शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

तपाईंमा त छैन यी बानीहरु ? होश गर्नुहोस् है मृगौलाको सत्यनाश होला

आइतबार, २६ माघ २०७६, १३ : ५६
आइतबार, २६ माघ २०७६

मृगौला हाम्रो शरीरका महत्त्वपूर्ण अंगहरुमध्येका एक अंग । यसले हाम्रो रगत सफा गरेर शरीरलाई स्वस्थ राख्ने काममा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको हुन्छ । हाम्रो मृगौला स्वस्थ्य रहेन भने हाम्रो शरीर पनि अस्वस्थ बन्न पुग्छ । मृगौला अस्वस्थ हुनुभनेको मृत्युतिरको यात्रा पनि हो । त्यसैले हामीले मृगौलालाई स्वस्थ राख्नका लागि अत्यन्तै ख्याल गर्नु जरुरी छ । तर हामीले जानेर वा नजानेर केही यस्ता खराब बानीहरुलाई अंगालिरहेका हुन्छौं, जसले हामीले थाहा नपाइकनै हाम्रो मृगौलालाई सत्यनाश बनाइदिइरहेको हुन्छ ।

आउनुहोस्, मृगौलालाई सत्यानाश गराइदिने त्यस्ता खराब बानीहरुबारे जानीराखौं ।

कम पानी खानु

मृगौलाको मुख्य काम नै शरीरमा पैदा भएका विकारहरु शरीरबाट निकाल्नु हो । त्यसबाहेक यसको काम रातो रक्तकोषको उत्पादनलाई नियमित गर्नुपनि हो ।  शरीरमा पैदा भएका विकारहरुलाई छान्नको लागि रगतले मृगौलासम्म ल्याइपुर्याउँछ । त्यसरी रगतले ल्याएका विकारहरुलाई छान्नको लागि पानीको जरुरत पर्छ । हामीले पर्याप्त मात्रामा पानी खाएनौं रगत बाक्लो हुन्छ र मृगौलासम्म रगत आउन कम हुन्छ ।

यस्तो अवस्थामा मृगौलाले शरीरको विकारहरुलाई हटाउने काममा अवरोध पुग्छ ।

यसरी शरीरका विकारहरुलाई हटाउने काममा अवरोध आउनुभनेको शरीरमा थुप्रै स्वास्थ्य समस्याहरु निम्त्याउनु पनि हो ।

त्यसैले पर्याप्त मात्रामा पानी पिउनु मृगौलाको स्वास्थ्यको लागि अत्यावश्यक छ । दुर्भाग्यवश धेरैजसो मानिसहरु पर्याप्त मात्रामा पानी पिउने कुरामा ध्यान नै दिँदैनन् ।

अहिलेसम्मको मान्यताअनुसार, एउटा स्वस्थ वयस्क मानिसले दिनको ८ देखि १० ग्लाससम्म पानी पिउनु जरुरी हुन्छ । फलफूलका रस, पर्याप्त मात्रामा झोलिलो खानेकुराहरु खाँदा पनि शरीरलाई चाहिने पानीको मात्राको आपूर्ति हुन्छ ।

तर कतिपयले चाहिँ पानी खाने नाममा अति बढी नै पानी पिउने पनि गर्छन् । त्यसरी बढी पानी पिउँदा पनि मृगौलालाई बढी भार पार्न जान्छ । त्यसैले आवश्यकताभन्दा बढी पानी पनि पिउनु हुँदैन । सबैभन्दा मुख्य कुरा पानीको सन्तुलन नै हो ।

बढी नूनको सेवन

धेरै नून खानुपनि मृगौलाको लागि हानिकारक नै हुने गर्छ । हामीले खानेकुरामार्फत् खाएका नून वा सोडियममध्ये ९५ प्रतिशतलाई छान्ने काम मृगौलाले नै गर्छ । जब हामीले खाएका खानेकुराहरुमा नूनको मात्रा धेरै हुन्छ, हाम्रो मृगौलाले त्यसलाई छान्न र शरीरबाट बाहिर फ्याँक्नको लागि बढी नै मिहिनेत गर्नुपर्ने हुन्छ । यसले हाम्रो मृगौलाको कार्यक्षमतालाई घटाइदिन सक्छ । खानामा बढी नून हुँदा हाम्रा कोषहरुमा पानी जम्ने र रक्तचाप बढ्ने सम्भावना पनि हुन्छ । उच्च रक्ततापले कालान्तरमा हाम्रा मृगौलालाई नै नोक्सान पुर्याँउछ । मृगौला काम नलाग्ने बन्नुको सबैभन्दा मुख्य कारण नै पनि यही नै हो ।

धूमपान

मृगौलालाई सत्यनाश गर्ने अर्को खराब बानी भनेको धूमपान पनि हो । धूमपानले हाम्रा रक्तनलीहरुलाई असर गर्छ र मृगौलासम्म जाने रगतको मात्रालाई घटाइदिन्छ । त्यसबाहेक, यसले एकातिर मृगौलाको कार्यक्षमता घटाइदिन्छ भने अर्कोतिर मृगौलासम्बन्धी कुनै समस्याहरु छ भने त्यसलाई बढाइदिने काम पनि गर्छ । विभिन्न अध्ययनहरुले मृगौलाका रोगहरु र धूमपानका बीच सम्बन्ध हुने देखाएको छ । अध्ययनहरुले देखाएअनुसार, धूमपान पनि अन्तिम चरणको मृगौला रोगहरु र मृगौला काम नलाग्ने अवस्थामा पुग्नुको एउटा मुख्य कारण हो ।

मद्यपान

मृगौलाले हाम्रो शरीरुको हानिकारक विकारहरुलाई छान्ने काम गर्छ, जसमा अल्कोहल (रक्सी) पनि पर्दछ । जब हामी अत्यधिक रक्सीको सेवन गर्छौं, त्यसले पार्ने भार भनेको फेरि पनि कलेजो र मृगौलालाई नै हो । नियमित रुपमा रक्सीलगायत अल्कोहल हुने मादक पदार्थको सेवनले हाम्रो मृगौलासम्बन्धी प्रणालीलाई नै नोक्सान पुर्याइदिन्छ ।

अल्कोहलले अत्यधिक रुपमा जलविनियोजन (डिहाइड्रेसन) गराउँछ । रक्सीको सेवन गरेपछि धेरै तिर्खा लाग्नुको कारण पनि यही नै हो । त्यसैले धेरै रक्सीको सेवन गर्दा हाम्रो शरीरका अंगहरुमा पानीको अभाव हुन जान्छ, जसले गर्दा तिनीहरुले राम्ररी काम गर्न सक्दैन ।

अल्कोहलले मृगौलालाई नोक्सान गर्ने मात्र हैन, कलेजोलाई पनि सत्यानाश गरिदिन्छ । त्यसले कलेजोसम्बन्धी रोगहरु लगाएर मृगौलासम्म जाने रगतको प्रवाहलाई पनि कमजोर बनाइदिन्छ ।

पीडानाशक औषधीहरुको सेवन

पीडानाशक औषधीहरु अर्थात् पेनकिलरको जथाभावी सेवन आधुनिक जीवनशैलीको एउटा खतरनाक समस्या बन्दै गइरहेको छ । ससाना समस्याहरुमा पनि पीडानाशक औषधीको सेवन गर्ने बानी एकातिर र अर्कोतिर पानी नखाने बानीले हाम्रो मृगौलालाई नोक्सान पुर्याइरहेको हुन्छ । हामीले खाएका पीडानाशक औषधीहरुको मात्रा हुँदै जाँदा मृगौलासम्म जाने रगतको प्रवाह पनि कम हुँदै जान्छ । फेरि ती औषधीहरु पनि मृगौलाका कोषहरुका लागि विषालु हुने गर्छन् जसले मृगौलाको काम गर्ने क्षमतालाई नोक्सान पुर्याइदिन्छ । प्रत्येक वर्ष ३ देखि ५ प्रतिशत मृगौला काम नलाग्ने हुनुमा यही पीडानाशक औषधीको अन्धधुन्ध प्रयोगले भूमिका खेल्ने गरेको छ ।

यी माथि उल्लिखित आनीबानी बाहेक हाम्रा अन्य थुप्रै खराब बानीहरुले पनि मृगौलालाई नोक्सान पुर्याउने काम गरिरहेको हुन्छ । तीमध्येमा लामो समयसम्म पिसाब रोक्नु, निष्क्रिय जीवनशैली, जथाभावी असन्तुलित र अस्वस्थकर खानेकुराहरुको सेवन आदि पर्दछन् ।

त्यसैले मृगौलालाई स्वस्थ राख्ने हो, बिग्रन नदिने हो र स्वस्थकर जीवन बिताउन चाहने हो भने हामीले त्यस्ता खराब आनीबानीलाई तुरुन्तै परिवर्तन गर्नु जरुरी छ ।

Title Photo: https://www.qunki.com

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप