जाडोमा बच्चालाई ‘कोल्ड डायरिया’को जोखिम, कसरी बच्ने ?
जाडो मौसममा बालबालिकामा विभिन्न समस्याहरु देखिने गर्छ । जसमध्ये बढी देखिने समस्या हो ‘कोल्ड डायरिया अर्थात् चिसोले हुने झाडापखाला’ ।
‘कोल्ड डायरिया’ हुँदा सामान्यतः के सोच्ने गरिन्छ भने चिसोको कारण पखाला लाग्यो । तर वास्तवमा, त्यो प्रत्यक्ष चिसोको कारणले गर्दा नभई चिसो मौसममा सक्रिय हुने भाइरसका कारणले हुन्छ । चिसोयाममा बढी सक्रिय हुने ‘रोटा भाइरस’का कारण बालबालिकामा ‘कोल्ड डायरिया’ बढी हुन्छ । कोल्ड डायरिया हुँदा पानी जस्तै पातलो दिसा हुने भएकाले यसलाई ‘वाटरी डायरिया’ पनि भनिन्छ ।
विशेष गरेर जन्मेको केही महिनादेखि डेढवर्षसम्मका बालबालिकालाई रोटा भाइरसले बढी संक्रमण गर्ने गर्छ । त्यसैले त्यही उमेर समूहका बालबालिकाहरुलाई ‘कोल्ड डायरिया’को खतरा बढी हुन्छ । चिसो मौसममा बालबालिकामा उक्त पखालाको संभावना र त्यसको रोकथाम कसरी गर्ने भन्नेबारे रातोपाटीका लागि नेपाल मेडिसिटी अस्पतालकी बाल रोग विशेषज्ञ डा. आन्ना शर्मासँग टुना भट्टले गरेको कुराकानी । आउनुहोस्, डा. शर्माबाट उक्त रोगका बारेमा जानौं ।
कोल्ड डायरिया
चिसोको कारण हुने झाडापखाला (डायरिया)लाई कोल्ड डायरिया भनिएको हो । चिसो मौसममा विभिन्न भाइरस जस्तोः रोटा भाइरस धेरै सक्रिय हुनेगर्छ । भाइरसको संक्रमण भयो भने बालबालिकामा रुघाखोकी लाग्ने र डायरिया हुनेगर्छ । कतिलाई भने सिधै वान्ता हुने र तारन्तार पखाला लागिरहने हुन्छ । कोल्ड डायरियालाई भाइरल डायरिया पनि भन्ने गरिन्छ ।
मुख्यतया भाइरसको संक्रमण शारीरिक रुपले कमजोर बालबालिकाहरुमा छिटो हुन्छ । जो बच्चामा रोगसँग लड्ने रोग प्रतिरोधात्मक क्षमता कम हुन्छ, त्यस्ता बालबालिकामा संक्रमणको जोखिम पनि धेरै हुन्छ ।
भाइरस संक्रमण भएको दुई दिनभित्र लक्षणहरु देखिन थालिसक्छ । यसरी तारन्तार पखाला लागिरह्यो भइरह्यो बच्चाको शरीरमा पानीको मात्रा कमी हुन्छ । पानीको मात्रा कमी हुन नदिन बच्चालाई प्रसस्त पानी, जीवनजल पानी र पोषणयुक्त खाने कुरा खुवाइराख्नु पर्छ । कहिले काही बच्चालई पानीको मात्रा कमी हुन गई जलवियोजन (डिहाइड्रेसन)को खतरा पनि हुन्छ ।
कोल्ड डायरिया हुँदा सामान्यत कुनै औषधीको आवश्यकता पर्दैन, तर चार पाँच दिनसम्म पनि कम भएन भने उपचार गराउनु पर्छ । समयमै सावधानी अपनाउने हो भने यो सजिलै निको हुन्छ ।
कोल्ड डायरियाका लक्षणहरु
–सामान्य रुघाखोली लाग्ने र त्यसपछि डायरिया हुनु
–वान्ता हुने, खाएको कुरा पेटमा नअडिने
–निरन्तर पानी जस्नै पातलो पखाला लाग्नु
तारन्तार पखाला भइराख्दा पानीको मात्रा कम हुन गई डिहाइड्रेसन हुन्छ । त्यसैले पखाला लागिरहेका बच्चाहरुलाई प्रशस्त मात्रामा झोलिलो खानेकुरा, जीवनजल खुवाइरहनुपर्छ । केही दिनमा पखाला रोकिएन भने र बच्चामा डिहाइड्रेसन भएको खण्डमा भने तुरुन्त अस्पताल लैजानुपर्छ ।
डिहाइड्रेसन भएको कसरी थाहा पाउने ?
बच्चाहरु सामान्य विरामी हुँदा पनि उनीहरु खेलिरहने, सक्रिय नै देखिन्छन् । तर बारम्बार पखला लागिरहने, वान्ता गर्ने, बच्चा झिझिने, आलस्यता महसुस गर्ने, सुस्त हुने अनि खान मन नगर्ने, खाएको अलि अलि पनि पेटमा नरहने र ढिला ढिला पिसाव गर्न थाले भने बच्चालाई डिहाइड्रेसन भयो भनेर बुझ्नु पर्छ ।
उपचार
कोल्ड डायरियाको खासै उपचार हुँदैन । सतर्कता अपनाउनु नै यसको उचित उपचार हो । बच्चालाई डिहाइड्रेसन हुन नदिन दिसा गरेपिच्छे जीवनजल पानी खुवाउनु खुवाउनुपर्छ । त्यसाबाहेक, झोल खाना खुवाइराख्ने, आमाको दुध प्रसस्त खुवाउने, पोषणयुक्त खानेकुरा बारम्बार खुवाइराख्नुपर्छ ।
यदी डिहाइड्रेसन भयो भने बच्चालाई तुरुन्त अस्पताल लगिहाल्नु पर्छ । यस्तो अवस्थामा बच्चालाई चिकित्सकको प्रत्यक्ष निगरानीमा राखेर उपचार गराउनुपर्छ ।
सामान्यतः जाडो मौसममा डायरिया वा वान्ता भएको छ भने अविभावकले बच्चालाई भाइरल डायरिया भयो कि भनेर सतर्कता अपनाउनु पर्छ । समयमै सतर्कता अपनाउँदा यो निश्चित समयमा निको हुन्छ ।
रोटा भाइरसको संक्रमणबाट बच्ने उपाय
रोटा भाइरसको संक्रमणबाट बच्ने प्रमख उपाय भनेको चिसोबाट बच्नु र सरसफाइमा ध्यान दिनु नै हो । कोल्ड डायरिया मुख्य गरेर रोटा भाइरसको संक्रमणबाट हुने भएकाले यो सरुवा रोग हो भनेर बुझ्नु जरुरी छ । बिरामी बच्चाको वान्ता, दिसा, उसले प्रयोग गरेका सामानहरुबाट पनि सर्ने भएकाले सरसफाईमा विशेष ध्यान दिनुपर्छ ।
डायरियाबाट बच्न चिसोबाट पनि जोगिनु पर्छ । हरेक पटक दिसा गरिसकेपछि साबुनपानीले राम्रोसँग हात धुने बानी बसाल्नुपर्छ । खाना खानु अगाडि राम्रोसँग हात धुने गर्नुपर्छ । फलफुल तथा हरियो सागपात राम्रोसँग पखालेर मात्र खुवाउने गर्नुपर्छ । बालबालिकाका लागि तयार गरेको खानेकुराहरुलाई सुरक्षित तरिकाले राख्ने गर्नुपर्छ ।
घरबाहिर निस्किदा वा सार्वजनिक स्थानमा यात्रा गर्दा सावधानी अपनाउनु पर्छ । आफ्नो साथमा स्यानिटाइजर राख्ने र बच्चालाई खाना खुवानु अगाडि स्यानिटाइजसको प्रयोग गर्ने बानी बसाल्नु पर्छ । साथै, बच्चालाई जहाँ पायो त्यही दिसा पिसाव गराउनु हुँदैन । जहाँ पायो त्यही दिसापिसाव गराउँदा रोगका किटाणुहरु अरुलाई पनि सर्ने सम्भावना धेरै हुन्छ ।
विश्वमा रोटा भाइरसविरुद्धको खोपको विकास भइसकेको छ । नेपालका विभिन्न प्राइभेट अस्पतालहरुमा पनि रोटा भाइरसको खोप उपलब्ध छन् । सरकारी अस्पतालमा यो खोप उपलब्ध थिएन । तर, २०७७ सालबाट नेपाल सरकारले आफ्नो खोप कार्यक्रममा रोटा भाइरसको खोप पनि समावेश गर्ने भएको छ । योसँगै रोटा भाइरसको संक्रमणको जोखिम कम हुने विश्वास लिन सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्रिकेट नयाँ पुस्ताको सपना र गौरव बनेको छ : प्रधानमन्त्री
-
महालक्ष्मी विकास बैंकले देशभरका ७७ स्थानमा घरजग्गा लिलामी गर्दै
-
कास्कीको अन्नपूर्णमा २२ देखि ‘हनि हन्टिङ’ महोत्सव
-
नारायणी अस्पतालको ‘क्याथ ल्याब मेसिन’ बन्यो उपयोगविहीन
-
अपडेट: अन्डरवेयरमा लुकाएको विदेशी मुद्रा बरामद
-
मुक्तिनाथ म्युचुअल फण्डको आईपीओ मंसिर २० गतेदेखि