बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

राजपा र समाजवादी पार्टीबीच निर्णायक वार्ताको तयारी

शुक्रबार, २४ माघ २०७६, १७ : ०२
शुक्रबार, २४ माघ २०७६

काठमाडौँ । समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका नेताहरुबीच पार्टी एकीकरणका सन्दर्भमा निर्णायक वार्ताको तयारी भइरहेको छ । 

पार्टी एकीकरण र प्रदेश २ सरकारको विषयमा छलफल गर्न निर्णायक वार्ताको तयारी भइरहेको ती पार्टी सम्बद्ध नेताहरुले बताएका छन् । वार्ताका लागि समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राजपा नेपालका अध्यक्षमण्डलका संयोजक महेन्द्र राय यादवले पहल गरिरहेका छन् ।

अध्यक्षमण्डलका संयोजक यादवले वार्ताका लागि तयारी भइरहेको जानकारी दिँदै समय भने तय नभएको बताए । ‘मधेशी जनताको चाहना नै समाजवादी र राजपा एक हुनु हो, यी दुवै दल अलग अलग रह्यो भने मधेशीले कहिल्यै अधिकार पाउँदैनन्, त्यसैले समाजवादी र राजपाको गठबन्धन टुट्नु हुँदैन,’ उनले भने । पार्टी एकीकरणका लागि प्रयास कायम राख्ने उनको भनाइ छ । चाँडै नै दुवै दलबीच वार्ता हुने उनले बताए ।  

राजपा र सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बीच गठबन्धन भएपछि समाजवादी पार्टी र राजपा नेपालबीच संवादहीनताको अवस्था थियो । दुवै पार्टी संवादहीनताको अवस्थामा पुगेपनि राजपा नेपाल अध्यक्षमण्डलका संयोजक महेन्द्र राय यादवको निरन्तर प्रयासका कारण अहिले वार्ता सम्भव हुँदै गएको पार्टीका नेताहरु बताउँछन् ।

एक नेताका अनुसार समाजवादी पार्टी र राजपा नेपालबीचको वार्ता जनकपुरमा हुनेछ । यो बैठकमा प्रदेश सरकारको दुई वर्षे कार्यकालको समीक्षा हुनका साथै आवश्यकता अनुसार मन्त्रीहरू हेरफेरको बारेमा छलफल गरिने स्रोतले जनाएको छ ।

नेकपा र राजपा गठबन्धनले प्रदेश २ को सरकार फेर्ने चर्चा चलिरहेको समयमा त्यसबारे पनि दुई दलबीच छलफल हुने बताइएको छ । नेकपाले प्रदेश २ का मुख्यमन्त्रीविरुद्ध फागुन ३ गतेपछि अविश्वासको प्रस्ताव ल्याउने तयारी गरिरहेको बताइन्छ । त्यस अघि नै समाजवादी पार्टीले राजपा नेपालसँग वार्ता गर्न चाहेको स्रोतको भनाइ छ ।

गठबन्धनको सरकार भए पनि प्रदेश २ मा समाजवादी पार्टीले एकलौटी ढंगले सरकार सञ्चालन गरेको तथा सरकार तथा राजनीतिक नियुक्ति पनि स्वेच्छाचारी ढंगले गरेको राजपा नेपालका नेताहरुको आरोप छ । राजपा नेपालका नेताहरुले मुख्यमन्त्री फेर्नुपर्ने माग गरिरहेका छन् ।

प्रदेश सरकार गठन भएको दुई वर्ष हुन लागेको छ । प्रदेशसभामा समाजवादी पार्टी र राजपा नेपाल बराबर हैसियतमा भएका कारण अब सरकार सञ्चालनको जिम्मेवारी राजपा नेपालले पाउनुपर्ने सो दलका नेताहरुको तर्क छ ।

राजपाको तर्फबाट भौतिक योजना मन्त्री जितेन्द्र सोनल, वर्तमान सभामुख सरोज यादव र प्रदेश संसदीय समितिका सभापति मनीष सुमन मुख्यमन्त्री पदका दाबेदार छन् । 

समाजवादी र राजपाबीच कुरा नमिले दुवैमध्ये कुनै एक दलसँग मिलेर नेकपाले सरकार बनाउने तथा नेकपाको तर्फबाट पछिल्लो समय स्वयं प्रधानमन्त्रीले राजपालाई मुख्यमन्त्री दिने प्रस्ताव गरेको बताइएको छ । 

यता, समाजवादी र राजपा नेपालबीच कुरा मिलेन भने समाजवादी पार्टीले नेकपासँग मिलेर गठबन्धन बनाउने सम्भावना पनि छ । समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले नेकपाका अध्यक्ष प्रचण्डलाई फकाएर मुख्यमन्त्री पद नेकपालाई दिएर भए पनि प्रदेश २ मा सत्ता जोगाउने पहल गरिरहेको स्रोतको दावी छ । 

राजपाले प्रदेशमा सरकार परिवर्तन गर्न चाहेन भने नेकपाले समाजवादीलाई साथ लिएर भए पनि सरकार बनाउने सक्ने सम्भावनासमेत रहेको बताइएको छ । संघीय सरकारमा सहभागी तथा प्रदेश सरकार परिवर्तनको विषयलाई लिएर राजपा नेपालभित्र पनि तीब्र मतभेद छ । 

अध्यक्षमण्डलका संयोजक महेन्द्र राय यादव प्रदेशमा समाजवादी पार्टीसँगको गठबन्धनलाई निरन्तरता दिनुपर्ने र संघीय सरकारमा सहभागी हुन नहुने पक्षमा छन् । यता, अध्यक्षमण्डलका अन्य सदस्यहरु प्रदेश सरकार परिवर्तन गर्दै संघीय सरकारमा पनि सहभागी हुनुपर्ने पक्षमा रहेको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप