सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय

आकर्षक पर्यटकीय गन्तव्यः सय थुम्का शैलुङ

बिहीबार, २३ माघ २०७६, १८ : २४
बिहीबार, २३ माघ २०७६

–प्रभु जिरेल
दोलखा । तामाङ भाषाको शब्द ‘शैलुङ’को नेपाली अर्थ हुन्छ, सय थुम्का । धानको थुप्रो जस्ता दर्जनौं थुम्का । कुनै अग्ला त कुनै होचा । जुन थुम्कामा चढेर हेरे पनि सेताम्मे हिमाल देखिन्छन् । हिमाल पनि कति हुन् कति १ पश्चिमको अन्नपूर्ण, मनास्लु,लमजुङदेखि गणेश हिमाल,लाङटाङ, गौरीशंकर,सगरमाथा र नुम्बुरसम्म दर्जनौं हिमालहरू । 

दोलखा र रामेछापको सिमानामा पर्ने महाभारतअन्तर्गतको सबैभन्दा अग्लो शैलुङ डाँडा पर्याटकको रोजाइको केन्द्र बन्दै गएको छ । पर्यटन वर्षको शुरुआत भएसँगै दोलखाको शैलुङ गाउँपालिका र रामेछापको दोरम्भ गाउँपालिकाको सिमानामा पर्ने शैलुङ डाँडामा आन्तरिक तथा बाह्य पर्यटकको भीड लाग्ने गरेको छ । केही समयअघिसम्म ओझेलमा परेको शैलुङ पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको नयाँ आकर्षक पर्याटकीय गन्तव्यका रुपमा विकास हुँदै गएको छ । 

समुन्द्री सतहदेखि ३३ सय मिटर उचाइमा रहेको शैलुङ डाँडा हिउँले सेताम्य बनेपछि पर्यटकको चहलपहल बढ्ने गरेको शैलुङका वडा अध्यक्ष रामेश्वर उप्रेतीले बताए । तीन हजार ३०० मिटरको उचाइमा एउटा ठूलो मैदानमा १०० फरकफरक आकृतिका थुम्का भएको शैलुङले त्यहाँ पुग्ने जोकोही पर्यटकलाई लोभ्याउने गरेको छ । हिउँले सेताम्य बन्ने गरेको शैलुङ डाँडामा प्राकृतिक शौन्दर्यको अवलोकन गरी मनोरञ्जन लिनुका साथै हिउँमा रमाउने पर्यटकको समेत उत्तिकै चहलपहल बढ्दै गएको छ । 

सय टाकुरा रहेको शैलुङमा हिउँ पर्नासाथ साहसिक खेल स्की खेल्नका लागि पर्यटकहरु आउने गरेको छ । नेपाल माउन्टेन एकेडेमीले शैलुङमा स्की खेलका प्रशिक्षार्थीलाई प्रशिक्षणमा ल्याउने गरेको र शैलुङमा स्की सञ्चालन र प्रशिक्षण हुन सक्ने सम्भाव्यता अध्ययनसमेत भइसकेको एकेडेमीका प्रशिक्षक छिरिङ शेर्पाले बताए । पर्यटकलाई लक्षित गरी शैलुङ गाउँपालिकाले शैलुङ विकासका लागि गुरुयोजना निर्माण गरी धमाधम पूर्वाधार विकासको काम गरिरहेको शैलुङ गाउँपालिकाका अध्यक्ष भरत दुलालले बताए ।

सङ्घीय राजधानी काठमाडौँबाट मुडे र चरिकोट हुँदै सिधै शैलुङ पुग्न सकिन्छ । काठमाडौँबाट १२५ किलोमिटरको दूरीमा मुढे बजार हुँदै शैलुङको बेसक्याम्प भनिने कालापानीसम्म यातायातमार्फत पुग्न सकिन्छ भने कलापानीबाट केही समय पैदलयात्रा गर्दै शैलुङ पुग्न सकिन्छ । ३३ सय मिटर अग्लो शैलुङ डाँडाबाट शैलुङको सय थुम्का, गौरीशङ्कर हिमाल, रोल्वालिंग हिमशृङ्खला साथै दोलखा रामेछाप र सिन्धुपाल्चोको विभिन्न रमणीय क्षेत्रको अवलोकन गर्न सकिन्छ । 

दश वर्ग किलोमिटरमा फैलेको शैलुङमा एक दर्जन सामुदायिक वन छन् । त्यहाँ १०८ भन्दा बढी किसिमका जडीबुटी पाइन्छ । साथमा किसिम किसिमका जनावर र चराचुरुङ्गी पनि । किंवदन्ती अनुसार तत्कालीन बौद्ध गुरुले मुठीमुठी चामल राखेका थिए । त्यही मुठी बढेर थुम्का बनेको रे । डाँडामा चैत्य, गुरु पद्मसंभवका पाइला र शैलुङेश्वरको मन्दिर छ । त्यसैले हिन्दू र बौद्धमार्गीको साझा तीर्थस्थल बनेको छ शैलुङ ।  

डाँडामा तीन वटा ठूला ढुङ्गा छन् । बाघ, गाई र गंगटो आकारका । तिनलाई भक्तजन पुज्छन् । त्यति मात्र होइन, बौद्ध मन्त्र लेखिएका झण्डा अर्थात् धज्र्यू र लुङदारले डाँडा रंगीन छन् । पर्यटन अभियन्ता दाबा सङबु शेर्पाका अनुसार त्यहाँका चैत्यमा बत्ती बाल्दा काठमाडौंको स्वयम्भूनाथ र बौद्धनाथमै बाले सरह पुण्य मिल्छ । डाँडामा दुई पटक ठूलो मेला लाग्छ ।

जनै पूर्णिमा अघि बौद्धमार्गीको भीड लाग्छ भने बाला चर्तुदशीमा हिन्दूको । पितृको सम्झनामा बत्ती बालेर बौद्धमार्गी मन्त्र जप्छन् । हिन्दू सत्बीज छरेर पितृ तार्छन । त्यसैगरी कुशे औंशी, जनै पूर्णिमा र ल्होसारमा पनि यहाँ मेला यहाँ लाग्छ ।

डाँडाको एउटा ओढारमा बसेका छन् शैलुङेश्वर महादेव । महादेवको दर्शन गरेमा मनोकांक्षा पूरा हुने जनविश्वास छ । मन्दिर नजिकै गोदावरी र धर्म नामका दुइटा गुफा छन् । गोदावरी गुफामा हरेक १२ वर्षमा मेला लाग्छ । त्यहाँ दूध कुण्ड छ । मेला लाग्दा मात्र कुण्डबाट दूध झर्ने शेर्पाको भनाइ छ । 

सरकारले घोषणा गरेको नेपालको एक सय वटा प्रमुख पर्यटकीय गन्तव्यमा परेको स्थान मध्यको एक हो, शैलुङ । यो प्रकृतिको सुन्दर सृजना मात्र होइन, हिन्दू र बौद्धमार्गीको साझा तीर्थ पनि । त्यसैले यसको एकीकृत विकासका लागि सम्बन्धीत सबै निकाय लाग्नुपर्दछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप