आइतबार, २७ माघ २०८१
ताजा लोकप्रिय

यस्तो छ दिल्ली विधानसभा निर्वाचनको मत सर्वेक्षण, दुई ठुला पार्टी चिप्लिने संकेत

शनिबार, २५ माघ २०७६, २३ : २८
शनिबार, २५ माघ २०७६

एजेन्सी । नयाँ दिल्लीमा विधानसभाका लागि भएको निर्वाचनमा ५८ प्रतिशत मत खसेको छ । कूल ७० सदस्य भएको विधानसभाका लागि शनिबार मतदान भएको हो । ७० सदस्यसहितको दिल्ली विधानसभामा बहुमतका लागि ३६ जना विधायक आवश्यक पर्दछ। चुनाव सम्पन्न भएसँगै दिल्ली विधानसभामा यो पटक कसको पल्लाभारी होला भनेर बहस सुरु भएको छ ।

दुई दिनपछि आउने नतिजाको पूर्वअनुमान र मत सर्वेक्षण सुरु भएको छ । यदि भारतीय सञ्चारमाध्यामहरु र केही संस्थाहरुको मत सर्वेक्षणलाई विश्वास गर्ने हो भने योपटक पनि दिल्लीको सत्तारूढ दल आम आदमी पार्टी नै नेतृत्वमा आउने प्रबल सम्भावना देखिएको छ ।

भारतका प्राय सबै न्यूज च्यानलहरूले आम आदमी पार्टी र मुख्यमन्त्री अरविन्द केजरीवाललको नेतृत्वलाई आफ्नो एक्जिट पोलमा निर्णायक धारमा देखाएका छन्। मत सर्वेक्षणले भनेको छ, ‘दिल्ली र विपक्षीको भूमिका खेल्ने भाजपा र काँग्रेस दुबै सत्ताको दौडमा यो पटक पनि चिप्लिएका देखिन्छन्।’ यद्यपि,चुनावको वास्तविक परिणाम मंगलबार मात्र आउनेछ। एबीपी न्यूज एक्जिट पोलकाअनुसार आम आदमी पार्टीले ४९ देखि ६३ सीट ल्याउने सम्भावना देखिएको छ भने टाइम्स नाउ र इप्सोस सर्वेक्षणले आम आद्मीको ४७ सीट आउने सर्वेक्षण गरेका छन् ।

एबीपी न्यूजको सर्वेक्षणमा भाजपाले ५ देखि १९ र काँग्रेसले ० देखि ४ सिट पाउने अनुमान गरेको छ । टाइम्स नाउले भाजपालाई २ र काँग्रेस पराजय हुने मत सर्वेक्षण गरेको छ । इन्डिया न्युजकाअनुसार भाजपा उम्मेदवारहरुले ११ देखि १७ सिट पाउने देखिएको छ भने काँग्रेसले २ सीट प्राप्त गर्न सक्ने देखिएको छ ।

विधानसभामा ६७२ उम्मेदवारहरूले चुनावी मैदानमा प्रतिस्पर्धा गरेका थिए । चुनावमा आम आदमी पार्टी, भाजपा र काँग्रेसबीच त्रिकोणीय प्रतिस्पर्धा हुने अपेक्षा गरिएको थियो। तर त्यस्तो देखिएन । आम आद्मीले चुनाव जित्ने सम्भावना बलियो देखिएको भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन् ।

यसअघि सन् २०१५ को विधानसभा चुनावमा पनि आम आदमी पार्टीले ६७ सीटका साथ बहुमत प्राप्त गरेको थियो । यसपटक पनि आम आदमी पार्टीले सत्तामा फर्कन पूर्ण रुपमा शक्ति लगाएको देखिएको छ । केजरीवालभन्दा अघि लगातार १५ वर्षसम्म दिल्लीको सत्तामा रहेको काँग्रेसले यसपटक पनि हार ब्यहोर्ने निश्चितजस्तै देखिएको भारतीय सञ्चारमाध्यामहरुको आँकलन छ ।

सन् २०१३ डिसेम्बरमा भएको विधानसभा चुनावमा भने कुनै दलले  बहुमत प्राप्त गर्न सकेका थिएनन् । त्यसपछि आम आदमी पार्टीले काँग्रेससँग मिलेर सरकार गठन गरेको थियो, जुन सरकार ४९ दिनमात्र चलेको थियो । त्यसपछि आम आदमी पार्टी आफैंले सरकार खारेज गरेर पुनः चुनावमा उत्रिएको थियो । त्यसयताको यात्रामा आम आद्मी पार्टी विजयी हुँदै गएको देखिएको छ । यो पटक पनि सो पार्टीले सफलता हासिल गर्ने सम्भावना नजिकै देखिएको छ । दिल्ली सरकारको कार्यकाल २२ फेब्रुअरी मा समाप्त हुँदैछ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप