको पर्खालभन्दा ३०/४० खानेपानीको प्रशोधन केन्द्र छ ।  पर्खालसँगै जोडिएर सार्वजनिक धारो छ । 

जहाँ हिउँदमा खानेपानीको अभाव हुदाँ भक्तपुर नगरपालिकादेखिका मानिसहरु पानी लिन जान्छन् । ५ सय मिटर दूरीमा चाँगुनारायण नगरपालीकाको कार्यालय छ । पूर्व र पश्चिम करिब १ किलोमिटरको दूरीमा नेपाली सेनाको ब्यारेक रहको छ ।  केन्द्रको मुख्य प्रवेशद्धार अगाडी नगरकोट जाने सडक रहेको छ । चाँगुनारायण नगरपालिकाको ५, ७ र ८ नम्बर वडा यस केन्द्रको आसपासमा पर्दछन् । 

सरकारले चेतना फैलाउन सकेन 

स्थानीयले बासिन्दालाई सरकारले कोरना रोग लागेका बिरामी नभएर प्रभावित क्षेत्रका स्वस्थ्य नेपाली ल्याएर राख्ने भनेर चेतना यस क्षेत्र वरिपरि फैलाउन सकेको छैन् । सुरक्षाकर्मीको बलमा केन्द्रभित्र कोठा खाली गर्ने काममात्र गरेको देखिन्छ । यस वरपरका स्थानीय बसिन्दाको स्वस्थ जिवन ग्यारेन्टी दिन नसक्नु सरोकारवालाको कमजोरी हो ।  त्यसैले अन्यत्र स्थानका स्थानीय बासिन्दालाई समेत सचेत बनाउँदैं चीनमा रहेका नेपालीलाई सुरक्षित तरिकाबाट १४ दिनको क्वारेन्टाइन राख्नु राज्यको दायित्व हो । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

हेमराज ढकाल
हेमराज ढकाल

हेमराज ढकाल रातोपाटीका भक्तपुर संवाददाता हुन् ।

लेखकबाट थप