शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

एकैपटक पाँच सचिव पद रिक्त भएपछि सरकारले थाल्यो नयाँ सचिव बढुवा प्रक्रिया

आइतबार, २६ माघ २०७६, ०८ : ००
आइतबार, २६ माघ २०७६

निजामती सेवाको सर्वोच्च पद मानिने पाँच सचिव पद एकैपटक रिक्त भएपछि सरकारले नयाँ सचिव बढुवा प्रक्रिया छिट्टै थाल्ने भएको छ । सरकारले एक साताभित्रै रिक्त पदमा नयाँ सचिव ल्याउनेगरी गृहकार्य अगाडि बढाएको छ । 

निजामती सेवा ऐनअनुसार रिक्त एक सचिव पदका लागि तीन जनाको सिफारिस हुने प्रावधान छ । सरकारले रिक्त सचिव पदमा पालैपालो सहसचिवलाई बढुवा गर्ने तयारी गरेको हो ।

पछिल्ला वर्षमा ज्येष्ठताका आधारमा नै सचिव बढुवा हुने परम्परा बस्दै आएको छ । सिफारिसमा एक नम्बरमा पर्ने सहसचिव नै स्वतः सचिव हुने भएकाले सचिव बन्न दौडधूप गर्ने पद्धति भने बन्द भएको छ ।

लोकसेवा आयोगका अध्यक्षको अध्यक्षतामा रहने सचिव बढुवा सिफारिस समितिले सचिव रिक्त हुनासाथ पालैपालो बढुवा गर्ने पद्धतिको विकास गर्दै आएकाले बढुवा प्रक्रिया विवादरहित हुँदै आएको छ ।

गृहसचिव प्रेमकुमार राई, अर्थसचिव राजन खनाल, उपराष्ट्रपति कार्यालयका सचिव रामकुमार आचार्य र नेपाल ट्रस्टका गजेन्द्र ठाकुर भर्खरै मात्रै सेवा निवृत्त भएपछि सचिव पद रिक्त भएको हो । यसैगरी, कृषि मन्त्रालयका सचिव युवकध्वज जिसीले पनि पदावधि सकिनुअगावै राजीनामा दिएका छन् । यो समाचार आजको राजधानी दैनिकमा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप