शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

निजगढ विमानस्थलको काम अघि बढ्यो

बुधबार, २२ माघ २०७६, १५ : ३७
बुधबार, २२ माघ २०७६

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको निजगढ विमानस्थलको कामले गति लिएको संस्कृति, पर्यटन तथा नागरिक उड्नमन्त्री योगेश भट्टराईले बताएका छन् । 

बुधबार राजधानीमा आयोजित देशभर सञ्चालित विमानस्थलहरुको अवस्था र कार्य प्रगतिबारे जानकारी दिन आयोजित कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले यस्तो बताएका हुन् । 

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भट्टराईले दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा निर्माण गरिँदै गरेको निजगढ विमानस्थल निर्माण पश्चात नेपालमा वार्षिक एक करोड पर्यटक भित्रिने ठोकुवा समेत गरेका छन् । 

‘हामीले अघि सारेको निजगढ विमानस्थल देशै गौरवको आयोजना हो । यसलाई विकासको गेम चेन्जरकै रुपमा हेरिएको छ,’ मन्त्री भट्टराईले भने, ‘यो विमानस्थल निर्माण पश्चात देशले ठूलो उपलब्धि हासिल गर्नेछ । एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन विमानस्थलको चापलाई विकल्प दिने यो विमानस्थल निर्माण पश्चात वार्षिक एक करोड पर्यटक नेपाल भित्रिने छन् ।’

भट्टराईका अनुसार अहिले निजगढ विमानस्थलको विवाद सल्टिएको छ । अदालतमा विचाराधीन अवस्थामा रहेको यस विमानस्थलको मुद्दामा अहिले वन तथा वातावरण मन्त्रालयले सम्बन्धित विभागलाई विमानस्थल भित्रपर्ने रुखहरुको गणना गर्न पत्र पठाइसकेको छ । निजगढ विमानस्थलको १९ सय हेक्टर क्षेत्रफलभित्र पर्ने रुख बोटविरुवाहरुको एकिन भएपछि काटिने र काम अघि बढाइने छ । यसमा तीनै तहको सरकारको आपसी समन्वयन र सहकार्य समेत रहने मन्त्री भट्टराईले बताए । 

अहिले एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल हुँदा यसले अन्तर्राष्ट्रि उडानमा चाप परिरहेको र यसले पर्यटनमा आगमनमा समेत समस्या परिरहेको मन्त्री भट्टराईको भनाई छ । 

यसै कार्यक्रम मार्फत मन्त्री भट्टराईले अब देशका ५४ वटै विमानस्थलहरुको द्रुत गतिमा स्तरोन्नति गरिने र सबै विमानस्थलहरुलाई स्वावलम्बी बनाइने बताए । हिमाली तथा पहाडी क्षेत्रका विमानस्थलहरुले कम्तिमा आफ्नो खर्च धान्न पर्ने र तराई क्षेत्रका विमानस्थलहरुले नाफा कमाउनु पर्ने उनको भनाइ छ । 

कार्यक्रम मार्फत हाल देशभर सञ्चालित ५४ विमानस्थलहरुको कार्यप्रगति प्रस्तुत गरिएको छ । ५४ विमानस्थलहरुको स्तरोन्नतिका लागि सरकारले ठूलो बजेट खर्च गरेको र अझ सुधार गर्न बाँकी रहको बताइएको छ । 

सरकारले अन्तर्राष्ट्रिय विमानस्थल तर्फ ३३ अर्बको जग्गा अधिग्रहण सहित ५० अर्बको इन्फास्टक्चर खर्च गरी कुल ८३ अर्ब खर्च गरेको र डोमेस्टिक(आन्तरिक) विमानस्थल तर्फ एक अर्ब रुपैयाँ जग्गा अधिग्रहणसहित ६ अर्ब इन्फास्टक्चरमा खर्च गरेको जनाएको छ । बाँकी विमानस्थलहरुको निर्माण तथा सुधारका लागि सरकारलाई २ खर्ब ५० अर्ब बजेट आवश्यक रहेका नागरिक उड्यन प्राधिकरणले बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप