शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

चार दिनपछि आईजीपी खनालको अवकास : एआईजीको लागि चर्को भीडन्त !

भावी आईजीपीमा ठाकुर ज्ञवालीको प्रबल सम्भावना
शुक्रबार, २४ माघ २०७६, ११ : ११
शुक्रबार, २४ माघ २०७६

काठमाडौँ । नेपाल प्रहरीका आईजीपी सर्वेन्द्र खनालले माघ २८ गते ३० वर्षे सेवा अवधीका कारण नियमित अवकाश पाउँदैछन् । आईजीपी खनालसँगै ३ एआईजी र १८ जना डीआईजीले पनि एकैपटक अवकाश पाउँदैछन् । खनाल नेपाल प्रहरीका २६ औं आईजीपी हुन् ।

खनालसँगै एआईजी पुष्कर कार्की, धिरु बस्न्यात र ठूले राई अवकाशमा जाँदैछन् ।

यस्तै अवकाश पाउने डीआईहरुजीमा राजेन्द्रमान श्रेष्ठ, मनोज न्यौपाने, महेन्द्र पोखरेल, नारायणसिंह खड्का, सुरेशबिक्रम शाह, महेश बिक्रम शाह, पिताम्बर अधिकारी, केदार रिजाल, शेरबहादुर बस्नेत, दिनेश अमात्य, कमल जिटी, सुरज केसी, रामप्रसाद श्रेष्ठ, पूर्णचन्द्र जोशी, विकास श्रेष्ठ, हरिभक्त जोशी, विनोद शर्मा घिमिरे, दानसिंह बोहोरा छन् ।

यता एसएसपी दिलिपसिंह बस्नेतले पनि सोही दिन अवकास पाउँदैछन् । आईजीपी खनालसँगै सबै २९ माघ २०४६ मा प्रहरी निरीक्षकबाट प्रहरी सेवामा प्रवेश गरेका थिए । एकैदिन सेवा प्रवेश गरेकाले उनीहरू सबै एकदिन अवकाश पाउन लागेका हुन् ।

चार दिनपछि अवकाशमा जान लागेका आईजीपी खनाल विदा बसेका छैनन् । सामान्यतया सुरक्षा फौजको प्रमुख अवकाश हुुनुभन्दा एक महिनाअघि बिदा बसेर भावी नेतृत्वकर्तालाई कायममुकायम दिने प्रचलन हुन्छ । तर, सरकारले नेपाल प्रहरीमा नयाँ आईजीपीको नाम तय नगर्दा खनाल बिदा नबसेका हुन् ।

नेतृत्व विकास प्रणाली नहुँदा नेपाल प्रहरीमा फेरि डीआईजीबाटै आईजीपीमा बढुवा गरिने भएको छ । यसअघि दुईपटक एआईजीको अनुभव नभई २ जनालाई आईजीपी बनाउँदा समस्या देखिएको जनाउँदै फेरि पनि उही प्रक्रिया दोहोरिँदा संगठन कमजोर हुने भन्दै प्रहरी अधिकारीले चिन्ता जनाएका छन् ।

हालका आईजीपी खनाल पनि डीआईजीबाट सीधै आईजीपीमा बढुवा भएका हुन् । त्यसअघिका प्रकाश अर्याल एआईजी नभई डीआईजीबाट आईजीपी भएका हुन् । यसरी एआईजीको अनुभव नै नभई प्रहरी नेतृत्व सम्हाल्दा संगठनमा नकारात्मक असर देखिन थालेको प्रहरी अधिकारी बताउँछन् ।

डीआईजीबाटै आईजीपी नियुक्त गर्दा डीआईजीमध्ये जेष्ठता, कार्यकुशलता, कार्यक्षमता, उत्तरदायित्व बहन गर्नसक्ने, नेतृत्व प्रदान गर्न सक्ने, आफूभन्दा मुनिको प्रहरीलाई प्रोत्साहन÷परिचालन गर्नसक्ने हुनुपर्ने विषयलाई आधार मानिएको छ । तर, पछिल्लो समय सरकारले प्रायः प्रहरी प्रमुख आफूअनुकुल व्यक्ति नियुक्त गर्दै आएको छ ।

खनालको अवकाशसँगै २७ औं प्रहरी प्रमुखका लागि पहिलाको जस्तो दौडधुप नरहेको प्रहरी हेडक्वार्टर स्रोतको भनाइ छ । कसले गर्लान् त झण्डै ८० हजार प्रहरीको नेतृत्व ? खनालकै वैकल्पिक टोलीका रुपमा भर्ना भएका ठाकुर ज्ञवाली भावी प्रहरी प्रमुखको प्रवल दाबेदार मानिएका छन् । हाल ज्ञवाली प्रदेश १ को प्रहरी प्रमुख हुन् ।

ठाकुर ज्ञवाली

आईजीपीको दाबेदारका रूपमा डीआईजी ज्ञवालीको सम्भावना बढि देखिएको हो । ८ डीआईजीमध्ये सबैभन्दा ज्येष्ठ र बरिष्ठ ज्ञवाली नै मानिन्छन् । तर, कसले बाजी मार्ला यसै भन्न सक्ने अवस्था छैन । विवादरहित, इमान्दार संगठनप्रति बफादार भएकै कारणले पनि ज्ञवालीलाई भावी आईजीपीका रुपमा हेरिएको छ ।

डीआईजी बढुवामा ज्ञवाली भन्दा पछाडि परेका अर्का दावेदारका रुपमा रहेका विगतमा राजनीतिक हिसावले कांग्रेससँग निकट भई बेला–बेला विवादमा परेका तारणी लम्साल पनि प्रहरी संगठनको नेतृत्व हत्याउन शक्ति केन्द्र धाइरहेका छन् । लम्साल दोस्रो नम्बरमा रहेका छन् ।

यता आईजीपीको दौडमा सूर्य उपाध्याय भएपनि सम्भावना न्यून रहेको बताइन्छ । ज्ञवाली, लम्साल र उपाध्याय २५ असार ०४७ मा नेपाल प्रहरीमा भर्ना भएका हुन् । तीनमध्ये एक आईजीपी भएमा ३० वर्षे सेवा अवधिका कारण २०७७ असार २४ मा सेवानिवृत हुनेछन् ।

डीआईजीहरू शैलेस थापा क्षत्री, हरि पाल, निरजबहादुर शाही र प्रद्युम्न कार्की र विश्वराज पोखरेल जुनियर भएकाले २७ औं आईजीपीको प्रतिप्रर्धाको लागि उनीहरूको नाम चर्चामा छैन् ।

एआईजीको लागि चर्को भीडन्त !

खनालसँगै तीन एआईजीले अवकाश पाएसँगै रिक्त रहेको एआईजीको लागि चर्को भीडन्त हुने देखिएको छ । ज्ञवालीलाई आईजीपी नियुक्त गरिए उनीबाहेक तीनजना एआईजीको लागि दाबेदार हुन्छन् । एक जना आईजीपी भएपछि ज्ञवालीकै ब्याच दुई जना एआईजीका मुख्य दाबेदार हुनेछन् ।

डीआईजी तारिणी लम्साल र सुर्यप्रसाद उपाध्यायसहित अन्य डीआईजीहरुबीच रस्साकस्सी हुनेछ  । बाँकी एक एआईजीको लागि चर्को भीडन्त हुनेछ । एआईजीको लागि प्रहरी केन्द्रीय प्रवक्ता शैलेश थापा क्षत्री, सीआईबी प्रमुख निरज शाही, प्रदेश २ प्रहरी प्रमुख प्रधुम्न कार्की र विशेष ब्यूरो प्रमुख हरि पाल चर्को लबिङमा लागेको बताइन्छ ।

यता हालका महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख विश्वराज पोखरेलले पनि एआईजीको लागि दावी गरिरहेका छन् । पोखरेल ८ डीआईमध्ये सबैभन्दा पछि बढुवा भएका हुन् । पोखरेल २७ औं आईजीपीपछिका २८ औं आईजीपीका प्रबल दाबेदार हुन् ।

यसरी चयन गर्छ हुन्छन् आईजीपी

प्रहरी नियमावलीको परिच्छेद ४ को बढुवासम्बनधी व्यवस्थाको दफा ४१ मा उल्लेख भएअनुसार प्रहरी महानिरीक्षक अर्थात आईजीपी चयन हुने व्यवस्था छ ।

जसमा उल्लेख भएअनुसार, ‘प्रहरी महानिरीक्षक पदमा बढुवा गर्दा प्रहरी अतिरिक्त महानिरीक्षकमध्येबाट र उनीहरू नभएको अवस्थामा प्रहरी नायब महानिरीक्षकमध्येबाट जेष्ठता, कार्यकुशलता, कार्यक्षमता, उत्तरदायित्व बहन गर्न सक्ने क्षमता, नेतृत्व प्रदान गर्न सक्ने कुशलता तथा आफूभन्दा मुनिको प्रहरीलाई प्रोत्साहन र परिचालन गर्न सक्ने सामथ्र्यको आधारमा नेपाल सरकारले उपयुक्त देखेको उम्मेदवारलाई प्रहरी महानिरीक्षक पदमा बढुवा गर्नेछ ।’

यद्यपी नियमावलीको अन्तमा यो पनि उल्लेख छ ‘नेपाल सरकारले उपयुक्त देखेको उम्मेदवारलाई प्रहरी महानिरीक्षक पदमा बढुवा गर्नेछ ।’ ८ डीआइजीमध्ये जो कोहीलाई सरकारले आईजीपी बनाउनसक्ने अवस्था रहन्छ । तर सरकारका लागि ज्ञवाली नै उपयुक्त पात्र रहेको बुझिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप