मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

ढाका टोपी लगाउने भारतीय ‘नटवरलाल’ : कारवाहीबाट जोगिन नेपालका उपराष्ट्रपतिको सल्लाहकार भन्दै हिँड्थे

सोमबार, २७ माघ २०७६, १३ : ०९
सोमबार, २७ माघ २०७६

काठमाडौँ । ढाका टोपी लगाएर आफूलाई नेपालका उपराष्ट्रपतिको साँस्कृतिक सल्लाहकार भन्दै ठगीमा संलग्न रहँदै आएका एक भारतीय नागरिकविरुद्ध कानुनी कारवाही सुरु भएको छ ।

केही अघि उनलाई भारतको मध्यप्रदेशस्थित उज्जैनमा भारतीय प्रहरीले भारतकै राजस्थान निवासी महावीरप्रसाद तोरडी, कुलदीप शर्मा र प्रमोद शर्मालाई गिरफ्तार गरेको थियो ।


गिरफ्तार गरिएकामध्ये तोरडीले आफूलाई नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झा र वर्तमान उपराष्ट्रपति नन्दबहादुर पुनको साँस्कृतिक सल्लाहकारका रुपमा चिनाएका थिए । कुलदीपले भने निजी सचिवका रुपमा आफ्नो परिचय दिएका थिए । कुलदीप भने तोरडी कै छोरा हुन् । यस्तै, प्रमोदले आफूलाई नेपालका प्रथम उपराष्ट्रपतिको विशेष सल्लाहकारका रुपमा चिनाएका थिए ।

उनीहरुको साथबाट नेपालको सरकारी नम्बरप्लेटको एउटा कारसमेत बरामद भएको छ । उक्त कार नेपाली नै हो या भारतीय कारमै नक्कली नम्बरप्लेट राखेर दुरुपयोग गरिएको हो भन्नेबारे अनुसन्धान भइरहेको बताइएको छ ।

उनीहरुको गिरफ्तारीपछि मुद्दा प्रक्रिया अघि बढाइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यद्यपि तोरडीका वकिल डा. एपी सिंहले तोरडीको गिरफ्तारीबाट नेपाल–भारत सम्बन्धमै फाटो आउन सक्ने चेतावनी दिदैँ दलील पेश गरेका छन् ।

भारतीय टेलिभिजन च्यानल ‘जी न्यूज’का अनुसार भारतीय प्रहरीले जालसाजी गरेर उनलाई नियन्त्रणमा लिएको तोरडीका वकिल डा. सिंहको जिकिर छ । उनले तोरडी नेपालको उपराष्ट्रपतिको सांस्कृतिक सल्लाहकार नै रहेको दावीसमेत गरेका छन् ।

तोरडी सांस्कृतिक सल्लाहकार होइनन् : उपराष्ट्रपतिको कार्यालय

उपराष्ट्रपतिको कार्यालयले भने तोरडी उपराष्ट्रपतिका सांस्कृतिक सल्लाहकार नरहेको प्रष्ट पारेको छ ।

उपराष्ट्रपति नन्दबहादुर पुनका प्रेस सल्लाहकार मनोज घर्ती मगरले रातोपाटीलाई दिएको जानकारीअनुसार उपराष्ट्रपतिको साँस्कृतिक सल्लाहकार भनेर एउटा समूह विभिन्न कार्यक्रममा सहभागी हुने गरेको र उपराष्ट्रपतिको नाम दुरुपयोग गरेकोबारे केही अघि नै चर्चा चलेको थियो ।

लगत्तै उपराष्ट्रपतिको कार्यालयले त्यस प्रकारको भूमिकामा कोही नियुक्त नगरिएको र तोरडी लगायतको समूहसँग उपराष्ट्रपति वा उपराष्ट्रपति कार्यालयको कुनै सम्बन्ध नरहेको प्रष्ट पारिसकेको उनले बताए ।

काठमाडौँस्थित भारतीय दूतावासले समेत यसबारे अनुसन्धान गर्दै उनी नेपालको कुनै आधिकारिक व्यक्ति नरहेको र कुनै पदमा नियुक्त नभएको जानकारी भारत सरकारलाई गराएको थियो ।

अन्तर्राष्ट्रिय समरसता मञ्चका नामबाट ठगी

भारतीय अखबार ‘दैनिक भास्कर’ले दुई वर्ष अघि नै तोरडी र उनको समूह ठगी धन्दामा संलग्न रहँदै आएको खुलासा गरेको थियो । उक्त अखबारले २०१७, अगस्ट २ मा अनलाइन संस्करणमा प्रकाशित गरेको समाचारअनुसार तोरडीले फर्जी कागजात बनाएर आफूलाई विशिष्ट व्यक्तिका रुपमा चिनाउने गरेका थिए । उनले ‘अन्तर्राष्ट्रिय समरसता मञ्च’का नाममा विभिन्न गतिविधिसमेत गर्दै आएका थिए ।

सोही संस्थाका तर्फबाट भारतका विभिन्न प्रहरी इकाईमा ईमेल पठाउँदै तोरडी नेपालका उपराष्ट्रपतिको साँस्कृतिक सल्लाहकार भन्दै राज्य अतिथिको दर्जा दिन अनुरोध गरेको थियो ।

उनी राजस्थानको जयपुरबाट काठमाडौँसम्म बारम्बार आउ–जाउ गर्दथे । ‘इन्डो–नेपाल समरसता संगठन’ का नामबाट खोलिएको फेसबुक पेजमा तोरडीका कयौँ गतिविधि र कार्यक्रमहरुको जानकारी दिइएको छ ।

उक्त फेसबुक पेजमा विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचार, भिडियोसमेत समावेश छ । उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा माला लगाएको अवस्थामा समेत केही तस्वीरमा देखिन्छन् ।

नेपालका केही राजनीतिज्ञ, वकिल र पत्रकारसँगसमेत उनको सम्बन्ध रहेको उक्त फेसबुक पेजमा उपलब्ध सामग्रीमा उल्लेख छ ।

उनले भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीसँगसमेत भेट गरेको तस्वीर फेसबुक पेजमा छ । उनले नेपालका उपराष्ट्रपतिको सल्लाहकारकै रुपमा मुखर्जीसँग भेट गरेका हुन् । भेटको तस्वीरसमेत फेसबुकमा छ, जसमा उनले ढाका टोपी लगाएका छन् ।

यसअतिरिक्त भारतका विभिन्न प्रशिद्ध मन्दिरमा समेत उनले ‘भीआइपी’ सुविधा लिएर पूजा तथा दर्शन गरेको तस्वीरहरु पनि फेसबुक पेजमा छन् ।

यस्तै सुविधा लिएर उज्जैनमा एक सरकारी गेस्टहाउसमा बसिरहेको अवस्थामा उनी करिब दुई साता अघि पक्राउ परेका थिए ।

सञ्चारकर्मीलाई पुरस्कृत गर्दै अनुकुल समाचार लेखाउँथे

तोरडीले केही सञ्चारकर्मीलाई पुरस्कृतसमेत गरेका छन् । उनले आफ्नो संस्थामार्फत कार्यक्रम आयोजना गरी सञ्चारकर्मीलाई पुरस्कृत गर्ने र उनीहरुबाट आफ्नो अनुकुल समाचार लेख्न लगाएको तथ्य पनि फेसबुकमा फेला परेको छ ।

‘इन्डो नेपाल समरसता अर्गनाइजेसन’ नामक फेसबुक पेजमा २०१९, जुन १७ मा एउटा अखबारमा प्रकाशित समाचार सेयर गरिएको छ, जसमा तोरडी ‘बैङ्क अफ इंग्ल्याण्ड’ का गभर्नर बन्न सक्ने लेखिएको छ ।

भारतमै कयौँ मुद्दा झेल्दैछन् तोरडी

तोरडीले कयौँ संस्था खोलेर रकम उठाउने र ठगी गर्दै आएको भारतीय सञ्चारमाध्यमको दावी छ ।

जयपुरको करणी थाना क्षेत्रमा बसोबास गर्दै आएका उनीविरुद्ध सन् १९८४ मै पहिलो पटक मुद्दा दर्ता भएको बताइन्छ । सन् २०१५ सम्ममा उनीविरुद्ध एक दर्जनभन्दा बढी मुद्दा दायर भइसकेको छ ।

धम्की दिएर असुली गरेको, जमिन कब्जामा लिएको, ठगी गरेको जस्ता अनेक आरोपमा उनीविरुद्ध मुद्दाहरु दर्ता भएको बताइन्छ । उनी केही समय जेलमा समेत रहेको भारतीय संचारमाध्यमले खुलासा गरेका छन् ।

यिनै आरोपहरुबाट बच्नका लागि उनले नेपालको उपराष्ट्रपतिको सल्लाहकारका रुपमा उनले आफ्नो नयाँ पहिचान बनाएको बताइन्छ । पछिल्लो समय उनले आफ्नै संस्थाको लेटरप्याडमार्फत स्थानीय प्रहरी कार्यालयहरुमा पत्राचार गर्ने र सुरक्षाको प्रवन्ध मिलाउन निर्देशन दिने गरेका थिए ।

उज्जैनमा मन्दिर दर्शन गर्ने प्रयोजनका लागि पुगेका उनी सरकारी सुविधासहित गेस्ट हाउसमा बसिरहेको अवस्थामा सरकारी गेस्ट हाउसकै कर्मचारीलाई शंका लागेर प्रहरीलाई खबर गरेका थिए । गेस्ट हाउसमा पुगेर प्रहरीले सोधपुछ गर्दा उनले आधिकारिक कागजात देखाउन नसकेपछि प्रहरीले उनीसहित तीन जनालाई नियन्त्रणमा लिएको थियो ।

एजेन्सीको सहयोगमा

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप