शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कमिलाको दुध दिने ‘गाई’

बुधबार, २२ माघ २०७६, ०४ : २२
बुधबार, २२ माघ २०७६

 

बोटबिरुवाहरुमा एफिड्स (Aphids) नाम गरेको एकथरि कीरा पाइन्छ । यो कीरालाई विरुवाको जुम्रा पनि भन्ने गरिन्छ । किनभने, यो कीराले बोटबिरुवामा पौष्टिक पदार्थहरु पुर्‍याउने रस खाने गर्छ । त्यस्तो रस खाएर यसले आफ्नो शरीरको लागि आवश्यक पोषण लिने गर्छ । बढी भएको रस चाहिँ यसले चिनीको रुपमा शरीरबाट बाहिर फ्याँक्छ । त्यसरी फ्यालिएको रस महजस्तै गुलियो हुन्छ । त्यसैले त्यसलाई अंग्रजी भाषामा honeydew पनि भन्ने गरिन्छ ।

कुनै पनि बिरुवामा यस्ता कीराहरु रहेको कुरा एउटा कमिलाले मात्रै थाहा पायो भने पनि त्यसले आफ्नो पूरै समूहलाई खबर गरिहाल्छ । फलतः त्यो कीरा भएको विरुवामा कमिलाको पूरै बस्ती नै ओइरिन्छ । त्यसरी ओइरिएका कमिलाले त्यो एफिड्स कीराको पेटलाई आफ्नो एन्टेनाले विस्तारै उचाल्छ । त्यसरी उचाल्दा त्यो कीराले गुलियो रसलाई निकाल्छ अनि कमिलाले तुरुन्तै त्यसलाई चाटे्र सफाचट पारिदिन्छ । यो क्रम धेरैबेरसमम जारी रहन्छ ।

https://lh5.ggpht.com

जीव–जगत‍्मा आपसी निर्भरताको राम्रो उदाहरण कमिला र यो एफिडस् कीराबीचको सम्बन्धबाट देख्न सकिन्छ । किनभने, कमिलाले त्यो कीराले पैदा गर्नेे गुलियो रसमात्र खान्छ, तर कीरालाई भने रत्तिभर पनि हानी पुर्‍याउँदैन । बरु त्यो कीरालाई यसले शत्रुहरुबाट रक्षा गर्छ । त्यसैले यस एफिड्स कीरालाई कमिलाको दूध दिने गाई (ants milking cows) पनि भन्ने गरिन्छ ।

त्यसो त कमिलाले त्यस्तो गुलियो पदार्थ उत्पादन गर्ने एकथरिका कीरालाई आफ्नै गुँडमा पनि पालेको हुन्छ । असल किसानहरुले जसरी बडो जतन र स्याहार सुसारका साथ पशुहरु पाल्ने गर्छन्, त्यसरी नै कमिलाले पनि त्यस्ता कीरालाई पालेको हुन्छ । यसरी कमिलाले गुलियो पदार्थको लागि पाल्ने कीराहरुमा clavigeridae समूहका बिटल (beetles)  कीरा विशेष उल्लेखनीय छ ।

यो कीराको शरीरका विभिन्न अंगहरुबाट गुलियो पदार्थ निस्कन्छ,  जुन पदार्थलाई कमिलाले बडो स्वाद मानेर चाट्ने गर्छ । माथि पनि भनियो, कमिलाले कीरालाई अलिकति पनि नोक्सानी पुर्याउँदैन । बरु उल्टो कमिलाले यो कीराका बच्चाहरु स्याहार्ने र हुर्काउने, तिनलाई खानेकुराहरु खुवाउने काम गर्छ । कतिसम्म भने, कुनै पनि आपत आइलाग्यो भने, कमिलाले आफ्ना अण्डा वा लार्भाहरुभन्दा पनि पहिले यो कीरा र त्यसका बच्चाहरुलाई सुरक्षित ठाउँमा लुकाउँछ ।

यसरी कमिलाले पाल्ने बिटल कीराले राम्ररी आँखा देख्न सक्दैन र यसको मुख पनि राम्ररी विकसित भएको हुँदैन । यो बाँच्नको लागि पूर्ण रुपमा कमिलामाथि नै निर्भर रहेको हुन्छ । कतिसम्म भने, यदि कमिलाले मद्दत नगर्ने हो भने, यो किराले आफै खानेकुरासमेत खान सक्दैन ।

Title Photo: https://cdn.arstechnica.net

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप