बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

विमान बिक्रीमा नेपाल एयरलाइन्सलाई घुस दिएको एयरबसको स्वीकारोक्ति

मङ्गलबार, २१ माघ २०७६, १७ : ०६
मङ्गलबार, २१ माघ २०७६

काठमाडौँ । नेपाल एयरलाइन्सले विमान किन्दा एयरबससँग घुस लिएको पुष्टि भएको छ । विमान निर्माता कम्पनी एयरबसले आफ्नो विमान बिक्री गराउन गैरकानूनी तरिकाले विभिन्न देशको एयरलाइन्स कम्पनीका अधिकारीहरुलाई घुस दिएको जनाइएको छ । त्यसरी घुस दिएका जहाज कम्पनीहरुमा नेपाल एयरलाइन्सको नाम समेत जोडिएको छ ।

एयरबसले विश्वमा विमान बिक्रीको प्रतिस्पर्धामा आफूलाई अब्बल देखाउन त्यसरी गैरकानूनी रुपमा कमिसन दिने गरेको आरोप लागेपछि त्यसबारे छानविन गर्न एउटा स्वतन्त्र न्यायिक समिति गठन गरिएको थियो । सो समितिमा उड्डयन क्षेत्रसँग सम्बन्धित फ्रान्सेली, अमेरिकी र बेलायती नियामक निकायहरुको संलग्नता थियो ।

सो समितिले लामो अनुसन्धान गरेपछि एउटा रिपोर्ट दियो जसमा एयरबसले घुस दिएर विमान बिक्री गरेको निष्कर्ष निकालिएको थियो । त्यसरी कमिसन दिइएका कम्पनीहरुमा एभियन्का, एयर अरेबिया, कोरियन एयर, चाइना एयर र नेपाल एयरलाइन्स रहेको रिपोर्टमा उल्लेख गरिएको जनाइएको छ ।

त्यस्तो निष्कर्षपछि लण्डनको रोयल कोर्ड अफ जस्टिसले एयरबस निर्माता कम्पनी एरोबस ग्रुपलाई बिगो र जरिवाना समेत गरी ३.६ बिलियन युरो तिराउने फैसला गरेको छ । सो अदालतले एयरबसमाथि अनधिकृत घुसखोरी रोक्न नसकेको भन्दै त्यस्तो जरिवानाको फैसला सुनाइएको हो । उक्त रकम एयरबसले फ्रान्सका नियामक निकायलाई २.१ विलियन युरो, बेलायतको नियामकलाई ९८३ मिलियन युरो तथा अमेरिकाको नियामकलाई ५३० मिलियन युरो भुक्तानी गर्नुपर्नेछ । सो रकम बराबर जरिवाना तिर्ने विषयमा एयरबसले सहमति जनाइसकेको छ ।

एयरबसले घुस दिएको प्रकरणबारे छानबिन गर्न बनेको न्यायिक समितिले अनुसन्धानको क्रममा ३ करोड भन्दा बढी कागजातहरु माग गरिएको जनाइएको छ । त्यस क्रममा विश्वभर रहेका एयरबस र सम्बद्ध कम्पनीका अधिकारीहरुसँग सोधपुछ गरिएको समेत थियो । एयरबसले सन् २००८ देखि २०१५ सम्म त्यसरी गैरकानूनी रुपमा घुस दिएर आफ्नो विमान बिक्री गरेको थियो ।

‘घुसबारे ४ वर्ष पछि एउटा निष्कर्षमा पुगिएको छ जुन भ्रष्टाचार निवारणका लागि एउटा कोशेढुङ्गा हो’ अदालतको फैसलापछि लण्डन उच्च अदालतका वरिष्ठ न्यायाधीश भिक्टोरिया सार्पले भने । यो कदमलाई फ्रान्समा भएको भ्रष्टाचार निवारण सुधारको लागि ठूलो कदम भनिएको छ ।

नेपाल एयरलाइन्सले सन् २०१५ मा ए३२० मोडलका २ ओटा न्यारोबडी जहाज किनेको थियो । सो खरिद गर्दा नेपाल एयरलाइन्सका अधिकारीहरुलाई घुस दिनका लागि एयरबसले ३ लाख ४० हजार युरो छुट्याएको जनाइएको छ । सो खरिद गर्दा निगमको महाप्रबन्धकमा मदन खरेल थिए । उनी कार्यकारी अध्यक्ष भएर केही समय अघि मात्रै राजीनामा दिएर बाहिरिएका छन् ।

उक्त घुस प्रकरणबारे बुझ्दा नेपाल एयरलाइन्समा हाल कार्यबाहक रुपमा कार्यकारी प्रमुखको जिम्मेवारी सम्हालिरहेका गणेशबहादुर चन्द भने आफूहरुलाई यसबारे केही थाहा नहुने बताउँछन् ।

‘हामीलाई केही थाहा हुँदैन, त्यो त्यसबेला नेतृत्वमा रहेका अधिकारीहरुलाई नै थाहा होला,’ उनले भने ।

खरेल भने अहिले विदेशमा छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप