शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

चीनबाट नेपाली विद्यार्थीको चीत्कार : हामी उद्धार पर्खिरहेका छौं प्रधानमन्त्रीज्यू !

आशा गरेर निरास हुनु जति पीडा अर्को नहुँदो रहेछ
शुक्रबार, २४ माघ २०७६, ११ : ३५
शुक्रबार, २४ माघ २०७६

म यो पत्र लेख्दै गर्दा मेरो नजिकै रहेको साथीसँग डराइरहेको छु । एक मनले भन्छ, कतै उसलाई कोरोनाले भेटिसकेको त छैन ? सायद ऊ पनि मलाई त्यस्तै ठान्दो हो । तर हामी एकअर्कालाई नभनी भिन्नाभिन्नै कोठामा उद्धारको प्रतीक्षा गरिहेका छौँ ।

प्रधानमन्त्रीज्यू यो पत्र हामीलाई बचाइदिनुस् भनेर गुहार माग्न मात्र लेखिरहेको छैन बरु सम्झाउने धृष्टता गरेको छु । आफ्नो राष्ट्र र नागरिकप्रति तपाईंको उत्तरदायित्व यस्तोबेला कति द्रुत गतिमा देखिनुपर्ने हो ?

दिनभर रातभर कोठाभित्र थुनिएर बस्नुपर्दा निकै कठिन महसुस भएको छ । मनमा अनेक अनेक नकरात्मक भावहरुले मडारिएर आउँछन् । तैपनि अनलाइनका समाचार र तपाईहरुले व्यक्त गरेका आश्वासनका सङ्केतहरुले हामीलाई आशाका मसिना झिल्काहरु उठाइदिइरहेका छन् । जति नै झोक चले पनि अन्ततः आशा गर्ने ठाउँ मेरो देश, मेरो देशका प्रधानमन्त्री र मेरो देशका नेतासँग बाहेक कोसँग हुन्छ ?

प्रत्येक बिहानको  सूर्योदयसँगै  आशाका किरणहरु मलाई झ्यालबाट अवलोकन गरिरहेको हुन्छ । अनि म दूतावासले १५ दिन अगाडि बनाइदिएको वी च्याट ग्रुपको प्रत्येक घण्टीमा ठान्छु – सायद मलाई मेरो देशले उद्धार गर्ने समाचार पठाएको होला । तर कतिबेला लाग्छ हरदिन मैले लेखिरहेका प्रतीक्षायुक्त डायरीका पानासँगै मृत्यु आइपुग्छ र तपाईंका आश्वासनको विशाल खाडलभित्र मैले प्रतीक्षा गर्दागर्दै मर्नुपर्छ ।

 


साँच्चै भन्ने हो भने अब त वाक्क लागिसक्यो प्रधानमन्त्रीज्यू ! आशा गरेर निरास हुनु जति पीडा अर्को नहुँदो रहेछ । मृत्युबाट कसैले बचाउँछ भनेर प्रतीक्षा गर्नु जति पीडा अर्को के हुँदो हो झन् ?

आज ठ्याक्कै ९ दिन भयो मेरो देशको हवाईजहाजले मलाई यहाँबाट सकुसल उद्धार गर्छ भन्दै बाटो रुँगेको तर मेरो सरकारले मलाई झुक्याएको छ । मैले यो पत्र लेख्दै गर्दासम्म  ५६४ जनाले ज्यान गुमाइसकेका छन् । सङ्क्रमितको सङ्ख्या दिनमा ३० प्रतिशतले बढिरहेको छ । प्रत्येक दिनका यी नयाँ समाचारले समेत ममा निराशायुक्त हिम्मतको काम गरिरहेको छ । यस्तो लाग्छ, मृत्युसँगको खेल हार र जित होइन जिन्दगी हो ।

अब त वाक्क लागिसक्यो प्रधानमन्त्रीज्यू ! आशा गरेर निरास हुनु जति पीडा अर्को नहुँदो रहेछ । मृत्युबाट कसैले बचाउँछ भनेर प्रतीक्षा गर्नु जति पीडा अर्को के हुँदो हो झन् ?

अझै हामी बाचिरहेछौँ । सायद बाँच्ने नै छौँ । आजको दिनसम्म यहाँ कोही नेपाली सङ्क्रमित भएका छैनन् । तर पनि हामी १६ दिनदेखि एउटा कोठाभित्र अवस्थित एक विस्तारामा पल्टिरहँदा कोरोना भाइरसले भन्दा मानसिक तनावले हामीलाई अति नै धेरै घायल बनाइरहेको छ । अझ संसद् भवनको विवाद, क्वारेनटाइनका लागि ठाउँ खोजीको ढिलासुस्ती, वुहानिज नेपाली विद्यार्थीको आगामनको विरोधमा चलेको नाराबाजीले आँधीमा परेको जहाजका यात्रीझैँ भएका छौँ । यस्ता अमानवीय भावहरुले  हामीलाई ज्यादै तनावमा पारिरहेको छ ।

सबैसँग के अनुरोध गर्न चाहन्छु भने हामी पनि नेपाली हौँ, हामीलाई पनि नेपाल र नेपालीको माया छ । हामी आफै पनि सङ्क्रमित भएर नेपाल आउँ भन्ने चाहँदैनौँ । त्यसको हरेक प्रक्रिया पूरा गरेर हामी नेपाल आउन चाहन्छौँ । नेपालमा १४ दिन सुरक्षित स्थानमा क्वारेन्टाइनमा बसेर परिवारको दर्शन गर्न चाहन्छौँ । तपाईं प्रत्येकसँग अनुरोध छ– हामीलाई आफ्नो छोराछोरी ठानेर तर्क गरिदिनुस् ।

यस युनिभर्सिटीको माया र करुणाको हामीले सधैँ सम्मान गरेका छौँ । हामीलाई भोजनका लागि हरेक दिनको व्यवस्था गरेको छ । तर मान्छेलाई ज्यानभन्दा प्यारो अरू केही नहुँदो रहेछ । बाघ र बाख्रालाई नजिकै दुईवटा खोरमा राखेर बाख्रालाई जतिसुकै आहार खुवाए  पनि उसको शरीर डरले सुकेरै जाने रैछ । हामी बाघले घेरेको खोरमा थुनिएको बाख्राझैँ भएका छौँ । अझै पनि धैर्यतापूर्वक  ढुकढुकी चलिरहेछ । ढुकढुकी छउन्जेल हामीलाई हाम्रो परिवारले सम्पर्क गरिरहनेछन्, गरिरहेका छन् । उहाँहरुलाई चिन्ता नलिनुस्, सब ठीक हुन्छ भन्दै छौँ ।

डियर कमरेड, हामीमा आत्मविश्वास मरेको छैन । वुहानको पढाइपछि देश फर्किएर भावि सन्ततिका लागि केही काम गरी गर्व हुने वातावरण सिर्जना गर्ने उत्कठ रहर छ ।

जय देश जय नेपाल ।

आशिष पौड्याल

सिन्धुपाल्चोक, बाह्रबिसे ८

हाल : विद्यार्थी, सिभिल इन्जिनियर । हाल उहान युनिभर्सिटी, चीन । 

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप