शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका लागि ३५ करोड सङ्कलन

सोमबार, २७ माघ २०७६, १७ : ०६
सोमबार, २७ माघ २०७६

– नारायण अधिकारी

चितवन । यहाँ निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको सहयोगार्थ आयोजना गरिएको धनधान्याचल महोत्सवमा हालसम्म नगद र बोलकबोल गरी रु ३५ करोड बढी सङ्कलन भएको छ । महायज्ञ मूल आयोजक समितिका संयोजक प्रदेशसभा सदस्य विजय सुवेदीका अनुसार आज अन्तिम दिन थप रु २० करोड सङ्कलन हुने अपेक्षा गरिएको छ । यससँगै महायज्ञबाट रङ्गशालालाई रु ५५ करोड सङ्कलन हुने अपेक्षा गरिएको उनले जानकारी दिए ।

रङ्गशाला सहयोगार्थ भनिएपछि महायज्ञमा जिल्लाका घरघरबाट आर्थिक सङ्कलन गरी टोल, आमा समूह, सरकारी र गैरसरकारी कार्यालय, स्थानीय तह, सामूदायिक वन, सहकारी, क्लब, स्वास्थ्य संस्था, शिक्षण संस्थाले रकम सङ्कलन गरी महायज्ञमा बुझाएका छन् । 

मूल आयोजक समितिका महासचिव दिनेशकुमार चुकेका अनुसार हालसम्म सबैभन्दा बढी वाग्मती प्रदेश सरकारले रु १५ करोड उपलब्ध गराउने महायज्ञमा घोषणा गरेको छ । यसैगरी जिल्ला समन्वय समिति चितवनले रु दुई करोड २२ लाख घोषणा गरेको छ भने नवलपरासीको गैँडाकोट नगरपालिकाले रु एक करोड बराबर सहयोग गर्ने जनाएको छ । 

यसैगरी भरतपुर महानगरपालिकासहित जिल्लाका सबै स्थानीय तहले रकम घोषणा गरेका छन् । चुकेका अनुसार आज प्रदेश सरकार र भरतपुर महानगरपालिकाले रकम थप गरी घोषणा गर्ने कार्यक्रमा रहेको छ । 

निजी क्षेत्रबाट सबैभन्दा बढी गोल्डमाइण्ड विजनेश समूहका अध्यक्ष वामदेव गौलीले रु एक करोड १२ लाख बराबरको जग्गा दान गर्नुभएको छ । पोल्ट्री व्यवसायीहरुले रु एक करोड घोषणा गरेका छन् । उद्योग वाणिज्य सङ्घ चितवन, उद्योग सङ्घ चितवन, चेम्बर अफ कमर्स, उद्योग परिसङ्घलगायतका सङ्घसंस्थाले महायज्ञमा रकम सहयोग गरेका छन् । 

महायज्ञका वाचन दिनबन्धु पोखरेलले आफूले पारिश्रमिक नलिने घोषणा गर्दै स्वयम् सहयोगको घोषणा गरेका छन् । जसले अरूलाई पनि उत्साहित बनाएको छ । 

जिल्लाका उद्योगी, व्यवसायी, जनप्रतिनिधि, सांसद, प्रदेशसभा सदस्य, पूर्वसांसदहरुले सहयोग गरेको कोषाध्यक्ष शङ्कर कँडेलले बताए । उनले भने, ‘भरतपुर महानगरभित्रका धेरैले धेरथोर महायज्ञमार्फत रङ्गशालालाई सहयोग गरेका छन् ।’ जिल्लाका अन्य स्थानीय तहमा पनि गाउँगाउँबाट रकम सङ्कलन भएको उनले जानकारी दिए ।

नगदसँगै हालसम्म रु ४५ लाख ७९ हजार २०० बराबरको धानसमेत सङ्कलन भएको छ । सहकोषाध्यक्ष त्रिलोचन कँडेलले जिल्लामा यति धेरै उत्साहका साथ महायज्ञ भएको बताए ।

महायज्ञ स्थल नजिकै रङ्गशाला निर्माणको काम धमाधम भइरहेको छ । रङ्गशाला निर्माणमा पनि स्वयंसेवी रुपमा काम गर्नेहरु दिनहुँ आउने गरेका छन् । महानगर प्रमुख रेनु दाहालले चितवनवासीमात्रै नभएर  धेरैले रङ्गशालालाई अपनत्व ठानेकै कारण महायज्ञमार्फत सहयोग गर्न सकारात्मक भएर लागेको बताइन् । उनले रङ्गशाला निर्माण सम्पन्न भएपछि अन्तर्राष्ट्रियस्तरका खेल यहाँ हुने बताइन् ।

धुर्मुस सुन्तली फाउण्डेशनको अगुवाईमा रङ्गशाला निर्माण भइरहेको छ । रङ्गशाला निर्माण गर्न करिब रु दुई अर्ब ५० करोड खर्च हुने अनुमान छ । जनस्तरबाट निर्माण हुन लागेको देशकै यो पहिलो रङ्गशाला हो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप