बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

सीसीटीभीमा कामदारले नै पूर्वसचिव कार्कीकी श्रीमतीको हत्या गरेको भेटियो

सोमबार, २७ माघ २०७६, १६ : ०६
सोमबार, २७ माघ २०७६

काठमाडौँ । पूर्वसचिव अर्जुन कार्कीकी श्रीमती मुना कार्कीको उनकै घरमा कामदार रहेका विजय चौधरीले हत्या गरेको खुलेको प्रहरीले जनाएको छ । घरमा रहेको सीसीटीभीको भिडियो फुटेज अध्ययन गर्दा चौधरीले नै कार्कीमाथि साङ्घातिक आक्रमण गरी हत्या गरेको खुलासा भएको प्रहरीले जनाएको हो ।

प्रहरीका अनुसार सीसीटीभी फुटेजमा बिहान १० बजेर ८ मिनेटको समयमा चौधरी भान्सा कोठामा गएको र कार्की पछाडी फर्किएको बेला डोरीले घाँटीमा कसेर भुइँमा लडाएको देखिएको छ । भुइँमा लडेपछि कार्कीमाथि पिर्का प्रहार गर्नुका साथै कपालले समातेर भुइँमा बजारेको देखिएको प्रहरी स्रोतले रातोपाटीलाई जानकारी दिएको छ ।

मुना कार्की सानेपास्थित निवासमा सोमबार बिहान रगतले लतपतिएको अवस्थामा अचेत भेटिएकी थिइन् भने चौधरी पनि घरमै मृत फेला परेका थिए । 


दाङ घर भएका विजय चौधरीले कार्कीमाथि साङ्घातिक आक्रमण गरेपछि आत्महत्या गरेको हुनसक्ने प्रहरीको भनाइ छ । उनको शवमा कुनै चोटपटक छैन भने उनको शव फेला परेको स्थानमाथि डोरी पनि झुण्डिएको पाइएको छ ।

चौधरीले के कारणले कार्कीको हत्या गरे र किन आफै आत्महत्या गरे भन्ने चाहिँ अझै खुल्न सकेको छैन ।

पूर्वसचिव अर्जुन कार्की बिहान पूजा गर्न पशुपतिनाथ मन्दिर गएको बेला घरमा घटना भएको थियो । कार्कीका एक छोरा र दुई छोरी रहेका छन् । दुवै छोरी बाहिर रहेका छन् भने १२ वर्षका छोरा स्कूलमा अध्ययनरत छन् ।

घटनाको समय छोरा पनि स्कूल गएको र उनलाई पुर्याउन अर्की कामदार किशोरी पनि घरबाहिर रहेकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुजन पन्त
सुजन पन्त

पन्त सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप