शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भिडियो समाचार : गच्छदारको सांसद पद निलम्बन, काँग्रेसद्वारा सदन–सडकमा विरोध

शुक्रबार, २४ माघ २०७६, १९ : ०५
शुक्रबार, २४ माघ २०७६

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस संसदीय दलका उपनेता विजय गच्छदारको सांसद पद निलम्बनमा परेको छ। संसद सचिवालयले शुक्रबार विज्ञप्ति जारी गरी भ्रष्टाचार निवारण ऐन अनुसार गच्छदारको पद निलम्बनमा परेको जानकारी दिएको हो।

आरोपमा अख्यितार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना गरेको आरोपमा गच्छदार लगायत १ सय ७५ विरुद्ध विशेष अदालतमा माघ २२ गते मुद्वा दायर गरेको थियो। अख्तियारले गच्छदारविरुद्ध परेको मुद्दाको जानकारी संसद सचिवालयलाई गराएसँगै सचिवालयले सूचना जारी गरेको हो। 

प्रतिनिधिसभा काँग्रेस

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको शुक्रबारको बैठक पनि अवरुद्ध गरेको छ ।बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारको छायााँमा परि पुर्वाग्रही भए निर्दोषलाई पक्रिएर दोषीलाई उन्मुक्ति दिन खोजिएको भन्दै कांग्रेसले बैठक अवरुद्ध गरेको हो । 

बैठकमा समय लिएर बोल्दै सांसद मिन बिश्वकर्माले अख्तियार दुरुपयोग गर्नुपर्ने अरु निकायको अध्ययन गर्नुपर्ने आयोगले आफ्नो अख्तियारको दुरुपयोग गरेको ठहर कांग्रेसले गरेको उल्लेख गरे । उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोग आफैँले अख्तियारको दुरुपयोग गरेको दावीसमेत गरे ।

‘बाख्री हरायो होइन तस्कर पल्कियो’ भन्ने चिन्ता बढेको भन्दै उनले कसुर दारले उन्मुक्ति पाउने र निर्दोष थुनिने कुरा सामान्य प्रशासनको पद्धतिविरुद्ध रहेको दाबी गरे । एउटा निर्दोषलाई पक्रेर सारा कसुरदारलालाई उन्मुत्ति दिने पद्धतिको थालनी भएको भन्दै उनले त्यसप्रति गम्भीर आपत्ति जनाए ।

सरकारको नियोजित कार्यक्रम भित्र रहेर अख्तियारले पुर्वाग्रही व्यवहार गरेको भन्दै उहाँले गम्भीर आपत्ती जनाए ।

न्याय निरुपण गर्ने निकायलाई नै छायामा पारेर सरकारले त्यसको कामलाई आफ्नो उपलब्धि भनेर व्याख्या गरेको उल्लेख गर्दै उनले सरकारको छाया बनेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  गरेको काम प्रति आफुहरुको गम्भीर आपत्ति रहेको बताए । सभामुखले बैठक प्रारम्भ भएको जनाउ दिने वित्तिकै कांग्रेसका सांसहरुले उभिएर विरोध जनाएका थिए । 

त्यसपछि बोल्ने समय पाएका सांसद विश्वकर्माले अख्तियारको विभेदकारी कामलाई स्वीकार्न नसकिने भन्दै सदन सुचारु हुन नसक्ने जनाए ।

त्यसपछि कांग्रेस सांसदहरुले उभिएर विरोध जनाएपछि सभामुखले आधा घण्टाको लागि बैठक स्थगित भएको घोषणा गर्नुभएको थियो । कांग्रेसले विहिबारको बैठक पनि अवरुद्ध गरेको थियो ।

आजै विहान सिंहदरबारमा बसेको काँग्रेस संसदिय दलको बैठकले सरकारले सुनियोजित ढंगले स्वतन्त्र आयोगलाई दबाव दिएर पूर्वाग्रह प्रेरित भइ मुद्दा अगाडी बढाएको भन्दै शुक्रबारको संसद बैठक पनि अवरुद्ध गर्ने निर्णय गरेको थियो ।

कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले ललिता निवास जग्गा प्रकरणमा अख्तियारले दायर गरेको मुद्धाले संवैधानिक निकायहरुको निष्पक्षता र स्वतन्त्रतालाई कमजोर बनाएको बताए । 

कांग्रेसका उपसभापति गच्छदार विरुद्ध राजनीतिक प्रतिसोधका कारण मुद्धा दायर गरिएको उल्लेख गर्नुहुँदै उनले लोकतन्त्रमा कानून सबैका लागि बराबर हुने बताए ।


कांग्रेस भातृ संगठन 

यता आयोगले भेदभावपूर्ण निर्णय गरेको भन्दै कांग्रेसका भातृ संगठनहरुले विरोध प्रदर्शन गरेका छन् । विरोध प्रदर्शनमा कांग्रेसको भातृ संगठनका नेताहरुले विजय गच्छदारलाई जोगाउन नभएर अख्तियारको कसैलाई काखा कसैलाई पाखा गर्ने निर्णयको विरोधमा प्रदर्शन भएको बताएका छन् ।

तरुण दलका अध्यक्ष जितजंग बस्नेतले अख्तियार टंगाल बस्नु जरुरी नभएको भन्दै बालुवाटरबाटै चलाउन आग्रह गरे । कानून धनि गरिब सबैलाई बराबर हुने भएपनि त्यसो हुन नसकेको उहाले बताए ।


नेपाल विद्यार्थी संघका अध्यक्ष राजीव ढुंगानाले जनतामा देखिएको निराशा चिर्नुको सट्टा प्रधानमन्त्री सरकारी सम्पत्ति व्यापारिक घरानालाई कौडीको मुल्यमा दिने निर्णय गर्दै गएको बताए । अख्तियारलाई संवैधानिक अंगको रुपमा रहेर काम गर्न सुझाव दिँदै उनले बालुटारको भातृ संगठन बन्न खोजे आन्दोलनको आँधिले बगाउने चेतावनी समेत दिए ।

प्रदर्शनमा ‘बालुवाटार जग्गा प्रकरण आफ्नालाई जोगाउने अरुलाई फसाउने, तिलकुमारीर्लाइ जेल विष्णु पौडेललाई माफी, क्याबिनेटको निर्णयमा मन्त्री जवादेही हुन्छ की प्रधानमन्त्री’, लगायतका प्लेकार्डहरु आन्दोलनकारीहरुले बोकेका थिए ।

आइतबार पनि तरुण दलको संयोजकत्वमा माइतीघरमा प्रदर्शन हुने बताइएको छ । नेपाली कांग्रेसले पनि अख्तियारको निर्णय भेदभावपूर्ण भएको भन्दै शुक्रबारको प्रतिनिधिसभा बैठक समेत अवरुद्ध गरेको थियो । 

प्रधानमन्त्री 

प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) यस क्षेत्रका जनताको साझा पहिचान भएको बताएका छन्। काठमाडौंमा रहेको सार्क सचिवालयको भ्रमण गर्नुहुँदै प्रधानमन्त्री ओलीले सार्क दक्षिण एसियाली जनताको साझा पहिचान भएको बताए ।

उनले सार्कको १९ औं शिखर सम्मेलन चाँडो आयोजना हुने विश्वास पनि व्यक्त गर्नुभएको छ । सार्कको अध्यक्षता पाकिस्तानलाई हस्तान्तरण गर्न आफू आतुर रहेको उल्लेख गर्दै ओलीले १९ औं सम्मेलनका लागि सबै सदस्य राष्ट्रहरुबीच सहमति जुट्ने विश्वास पनि व्यक्त गरे ।

सार्कका अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री ओलीले सार्कका सिद्धान्त र उद्देश्यप्रति सार्क राष्ट्रका प्रमुखहरुले प्रतिवद्धता जनाएको पनि उल्लेख गरे । प्रधानमन्त्री ओलीले सचिवालय परिसरमा रुद्राक्षको विरुवा समेत रोप्नु भएको छ । 

चीनलाई मास्क सहयोग

नोवल कोरोना भाइरससँग जुधिरहेको चीनलाई नेपाल सरकारले १ लाख थान प्रोटेक्टिभ मास्क सहयोग गरेको छ । सरकारको निर्णय अनुसार शुक्रबार परराष्ट्र मन्त्री प्रदिप ज्ञवाली र स्वास्थ्यमन्त्री भानुभक्त ढकालले चिनियाँ राजदुत होउ यान्छीलाई मास्क हस्तान्तरण गरे ।

चीनमा नोवल कोरोना भाइरसको संक्रमणबाट जोगाउने मास्कको अत्याधिक माग भएपछि नेपाल सरकारले मास्क सहयोग गर्ने निर्णय गरेको थियो । परराष्ट्र मन्त्रालयमा आयोजित सहयोग सामाग्री हस्तान्तरण कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले कोरोना भाइरसको संक्रमणमा नेपाल लगायत अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त सहयोग र एकता चीनका लागि महत्वपूर्ण भएको बताइन् । उनले यसबाट चिनियाँ नागरिक र नेतृत्वलाई थप उर्जा मिलेको समेत बताइन् ।

बिहीबार प्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्री, सचिवहरु लगायत सुरक्षा निकायका प्रमुखसहितको बैठकले नोवल कोरोना भाइरसँग जुधिरहेको चीनलाई १ लाखको संख्यामा प्रोटेक्टिभ मास्क सहयोग गर्ने निर्णय गरेको थियो । 

परराष्ट्रमन्त्री 

उता चीनमा रहेका नेपालीहरुले आफुहरलाई उद्धार गर्न नेपाल सरकारसँग बारम्बार आग्रह गरीरहेका छन् । यता नेपाल सरकारका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को मापदण्ड पूरा नभएका कारण वुहानमा रहेका नेपालीहरुको उद्धारमा ढिलाइ भइरहेको बताए ।

वुहानमा रहेका विद्यार्थीका अभिभावकले पनि छोराछोरीलाई उद्धार गर्न सरकारलाई दबाब दिइरहेका छन् । बिहीबार स्वास्थ्य मन्त्रालयमा धर्ना दिएका उनीहरुले शुक्रबार गृहमन्त्री रामबहादुर थापा बादल र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई छुट्टाछुट्टै भेटेका थिए । उनीहरुले आफ्ना छोराछोरीलाई कहिले उद्धार गर्ने मिति तोक्न आग्रह गरेका थिए । 

मन्त्री ज्ञवालीले उद्धारका लागि सरकारको काम गरिरहेको भन्दै मिति तोक्न बाध्य नबनाउन आग्रह गरे । उहाले वुहानमा रहेका नेपालीहरुको उद्धारका लागि अहिले नेपालमा डब्लूएचओको मापदण्डअनुसार संरचना तयार नभएको कारण ढिलाइ भएको बताए ।

डब्लूएचओको मापदण्डअनुसार उनीहरुलाई राख्ने क्वारेन्टाइन मात्र भएर नहुने, आइसोलेसन वार्ड, उपचार गर्ने स्वास्थ्यकर्मी सबै तयार हुनुपर्ने भएकाले ‘डब्लूएचओको मापदण्ड पूरा गर्न काम भइरहेको बताए ।

वुहानमा रहेका नेपालीहरुको दुःखबारे सरकार गम्भीर रहेको र प्रधानमन्त्रीले समेत चार पटक बैठक राखेको भन्दै उहाले केही समय दिन आग्रह गरे ।

वुहानमा रहेका १८० जनाले उद्दार गरिदिन वेइजिङस्थित नेपाली दूतावासमा आग्रह गरेका छन् । उनीहरुमा अहिलेसम्म कोरोना संक्रमण देखिएको छैन । तर चीनमा कोरोनो संक्रमण फैलिरहेको खबर सुनेर कोठामा एक्लै बस्नुपर्दा त्रासमा रहेका उनीहरुले आफूहरुलाई छिटो उद्धार गर्ने वातावरण बनाइदिन हारगुहार गरिरहेका छन् ।


कोरोना भाइरस 

उता, डिसेम्बरको अन्त्यमा चीनमा देखा परेको नयाँ कोरोना भाइरसले शुक्रबारसम्म ६३० भन्दा बढी व्यक्तिको ज्यान लिएको छ । सङ्क्रमण विश्वभर फैलिएको भएपनि यसले चीनबाहेकका मुलुकमा प्रकोपका रूपमा नदेखिएको विश्व स्वास्थ्य संगठनले जानकारी गराएको छ ।

पछिल्लो तथ्याङ्क अनुसार कोरोना भाइरसको सङ्क्रमणका कारण चीनमा ३० हजारभन्दा बढी व्यक्तिले उपचार गराइरहेका छन् । चिनियाँ मुख्य भूमि बाहिर विभिन्न ३० स्थानमा करिब २४० व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण भएको बताइएको छ ।

अहिलेसम्म हङकङ र फिलिपिन्समा दुई व्यक्तिको मृत्यु भएको छ । पछिल्लो तथ्याङ्क अनुसार कोरोना भाइरसको सङ्क्रमण सबैभन्दा बढी क्रुज जहाज, डाइमण्ड प्रिन्सेसमा ६१ जना रहेका छन् भने सिंगापुरमा ३०, जापानमा २५, थाइल्याण्डमा २५, हङकङमा  (मृत्यु भएका एक व्यक्तिसहित) २४, दक्षिण कोरियामा २३, ताइवानमा १६ अष्ट्रेलियामा १५ र मलेसियामा १४ व्यक्तिमा भएको छ । 

त्यसैगरी जर्मनीमा १३,  संयुक्त राज्य अमेरिकामा १२, भियतनाममा १०, मकाउमा १०, फ्रान्समा छ, क्यानडामा पाँच, संयुक्त अरब इमिरेट्समा पाँच, बेलायतमा तीन, भारतमा तीन, फिलिपिन्समा (मृत्यु भएका एक व्यक्तिसहित) तीन व्यक्तिमा नयाँ कोरोना भाइरसको सङ्क्रमण देखिएको छ ।

रूस र इटाली मा दुई दुई व्यक्तिमा उक्त भाइरसको सङ्क्रमण देखिएको छ । नेपाल, श्रीलङ्का, कम्बोडिया, फिनल्याण्ड, स्पेन, स्वीडेन, बेल्जियममा एक एक जनामा नयाँ कोरोना भाइरसको सङ्क्रमण भेटिएको छ ।

बीमा समिट

अर्थमन्त्री डा. युवराज खतिवडाले बीमा कम्पनीहरुले सेवाको गुणस्तर र पहँुचमा ध्यान दिनुपर्ने बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित ‘इन्स्योरेन्स समिट २०२०’ लाई सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले बीमाका सेवाहरुको विस्तारमा ध्यान दिन आग्रह गरे । उनले बीमा कम्पनीहरुको संख्या धेरै भएकाले मर्जमा जान समेत सुझाव दिए ।

उनले सरकारले माइक्रो इन्स्योरेन्स कम्पनी ल्याउने योजना बनाएको समेत बताए । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले नियामक निकाय बीमा समितिले बीमा कम्पनीहरुको मात्र सुरक्षा गर्ने नीति ल्याएको तर कसरी बजार विस्तार गर्न सकिन्छ भन्नेमा ध्यान नदिएको बताए । उनले बीमा समितिले इन्स्योरेन्सको न्यूनतम दर तोक्दा इन्स्योरेन्स प्रिमियम बढेको बताए ।

बीमा कम्पनीको संख्या धेरै भएपनि प्रतिस्प्रधा नहुँदा सस्तो र गुणस्तरिय बीमा सेवाको विकास हुन नसकेको वरिष्ठ उपाध्यक्ष गोल्छाले बताए ।

श्री एयरलाइन्स

श्री एयरलाइन्सले शुक्रबारबाट काठमाडौं–पोखरा उडान शुरु गरेको छ । ८० सिट क्षमताको ड्यास एट क्यु ४०० जहाजबाट उडान सुरु गरेको एयरलाइन्सले जनाएको छ । श्री एयरलाइन्सका कर्पोरेट प्रबन्धक अनिल मानन्धरले काठमाडौं–पोखरा–काठमाडौं दैनिक २ वटा उडान गर्ने र माग अनुसार ५ वटा सम्म उडान गर्ने योजना रहको बताए । पोखरा पर्यटकीय क्षेत्र भएको र पर्यटन वर्ष २०२० लाई लक्षित गरी पोखरा उडान सुरु गरेको उहाँले बताए ।

उहाँले केही दिनका लागि काठमाडौंदेखि पोखरा उडाको भाडा २ हजार रुपैयाँ र पोखरादेखि काठमाडौंको भाडा २ हजार ६ सय रुपैयाँ तोकिएको बताए । जहाज सानो रनवेमा पनि जान सक्ने र तीब्र गतिमा उडन सक्ने बताए । उनले ठुलो जहाज भएकाले नेपाली आकासमा ट्राफिक समेत कम हुने बताए ।

श्रीले यसअघि ६ वटा जहाजबाट भद्रपुर, विराटनगर, राजबिराज, भैरहवा, नेपालगंज, धनगढी लगायतका विमानस्थलमा सेवा दिदैआएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप