शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अख्तियारको कदमबारे नयाँ रणनीति लिन काँग्रेस बैठक बस्दै

सोमबार, २७ माघ २०७६, ११ : १३
सोमबार, २७ माघ २०७६

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक बस्दैछ । आज (सोमबार) दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बस्ने बैठकले उपसभापति विजय गच्छदारमाथि दायर मुद्दाको विषयमा नयाँ रणनीति लिनेछ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवास प्रकरणमा तत्कालीन उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री गच्छदारसहित १७५ जनालाई मुद्दा दायर गर्दा राजनीतिक पूर्वाग्रह राखिएको भन्दै काँग्रेस गत विहीबारदेखि आन्दोलित छ ।

अख्तियारले सोही प्रकरणका निर्णयकर्ता पूर्वप्रधानमन्त्रीहरू माधवकुमार नेपाल र बाबुराम भट्टराई, तत्कालीन मुख्यसचिव लीलामणि पौडेल र सरकारी जग्गा खरिद गर्ने नेकपा महासचिव विष्णु पौडेलका छोरा नवीनमाथि मुद्दा दायर नगरेको विषयलाई काँग्रेसले मुख्य मुद्दा बनाएर सदन र सडकमा संघर्ष जारी राखेको छ ।

काँग्रेसका प्रमुख भ्रातृ संगठनहरु नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, नेपाल महिला संघ सडक सङ्घर्षमा छन् । महिला संघले जान काठमाडौंको माइतीघरमा विरोध र्याली गर्दै छ ।

आजको बैठकमा यस विषयमा नयाँ रणनीति तय गरेरअघि बढ्नेबारे छलफल हुने काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । उनका अनुसार कस्तो रणनीति लिने भन्ने विषयमा बैठकले निर्णय लिनेछ ।

बैठकमा विधानका धारा र नियमावलीका नियम सम्बन्धमा निर्णय लिने र सात सदस्यीय क्रियाशील सदस्यता केन्द्रीय छानबिन समिति गठन गर्ने एजेण्डा पनि छ ।

माघ १३ गतेको केन्द्रीय समिति बैठकमा छानबिन समितिको संयोजकमा नरहरी आचार्यलाई नै दोहोर्याउने विषयमा सामान्य छलफल भएको थियो । यद्यपि उनी अस्वस्थ रहेकाले अन्यलाई जिम्मेवारी दिने कि भन्ने विषयमा पनि कुरा उठेको थियो ।

तर, आचार्यको विकल्प खोजिँदा साझा व्यक्ति रोज्नुपर्ने संस्थापन इतर पक्षको माग राखेको छ । यसअघि पनि १३ औँ महाधिवेशनका लागि आचार्यको नेतृत्वमा क्रियाशील सदस्यता छानविन समिति गठन गरिएको थियो ।

सभापति शेरबहादुर देउवा पक्षबाट संयोजकसहित ३ जना, वरिष्ठ नेता रामचन्द्र पोडेल पक्षबाट २ जना र कृष्णप्रसाद सिटौला  पक्षबाट एक जनालाई समावेश गरिने सहमति भएको थियो ।

तीन समूहमा छानविन समितिमा कसलाई पठाउने भन्ने विषयमा आन्तरिक छलफल भइरहेको छ । समितिका संयोजक र सदस्यहरुको मनोनयन गर्ने जिम्मा सभापति देउवालाई दिइएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप