सानैमा उपचार पाएको भए अपाङ्ग हुने थिइनँ
ललितपुरको कुपन्डोलस्थित एक हस्तकला उद्योगमा लमजुङकी शारदा अधिकारी हातको इसाराले एकजना महिलासँग कुरा गर्दै थिइन् । श्रवणशक्ति नभएकी र बोल्न नसक्ने ती महिलाले बुनेको टोपी, पञ्जा लगायतका सामग्रीका बारेमा शारदा हातको इसाराले कुराकानी गरिरहेकी थिइन् ।
त्यसो त शारदा राम्रोसँग बोल्न र सुन्न सक्छिन् । तर उनलाई अरू मानिसजस्तो हिँड्न र भुइँमा बस्न भने समस्या हुन्छ । आफू बोल्न र सुन्न सक्ने भए पनि उनी बोल्न नसक्ने र श्रवणशक्ति नभएकाहरुको कुरा उनी राम्ररी बुझ्न सक्छिन् । उनीहरुसँगको लामो सङ्गतले शारदालाई इसाराबाट कुरा गर्न अभ्यस्त बनाएको हो ।
उक्त हस्तकला उद्योगमा क्वालिटी कन्ट्रोलरका रूपमा कार्यरत शारदा श्रवणशक्ति नभएका र बोल्न नसक्ने केही कर्मचारीका लागि मध्यस्थकर्ताको भूमिकासमेत निर्वाह गर्छिन् । उनीहरुलाई काममा खटाउने, उनीहरुले गरेको कामका बारेमा सुझाव तथा टिप्पणी गर्नेदेखि लिएर अन्य कर्मचारी तथा व्यवस्थापन पक्ष र फरक क्षमता भएका कर्मचारीका बीच संवादको माध्यम हुन्छिन् शारदा । हस्तकलाका सामान बुन्ने, सिलाउने काम गर्दै आएका श्रवण शक्ति नभएका तथा आवाज निकाल्न नसक्ने ६ जना महिलाका कुरा सुनिदिने, कुरा बुझाउने काम उनी नै गर्छिन् ।
शारीरिक रूपमा सबल हुँदा पनि आत्मविश्वास गुमाएर नैराश्यमा डुब्नेहरुका लागि लमजुङको दुराडाँडामा जन्मिएकी शारदा अधिकारी प्रेरणाकी स्रोत बनेकी छन् ।
सामान्य किसान परिवारमा जन्मिएकी शारदा हस्तकला उद्योगमा क्वालिटी कन्ट्रोलरको रूपमा काम गर्ने सिलसिलामा अनेक बाधा व्यवधान पन्छाउनु परेको थियो । उनले क्वालिटी मेन्टेन गरेका नेपाली हस्तकलाका सामग्री विश्वका १२ वटा राष्ट्रमा पुग्ने गरेको छ ।
पहिला बेवास्ता गर्नेले अहिले वास्ता गर्छन्
शारदा सामान्य मानिसझैँ हिँडडुल गर्न नसक्दा परिवार चिन्तित थिए । बाल्यकालदेखि नै सामान्य रूपमा हिँड्डुल गर्न उनलाई समस्या थियो । समयमै उपचार नहुँदा अध्ययनका लागि पनि सहज भएन ।
त्यस समयमा घरका सदस्यहरुले सहयोग गरिदिएको भए उपचारमार्फत सहजरूपमा हिँड्न र बस्न सक्ने हुने कुरा पछि मात्र उनले चिकित्सकमार्फत थाहा पाइन् ।
आफू अशक्त भएको अवस्थामा आफ्ना मामा भगवान जस्तै बनेर आएको र मामाकै कारण काठमाडौँ आउन सफल भएको उनले बताइन् । मामाले गर्दा सीप सिकेर आत्मनिर्भर भएको उनको भनाइ छ ।
तीन दाजुभाइ र तीन दिदीबहिनीमध्ये सीप सिकेर जागिरे बन्ने उनी मात्र हुन् । दुराडाँडामै अन्य दाजुभाइहरुले कृषि पेसा गर्दै आएको उनले बताइन् । ‘विगतमा बेवास्ता गर्ने आफन्त तथा समाजले प्रशंसा गर्दा खुुुसी लाग्छ,’ उनी भन्छिन्, ‘केही गर्न सक्दिनँ कि भनेर परिवारले चिन्ता मात्रै लिन्थ्यो ।’
पैसा माग्छन्, सीप सिक्दैनन्
खुट्टाको उपचार गर्नका लागि अस्पतालमा हुँदा शारदालाई सहयोग गर्नका लागि दुई जना जापानिज आएको उनले सुनाइन् । ‘जापानिज नागरिकले तिमीलाई के सहयोग चाहिन्छ भनेर सोधे,’ उनले भनिन्, ‘मैले काम चाहियो भन्दा उनीहरु अचम्मित भए ।’
जापानिज नागरिकले त्यो समयमा भनेको कुरा सम्झँदै उनले भनिन्, ‘अशक्त नेपालीलाई के सहयोग चाहियो भन्दा पैसा भन्छन्, तिमीले त काम चाहियो भन्यौ !’
उनीहरुको सहयोगमा विगत १९ वर्षदेखि हस्तकलाको सामग्री बनाउने र क्वालिटी कन्ट्रोलरका रूपमा काम पाएको शारदाले बताइन् । उनी बिहान १० बजेदेखि ५ बजेसम्म कार्यालयमा काम गर्छिन् । फुर्सद भएसम्म बिहान–बेलुका घरमा समेत नेपाली ब्रान्डका विभिन्न लुगा तथा सामग्री बनाउने गरेको उनी बताउँछिन् ।
फरक क्षमता भएकाहरुलाई सहयोग गर्ने नाममा पैसा दिए उनीहरुलाई जीवनयापन गर्नका लागि सहज नहुने शारदाको भनाइ छ । शारीरिकरूपमा अशक्त भएका नागरिकलाई शिक्षा तथा सीप सिक्ने वातावरण सिर्जना गरिदिए परिवार तथा समाजको भार बन्नु नपर्ने र आत्मनिर्भर हुन सकिने उनले बताइन् ।
श्रवणशक्ति र आवाज नभएकाहरुको अभिभावक
शारदा क्वालिटी कन्ट्रोलरका रूपमा काम गर्ने एक कर्मचारी मात्रै नभएर त्यहाँ काम गर्ने अन्य ६ जना फरक क्षमता भएका महिलाहरुको अभिभावकसमेत हुन् भन्दा फरक पर्दैन । श्रवण शक्ति नभएका, बोल्न नसक्ने महिलाहरुको सुख-दुःख बिसाउने चौतारी शारदा नै बन्ने गरेकी छन् ।
शारदालाई सुरु सुरुमा उनीहरुको कुरा बुझ्न गाह्रो पथ्र्यो । सँगसँगै काम गर्ने क्रममा उनीहरुको इसारा शैली बुझ्दै जान थालिन् ।
शारदाले काम गर्ने कार्यालयमा विभिन्न विभागमा करिब ४७ जना कर्मचारी छन् । तर श्रवणशक्ति नभएका र बोल्न नसक्ने महिलाहरुका लागि शारदा नै अभिभावक र प्रेरणाको स्रोत बनेकी छन् । घर, कार्यालय अनि सार्वजनिक यातयातमा यात्रा गर्दा होस् वा जुनसुकै परिस्थितिमा अप्ठ्यारो आइपर्यो भने उनीहरु शारदालाई नै सुनाउँछन् । कार्यालयमा गर्नुपर्ने काम, कर्तव्य उनीहरुलाई बुझाउने र उनीहरुको कुरा कार्यालयमा राखिदिने भूमिका पनि शारदाले नै निर्वाह गर्छिन् ।
कहीलेकहीँ भने अप्ठ्यारो परिस्थिति आइपर्ने शारदा बताउँछिन् । ‘कार्यालयका केही निर्णयलाई उनीहरु स्वीकार गर्दैनन्,’ शारदा भन्छिन्, ‘कार्यालयबाट उनीहरुलाई कुरा बुझाऊ भन्नुहुन्छ तर आफूलाई भनेजस्तो भएन भने उनीहरु स्वीकार्न मान्दैनन्, आफ्नो कुरा कार्यालयमा भनिदिएन भनेर रिसाउँछन् ।’
यसरी कार्यालय र उनीहरुको बीचमा आफू चेपुवामा पर्दा गाह्रो हुने शारदा बताउँछिन् । उनी भन्छिन्, ‘अघिपछि एउटै परिवारजस्तै भएर काम गर्छौँ ।’
फरक क्षमता भएका कर्मचारीहरुले घर–परिवारको खबर बुझ्नका लागि शारदालाई नै फोनमार्फत सोध्न लगाउँछन् । घरका सदस्यहरुले आफ्नो कुरा नबुझेको भन्दै उनीहरु शारदालाई नै गुनासो गर्छन् र बुझाइदिन आग्रह गर्छन् । कार्यालयमा उनीहरुको बोल्ने तरिका धेरै जनाले नबुझ्ने उनको भनाइ छ ।
फरक क्षमता भएकाहरुलाई पढ्ने तथा सीप सिकाइदिने वातावरण सिर्जना गर्नुपर्ने शारदा बताउँछिन् । परिवार तथा समाजले अपाङ्गता भएका मानिसलाई ‘विचरा’ भन्नुभन्दा पनि सीप सिकाउने र आत्मनिर्भर हुने बाटो देखाउनुपर्ने उनको भनाइ छ ।
‘फरक क्षमता भएकाहरु शारीरिक रूपमा सबल नहोलान्,’ उनले भनिन्, ‘मानसिक रूपमा सबल भए पनि कमजोर बनाइन्छन् ।’
सीप सिकेको खण्डमा उनीहरु पनि सामान्य मानिसजस्तै काम गर्न सक्ने र आत्मनिर्भर हुन सक्ने शारदा बताउँछिन् ।