बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

रिडी महायज्ञमा सङ्कलित एक करोड रुपैयाँ बोकेर ‘महाराज’ फरार

शुक्रबार, २४ माघ २०७६, ११ : ४७
शुक्रबार, २४ माघ २०७६

गुल्मी । केही महिनाअघि गुल्मीको रिडीमा ‘बाल योगेश्वर महाराजका’ नामले महायज्ञ  लगाएका गुल्मी वस्तुका विजय भण्डारीले उक्त महायज्ञमा सङ्कलन भएको एक करोड नगद आफैले बोकेर गएको खुलासा भएको छ । यतिमात्र होइन, पेट्रोलियम पदार्थ र खाना, किराना सामाग्री लगायतको उधारो रकमसमेत नितिरेको पाइएको छ ।

भदौ २८ गतेदेखि असोज ११ गतेसम्म रुरु धार्मिक क्षेत्रको प्रचारप्रसार, भौतिक विकासको प्रलोभन देखाउँदै भण्डारीले महायज्ञ लगाएका थिए । उनको ठगी धन्दाविरुद्ध रातोपाटीले महायज्ञ उद्घाटनकै अघिल्लो दिन समाचार सम्प्रेषण गरेको थियो । त्यसलगत्तै प्रहरीले पक्राउको तयारी गरे पनि भण्डारीले सर्वोच्चबाट जिल्ला अदालत गुल्मीमा पत्र पठाउन लगाई पक्राउ हुनबाट जोगिएका थिए ।

रिडीका बासिन्दा भन्छन्, ‘बल्ल बुझियो’

उक्त महायज्ञमा ‘महाराज’लाई सहयोग पु¥याउने मध्येका एक हुन् रुरु क्षेत्र गाउँपालिका–१ का वडाध्यक्ष रामलाल विक । स्थानीय समाजसेवी गुरुप्रसाद ज्ञवाली पनि उनका सहयोगी थिए । यीसहित धेरैले उतिबेला ठग ‘महाराज’ विरुद्धको समाचारलाई ‘झुटो’ भनेका थिए ।

उनै मध्येका धेरैले यतिबेला बल्ल ‘महाराज’को कर्तुत बुझ्दै जान थालिएको बताए । नाम  नबताउने सर्तमा रिडीका एक अगुवा समाजसेवीले भने, ‘मैले उतिबेलै रातोपाटीको उक्त  समाचारका पक्षमा ताली बजाएको हुँ । तर स्थानीय भएकोले असहयोग नगरौँ भनेर चुप लाग्न बाध्य भएको थिएँ ।’

वडाध्यक्ष विकले रुरु क्षेत्रको प्रचारप्रसार होला र केहि भौतिक विकास पनि गर्न सकिएला  भनेर महायज्ञ गर्न चाहेको तर अहिले उल्टै ‘महाराज’बाट ठगिनु परेको बताए ।

अहिलेसम्म रिडीका विभिन्न व्यवसायीहरुको १८ लाख रुपैयाँ महाराजले नतिरी गएको वडाध्यक्ष विकले बताए । ‘रुरु धाममा एसियाकै ठूलो शङ्ख बनाइदिने, रुरु कन्याले मृगको दुधपान गरेको ठूलो आकारको प्रतिमुर्ति बनाइदिने वा ४ सयदेखि ५ सय किलोसम्मको विशाल घण्टा बनाइदिने सहमतिमा महायज्ञ गरिएको थियो,’ विकले भने, ‘अन्तिममा सवा २ करोड खर्च भयो भनेर जिन्सी र नगदसहित एक करोड रुपैयाँ महाराजले आफै लगेर गएका हुन् ।’

महायज्ञका क्रममा ठग ‘महाराज’ले रिडीका किशोर श्रेष्ठको नयना इन्टरप्राईजेजबाट ६ लाख १० हजारको पेट्रोलिय पदार्थ उधारोमा लिएका थिए । ‘पैसा पछि पठाउँछु’ भन्दै हिँडेका भण्डारीले खातामा पैसा नभएको चेक दिए । फेरि अर्को भाका राखे माघ २२ गतेका लागि ।  अहिलेसम्म पनि उक्त रकम पाउन नसकेको श्रेष्ठले बताए ।

रिडीकै ओम अमात्यको आयुष ट्रेडर्सबाट २ लाख ५० हजार रुपैयाँ बराबरको रासनलगायतका किराना सामानहरु उनले उधारो लिएका थिए । उक्त रकम पनि अहिलेसम्म पाउन नसकेको आमात्यले बताए ।

भनेजति पैसा दिने प्रलोभन देखाउँदै स्थानीय रेडियो, टेलिभिजनहरुमा महायज्ञको व्यापक प्रचार गराएका भण्डारीले अहिलेसम्म विज्ञापनको समेत रकम नतिरेपछि स्थानीय सञ्चारमाध्यमका सञ्चालक एवं सञ्चारकर्मीसमेत जिल्लिएका छन् ।

‘अमेरिका पठाइदिन्छु’ भन्दै विभिन्न व्यक्तिबाट करोडौँ रकम असुलेका भण्डारी वैदेशिक रोजगार ठगी मुद्दामा जेल पर्नु अघिसम्म विष्णु प्रपन्नाचार्यको आवरणमा धर्मका नाममा ठगी धन्दा चलाउँदै आएका थिए ।

पछिल्लो पटक जेलबाट छुटेपछि उनले बाल योगेश्वरको आवरणमा आफ्नो घर गुल्मीको वस्तु नजिकै पालुखा गाउँका चिनेजानेका शिक्षक र समाजसेवीहरुलाई हातमा लिएर पालुखा माध्यमिक विद्यालयमा २०७५ साल असोज २२ देखि २९ गतेसम्म महायज्ञ लगाए ।

आफ्नो छवि राम्रो बनाउने सोचका साथ उनले महायज्ञ लगाए, परिणामस्वरुप कुल उठेको नगद रकम ३९ लाखमध्ये जम्मा ११ लाख ५० हजार मात्रै लगे । पछि अन्य विद्यालय पनि उनीप्रति आकर्षित हुन थाले । पालुखा माविका प्रधानध्यापक बाबुराम खत्रीका अनुसार ३३ लाख बोल रकम अझै उठेको छैन ।

गत वर्ष नै उनले मुसिकोट नगरपालिका–१, अरेवाको जनज्योति माध्यामिक विद्यालयमा महायज्ञ लगाए । त्यहाँबाट उनले त्यो भन्दा बढि रकम लगे । उठेको नगद रकम आफूले लैजाने र बोलकबोल भएको उधारो रकम आयोजकलाई भिराएर जाने कामलाई उनले निरन्तरता दिन थाले ।

गुल्मीकै रुन्खादह माध्यामिक विद्यालयमा महायज्ञ गरेर उठेको नगद रकम आफैले लगे, बोल रकम विद्यालयलाई छाडे । ती दुवै विद्यालयमा अहिलेसम्म लाखौं बोल रकम उठ्न सकेको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रेम सुनार
प्रेम सुनार

 सुनार रातोपाटी प्रदेश ५ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप