शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पूर्व सचिव अर्जुन कार्की मन्दिर गएका बेला भयो श्रीमतीको हत्या

सोमबार, २७ माघ २०७६, १५ : २३
सोमबार, २७ माघ २०७६

काठमाडौँ । ललितपुर महानगरपालिका–२ सानेपामा पूर्वसचिव अर्जुन कार्कीको निवास छ । प्रहरी बिट सानेपाबाट करिब ५०० मिटरभित्र कार्कीको घर छ । जो कोहीले कार्कीको घर त्यति सजिलै पत्ता लगाउन सक्दैनन् ।

घरको चारैतिर पर्खालले घेरिएको छ । घरभित्र छिर्ने गेट नजिकै रहेको पोलमा दुईवटा सीसी क्यामेरा जडान गरिएको छ । त्यतिमात्र नभएर घरको सुरक्षाकै लागि कार्कीले एउटा कुकुरसमेत पालेका छन् ।

कार्कीको श्रीमती र एक छोरा सँगै बस्दै आएका थिए भने २ छोरी पढाईको सिलसिलामा विदेश छन् । कार्कीले दाङका २२ वर्षीय विजय चौधरीलाई ४ वर्षअघि घरमा सहयोगीको रुपमा राखेका थिए । यस्तै घर सफा गर्नका लागि एक महिला बिहान–बिहान कार्कीको घरमा पुग्थिन् ।

सहयोगी चौधरीले सधैँ बिहान–बिहान कार्कीलाई मात्र चिया बनाएर दिन्थे । तर, सोमबार बिहान चौधरीले घर सफा गर्ने महिलादेखि कार्कीकी श्रीमती, छोरा र चालकलाई समेत चिया बनाएर खुवाएको पाइएको छ ।

पूर्वसचिव कार्की चिया खाइसकेपछि बिहान प्रायः सधैँ गेम खेल्न जान्थे । कहिले ब्याडमिन्टन त कहिले गल्फ खेल्थे । तर, सोमबार बिहान उनी गेम खेल्न नगएर पूजा गर्न भन्दै ड्राइभरलाई लिएर पशुपति मन्दिर गए ।

प्रदेश ३–०१ ०२२च ०७०९ नम्बरको गाडीमा बिहान ७ बजे घरबाट निस्केका अर्जुन करिब ८ बजेतिर मन्दिर पुगेका थिए । २ घण्टा लामो लाइन बसेर कार्कीले मन्दिरमा पूजा गरे । पुनः १० बजेतिर अर्जुन पशुपतिबाट घर फर्के ।

मन्दिरबाट घर फर्किँदै गर्दा ललितपुरको कानदेवता मन्दिर आएर बानेश्वर बस्ने भिनाजुलाई आफूले फोन गरेको अर्जुनले बताए । ड्राइभरसँगै अगाडि सिटमा बसेका कार्की ११ः२० मा घर पुगे ।

गेटको ‘बेल’ बजाए । गेट खोल्न कोही नआएपछि कार्की आफैँले गेट खोले । ड्राइभर गाडी पार्किङ गर्नतिर लागे भने कार्की सिधै घरभित्र पसे ।

घरभित्र पसेलगत्तै कार्कीले आफ्नो घरमा काम गर्ने सहयोगी डोरीमा झुण्डिएर भुइँमा लडेको अवस्थामा देखे । सहयोगी लडेको देखेपछि कार्कीले श्रीमतीलाई बोलाए । कार्की भान्सा कोठामा के छिरेका थिए, ‘श्रीमती रगतले लतपतिएको अवस्थामा देखे ।’

श्रीमतीको त्यस्तो अवस्था देखेपछि कार्की डाँको छोडेर रुँदै बाहिर निस्किए । छिमेकीले डाँको छोडेर को रोएको भन्दै बरण्डाबाट हेर्न थाले । कोही कार्कीको घरतिर दौडिए ।

राष्ट्रियसभा सांसद कोमल वली पनि कार्कीको छिमेकी हुन् । वली पनि कार्कीको घर पुगिन् । वली भन्छिन्, ‘भित्र गएर हेर्दा सहयोगी एउटा कोठामा र कार्कीकी श्रीमती रगतले लतपतिएको अवस्थामा भान्सा कोठामा लडेको देखेँ ।’

कार्कीकी श्रीमती मुना कार्की रगतले लतपतिएको अवस्थामा फेला परेकी महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी टेकप्रसाद राईले बताए । उनले भने, ‘कार्कीको घरमा काम गर्ने चौधरी मृत अवस्थामा फेला परेका थिए ।’

प्रहरीको प्रारम्भिक अनुसन्धानमा घटना करिब १०–११ बजे घटेको हुनसक्छ । ‘मुनाको टाउकोमा पिर्काले प्रहार गरेको र घाँटीमा चोट लागेको छ,’ एसएसपी राईले रातोपाटीलाई बताए ।


शुरुमा हत्या भएको जानकारी दिए पनि घटनाको करिब एक घण्टापछि प्रहरीले परीक्षणका लागि स्वास्थ्यकर्मी बोलाउँदा मुनाको शरीर तातै रहेको फेला परेपछि उनलाई तत्कालै स्टार अस्पताल पठाएको थियो । तर, अस्पतालले पनि कार्कीलाई मृत घोषणा गरिसकेको छ ।

कार्कीकी श्रीमतीको हत्या गरेर सहयोगी चौधरीले आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । महानगरीय अपराध महाशाखा प्रमुख एसएसपी सहकुल थापाले अहिलेसम्मको घटना प्रकृतिले मुनाको हत्यापछि चौधरीले आत्महत्या गरेको देखिन आएको बताए ।

‘घटनास्थलमा प्लास्टिकको पिर्का टुक्रा–टुक्रा भएको अवस्थामा फेला परेको छ । बाँकी केही खुल्न सकेको छैन,’ एसएसपी थापाले भने ।

अहिले घटनास्थलमा रहेका अनुसन्धान अधिकारीहरूले पूर्वसचिव अर्जुनको घरमा रहेको सीसीटीभी क्यामराको फुटेज हेर्न लागिरहेको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीबाट टेक्निकल टिम घटनास्थल पुगिसकेको छ । 

बाबु घरमा भएको भए बाबुलाई पनि मार्ने रहेछ : अर्जुन कार्की

श्रीमतीको मृत्युको वियोगमा रहेका अर्जुनले घरमा छोरा भएको भए छोरा पनि मर्ने रहेछ भन्दै भक्कानिए । उनले रातोपाटीसँग भने, ‘धन्न छोरा स्कुल गएकाले जोगिएछ ।’

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

अर्जुन कार्कीको घरभित्र छिर्ने गेट नजिकैको पोलमा सीसी क्यामेरा । 

उपचारको लागि अस्पताल लगिँदै मुना कार्की ।

आत्महत्या गरेर भुँइमा लडेको अवस्थामा भेटिएका सहयोगी विजय चौधरी ।

अर्जुन कार्कीको घरमा पार्किङ गरेर राखिएको गाडी । 

रगत लतपतिएको अवस्थामा भान्साकोठा ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुजन पन्त
सुजन पन्त

पन्त सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप