शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सुदूरपश्चिम प्रदेशमा जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्र बन्दै

बिहीबार, २३ माघ २०७६, १६ : ५८
बिहीबार, २३ माघ २०७६

कैलाली । सुदूरपश्चिम प्रदेशमा जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्र स्थापना हुने भएको छ ।

सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले बिहीबार पत्रकार सम्मेलन गरी प्रशोधन केन्द्र स्थापनासम्बन्धी जानकारी दिएको हो ।

सुदूरपश्चिम प्रदेशमा जडीबुटी उत्पादन, संकलन, भण्डारण र प्रशोधन गरी स्थानीय समुदायको जीविकोर्पाजन, आय आर्जन र रोजगारीका अवसर सिर्जना गर्न प्रशोधन केन्द्रले टेवा पु¥याउने मन्त्रालयका निमित्त सचिव जनक पाध्यायले बताए । 

प्रशोधन केन्द्र स्थापनाका लागि सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव दिपक कुमार खराल र नेपाल सरकारबाट स्थापित र सञ्चालित जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडका महाप्रबन्धक ज्ञानेश्वर कार्कीबीच हस्ताक्षर भइसकेको उनले वताए ।

चालु आर्थिक वर्षको चैत महिनाभित्र जडीबुटी कम्पनी स्थापना गरी काम सुरु गर्नेसमेत दुवै पक्षबीच सहमति भएको मन्त्रालयले जनाएको छ । 

प्रशोधन केन्द्र स्थापनाका लागि १० करोड पूँजी व्यवस्थापन गरिएको पाध्यायले जानकारी दिए । सुदूरपश्चिम प्रदेशमा जडीबुटीको भण्डार भए पनि राज्य र यहाँका जनताले लाभ लिन नसकेको बताउँदै मन्त्रालयका सुचना अधिकारी भरत श्रेष्ठले प्रशोधन केन्द्र स्थापनापछि पहाड र तराइमा पाइने जडीबुटी व्यवस्थापन हुनाको साथै रोजगारी र राजश्वमा समेत टेवा पुग्ने विश्वास व्यक्त गरे ।

उनले प्रशोधन केन्द्र कञ्चनपुरमा स्थापना गरिने र विनियम आइसकेपछि प्रशोधन केन्द्रको नामाकरण गरिने बताए । प्रशोधन केन्द्रका लागि प्रदेश सरकारको ५१ प्रतिशत लगानी हुने बाँकी रकम कम्पनी तथा सर्वसाधारणका लागि खुला गरिने उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप