शुक्रबार, ११ माघ २०८१
ताजा लोकप्रिय

राष्ट्रियसभाको भूमिकाबारे नकारात्मक टिप्पणी हुन लाग्यो: जितेन्द्रदेव

बुधबार, २२ माघ २०७६, १४ : २५
बुधबार, २२ माघ २०७६

काठमाडौं । राष्ट्रियसभा सदस्य जितेन्द्र नारायण देवले राष्ट्रियसभाको भूमिकाबारे नकारात्मक टिप्पणी हुने गरेको भन्दै असन्तुष्टी जनाएका छन् । राष्ट्रियसभाको बुधबारको बैठकको विशेष समयमा बोल्दै सांसद देवले चेतनशील नागरिक समेतले संविधानले राष्ट्रियसभाको काम कसरी परिभाषित गरिएको छ भन्ने बारेमा नबुझी राष्ट्रियसभाको बारेमा नकारात्मक भावना लिएर बसेको देखिएको गुनासो गरेका हुन् ।

उनले राष्ट्रियसभाको बारेमा रहेको भ्रमपूर्ण बुझाई हटाउन राष्ट्रियसभाले गरेको ऐतिहासिक कार्य ,संवैधानिक हैसियत र गरिमाबारे नेपाली जनतालाई बुझाउने गरि कार्यक्रम गर्न सभाध्यक्षको ध्यानाकर्षण गराए । राष्ट्रियसभाको संबैधानिक हैसियतको वास्तविकता नेपाली जनतामाझ जान नसकेका कारण राष्ट्रियसभाको महत्व कम आकलन हुने गरिएको भन्दै उनले महत्व झल्काउने कार्यक्रमको खाँचो औल्याएका हुन् । संविधानले अर्थ विधेयक प्रतिनिधिसभामा मात्रै पेश हुनुपर्ने बाहेक अन्य विषयमा संघीय संसदका दुई सदनलाई विभेद नगरेको र समान हैसियत प्रदान गरेको पनि उनले स्पष्ट पारे ।

संविधानले संघीय संसदका दुवै सदनलाई समान हैसियत, समान गरिमा र समान महत्व दिएको भएपनि राष्ट्रियसभाको संबैधानिक वास्तविकताबारे नेपाली जनतामाझ जान नसकेका कारण बुझाई फरक हुन गएको टिप्पणी उनले गरे । उनले राष्ट्रियसभाको महत्व बुझाउनका लागि सचिवालयले गर्नुपर्ने कार्य भन्दै ४ बुँदे सुझाव पनि दिए ।

उनले राष्ट्रियसभाले सघन रुपमा, राजनीतिक तह, समिति तह र सचिवालय तहमा नियमित रुपमा प्रेस मिट गरि गरिएका कामहरु सम्प्रेषण गर्न, राष्ट्रियसभाका सदस्यहरुलाई व्यक्तिगत र सामूहिक रुपमा जिम्मेवार बनाउने गरि नियमावलिमा संशोधन गर्न, समय समयमा विभिन्न प्रदेशमा राष्ट्रियसभाको संबैधानिक हैसियत काम र महत्वका बारेमा विचार गोष्ठी गर्न र राष्ट्रियसभाका समितिहरुको कामको पुनर्संरचना गरि सबै समितिलाई पर्याप्त काम उपलब्धि हुने गरि राष्ट्रियसभा नियमावलिमा संशोधन गर्न सुझाव दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप