आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय

दिसामा रगत आयो ? कोलोरेक्टल क्यान्सर हुन सक्छ

एचआईभी पोजेटिभ भएका र समलिङ्गीहरूमा मलद्वार क्यान्सरको जोखिम बढी : डा. सत्यदीप
मङ्गलबार, २१ माघ २०७६, १५ : ३१
मङ्गलबार, २१ माघ २०७६

नेपालमा क्यान्सर रोगीको सङ्ख्या दिनदिनै बढ्दै गइरहेको छ । क्यान्सर रोग लागेपछि मरिहालिन्छ भन्ने त्रास भए पनि समयमै पहिचान भएको खण्डमा यो पूर्ण रूपमा निको हुने रोग हो । तर क्यान्सरले ठूलो रूप लिइसकेको अवस्था छ भने पनि उपचारबाट बिरामीलाई बचाउन भने सकिन्छ ।

कुनै पनि क्यान्सरको सुरुको अवस्था छ वा अलिअलि मात्रै फैलिएको अवस्था छ भने यसलाई पूर्ण रूपमा निको पार्न सकिने उपचार पद्धतिको विकास भइसकेको छ । पहिला क्यान्सरको उपचार पाउन असम्भवजस्तै भए पनि हाल हरेक अस्पतालमा यसको उपचार हुन थालेको छ । अझ भन्नुपर्दा क्यान्सरको उपचार सहज बन्दै गएको छ । क्यान्सरकै उपचारका लागि भनेर नेपालमा क्यान्सर अस्पतालहरू खोलिएका छन् । त्यसैले यो रोगबाट डराउनेभन्दा पनि सावधानी अपनाउन चिकित्सकहरू सुझाव दिन्छन् ।

सामान्यतया क्यान्सर हाम्रो शरीरको जुनसुकै अङ्गमा लाग्न सक्छ । तर पनि पुरुषहरूमा मुख, घाँटी, फोक्सो, कलेजो, प्रोस्टेट, कोलोरेक्टल आदिको क्यान्सर बढी देखिने गरेको छ भने महिलामा पाठेघरको मुख (सर्भिक), स्तन, थाइरोइड र कोलोरेक्टल आदिको क्यान्सर बढी देखिने गरेको छ ।

महिला पुरुष दुवैमा हुन सक्ने कोलोरेक्टल क्यान्सर विश्वमै बढ्दो क्रममा छ । विश्वमै क्यान्सरबाट मृत्यु हुनेहरूमा दोस्रो कारण बनेको छ कोलोरेक्टल क्यान्सर । मुख्य क्यान्सरहरूमा यो तेस्रो स्थानमा छ । 

कोलोरेक्टर क्यान्सर भन्नाले ठूलो आन्द्रा र मलाशयको क्यान्सर भन्ने बुझिन्छ । कोषहरूमा हुने असामान्य वृद्धिका कारणले लाग्ने यो रोगको समयमा उपचार भएन भने शरीरको अन्य भागमा पनि फैलँदै जान्छ ।

कोलोरेक्टल क्यान्सरबारे नेपाल क्यान्सर अस्पतालका कोलोरेक्टल कन्सल्टेन्ट तथा जनरल सर्जन डा. सत्यदीप भट्टाचार्यसँग रातोपाटीले गरेको कुराकानीको केही अंश विश्व क्यान्सर दिवसको अवसर पारेर प्रस्तुत गरेका छौँ ।

कोलोरेक्टल क्यान्सर

कोलोन (ठूलो आन्द्रा)को र रेक्टल (मलाशय)को क्यान्सरलाई कोलोरेक्टल क्यान्सर भनिन्छ । यो एकआपसमा सम्बन्धित हुन्छ । त्यसैले यसलाई कोलोरेक्टल क्यान्सर भनिएको हो ।

कोलोरेक्टम पाचन प्रणालीको अन्तिम भाग हो । जसमा ठूलो आन्द्रा, मलाशय र मलद्वार समावेश हुन्छन् । धेरैजसो कोलोरेक्टल क्यान्सर पोलिप भन्ने सानो मासु पलाएपछि नै सुरु हुन्छ । सामान्य अवस्थाका पोलिप विस्तारै ठूलो हुँदै जाने र क्यान्सरको रूप लिने गर्छन् । सामान्यतया कसैको ठूलो आन्द्रामा पोलिप देखिएको छ भने यसले ५ देखि १० वर्षपछि क्यान्सरको रूप लिन सक्छ, त्यसैले यसको समयमै उपचार भएमा पूर्ण रूपमा निको पार्न सकिन्छ ।

कहिलेकाहीँ ठूलो आन्द्रामा देखिएको ट्युमर बढ्दै जाँदा मलाशय हुँदै मलद्वारसम्म पनि पुग्नेगरेको पाइएको छ । कतिपय अवस्थामा त मलद्वारमा ट्युमर बढ्न थालेपछि मात्र बिरामी पायल्स भयो कि भन्दै अस्पताल जान्छन् ।

विश्वमै क्यान्सरबाट मृत्यु हुनेहरूमा दोस्रो कारण बनेको छ कोलोरेक्टल क्यान्सर । अहिले आएर नेपाल तथा भारतमा युवा पुस्तामा कोलोरेक्टल क्यान्सर अस्वाभाविक रूपमा बढ्दै गएको छ । यो राम्रो अवस्था होइन । यसरी युवाहरूमा कोलोरेक्टल क्यान्सर बढी देखिनुमा उनीहरूको जीवनशैली र खानपान नै मुख्य कारण देखिन्छ ।

कोलोरेक्टल क्यान्सरका लक्षणहरू

कोलोरेक्टल क्यान्सरको सुरुको अवस्थामा खासै लक्षण देखिँदैन । तर विस्तारै दिसामा रगत देखिने, दिसा गर्दा ¥याल जस्तो पदार्थ आउने, दिसा गर्न अप्ठ्यारो हुने अनि कहिलेकाहीँ दिसा गडबडी (कहिले कब्जियत हुने त कहिले पखाला लाग्ने) हुनु, घरी घरी दिसा लागिरहने जस्ता लक्षण देखिन्छ । पेट दुख्ने, पेटमा असहज महसुस हुने, कहिले पेट फुल्ने त कहिले दुख्ने जस्ता लक्षण देखिन्छ । बारम्बार दिसा लागिरहेको जस्तो पनि हुने, तौल घट्ने, थकाई लाग्ने जस्ता समस्या पनि देखिन थाल्छ ।

कतिलाई लक्षणहरू नै थाहा नहुन सक्छ । थोरै थोरै गरेर दिसामा रगत जाने गरे पनि कतिपयले थाहा पाउँदैनन् । यस्तोमा रगतको कमी भई एनिमिया हुने गरेको पनि पाइन्छ । माथिका यी लक्षणहरू देखिएमा चिकित्सकसँग परामर्श गर्नु उपयुक्त हुन्छ ।

कसैलाई पायल्सका कारणले पनि दिसामा रगत आउँछ । जे कारणले भए पनि दिसामा रगत देखिनासाथ सतर्क भने हुनुपर्छ । किनकि समयमै उपचार गर्न सके यसलाई निको पार्न सकिन्छ ।

कोलोरेक्टल क्यान्सरका कारण

कोलोरेक्टल क्यान्सर हुनुको प्रमुख कारण भनेको उमेर हो । तर अधिकांश कोलोरेक्टल क्यान्सर जीवनशैलीका कारण हुन्छ भने थोरै सङ्ख्यामा मात्र वंशाणुगत कारणले भएको देखिन्छ ।

खासगरी हरियो सागपात, पानी, फलफूलको मात्रा कम खानेहरूमा कोलोरेक्टल क्यान्सर बढी देखिएको छ । त्यसैगरी रातो मासु बढी खाने, शारीरिक व्यायाम नगर्ने, रेशादार खाना कम खाने, मोटोपना भएका र धूमपान तथा मद्यपान गर्ने व्यक्तिमा ठूलो आन्द्राको समस्या बढी देखिन्छ ।

मधुमेह हुँदा पनि कोलोरेक्टल क्यान्सरको खतरा बढी हुन्छ । कतिपय अवस्थामा ठूलो आन्द्रा र सानो आन्द्रामा हुने ‘इन्फ्लामेटरी बाउल डिजिज’ अर्थात् जलन गराउने पेटसम्बन्धी रोग भएका बिरामीमा पनि कोलोरेक्टल क्यान्सरको खतरा हुन्छ ।

५० वर्षभन्दा माथिका ९० प्रतिशत मानिसमा यो क्यान्सरको खतरा बढी हुन्छ । त्यसैले ५० वर्ष माथिका व्यक्तिहरूले रेगुलर स्क्रिनिङ (रोगको लक्षण नदेखिँदै गरिने जाँच) गरिरहनुपर्छ । कोलोरेक्टल क्यान्सर उमेर बढेसँगै हुने भए पनि युवा पुस्तामा पनि देखिन थालेको छ ।

सामान्य लक्षण देखिनासाथ जाँच गराउने र उपचार थालिहाल्ने हो भने पूर्ण रूपमा निको भएको पाइन्छ । सुरुको अवस्थामा उपचार थाल्दा ९० प्रतिशत बिरामी पूर्णरूपमा निको भएको तथ्याङ्क छ । त्यसैगरी क्यान्सर अलि बढेको अवस्थामा छ भने पनि ७० प्रतिशत बिरामी पूर्णरूपमा निको भएको तथ्याङ्क छ । समयमै उपचार गराउने हो भने यो निको हुन्छ । तर क्यान्सर शरीरका अन्य भागमा पनि फैलिइसकेको अवस्था छ भने चाहिँ १६ प्रतिशत जतिको मात्र उपचार सफल भएको तथ्याङ्क छ ।

तर क्यान्सर फैलिइसकेको अवस्था छ भने पनि बिरामीलाई लामो समय बचाउन सकिन्छ । यस्तो अवस्थामा बिरामीको जीवनको महत्त्वपूर्ण समयलाई कसरी राम्रो बनाउने भनेर उपचार गरिन्छ । यसले धेरै बिरामी लामो समयसम्म हाँसीखुसी बाँच्न सफल भएको उदाहरणहरू छन् ।

यसरी कम गर्न सकिन्छ कोलोरेक्टल क्यान्सरको जोखिम

कोलोरेक्टल क्यान्सरको जोखिमलाई कम गर्ने मुख्य उपाय भनेको स्क्रिनिङ कोलोनोस्कोपी हो । स्क्रिनिङ कोलोनोस्कोपीले कोलोरेक्टल क्यान्सरको जोखिम कम गर्न मद्दत गर्छ । स्क्रिनिङ भन्नाले कुनै पनि लक्षण देखिएको छैन तर रोग पत्ता लगाउन वा रोगको जोखिम भएका व्यक्तिहरूको पहिचानका लागि गरिने जाँच हो ।

कोलोनोस्कोपी भनेको ठूलो आन्द्रामा पोलिप पलाएको छ कि छैन भनेर मलाशयबाट ठूलो आन्द्रामा क्यामेरा जडित पाइप पठाएर हेरिने पद्धति हो । यदि पोलिप छ भने तुरुन्तै काटेर फालिन्छ र क्यान्सरको जोखिम कम हुन्छ । पोलिप काटेर फालिसकेको भए पनि फेरि पलाउन सक्ने भएकाले निरन्तर चिकित्सकको सम्पर्कमा भने बिरामी रहनुपर्छ ।

विशेष गरेर ५० वर्षमाथिका मानिसलाई प्रत्येक १० वर्षमा स्क्रिनिङ गर्नु राम्रो हो । विकसित देशमा नागरिक स्वयं ५० वर्षको उमेरपछि स्क्रिनिङका लागि जाने गरे पनि नेपालमा यसको अभ्यास भएको छैन । नेपालमा रोगका लक्षण देखिएपछि अथवा रोगले थलिएपछि मात्रै अस्पताल जाने चलन छ ।

कोलोरेक्टल क्यान्सरको सुरुको अवस्था छ भने शल्यक्रिया मुख्य उपचार हो । सुरुकै अवस्थामा थाहा भएमा शल्यक्रियामार्फत क्यान्सरलाई निर्मूल पार्न सकिन्छ । क्यान्सरको अवस्था अगाडि बढिसकेको छ भने चाहिँ किमोथेरापीले यसलाई नियन्त्रणमा राख्न सकिन्छ ।

त्यसैगरी कोलोरेक्टल क्यान्सरको जोखिमलाई कम गर्न अर्को महत्त्वपूर्ण पक्ष स्वास्थ्य जीवनशैली अपनाउने कोसिस गर्नु हो । माथि उल्लेख गरिएका कुनै पनि लक्षण देखिएको छ भने तुरुन्त उपचार गराउने तथा जीवनशैली अनि खानपानमा परिवर्तन गरिहाल्ने हो भने यो रोगको जोखिम आफैँ कम हुन्छ ।

रेसा (फाइबर) युक्त खानेकुरा बढी खाने, रातो मासु नखाने, नियमित व्यायाम गर्ने, तौल घटाउने, मध्यपान तथा धूमपान नगर्ने, प्राकृतिक खानामा जोड गर्ने, जङ्क फुडको सेवनलाई बन्द गर्ने हो भने कोलोरेक्टल क्यान्सरको खतरा कम गर्न सकिन्छ ।

मलद्वारको क्यान्सर

मलद्वार (एनल) क्यान्सर सामान्य त सङ्क्रमण (इन्फेक्सन)बाट हुन्छ । हाम्रो शरीरमा जहाँ पनि सङ्क्रमण हुन सक्छ र ती सङ्क्रमण एकै खालका हुँदैनन् । त्यसैगरी सबै क्यान्सर पनि एकै खालका हुँदैनन् ।

विभिन्न सङ्क्रमणकै कारण मलद्वारको क्यान्सर हुन्छ । कोलोन र रेक्टलमा सबैभन्दा धेरै हुने क्यान्सर हो एडिनोकार्सिनोमा । त्यस्तै मलद्वारमा हुने क्यान्सर फरक खालको हुन्छ यसलाई स्कोयमस सेल क्यान्सर (Squamous cell cancer​) भनिन्छ । सामान्यतया मलद्वारमा एडिनोकार्सिनोमा क्यान्सर कम हुन्छ भने स्कोयमसल क्यान्सर बढी हुन्छ ।

मलद्वारमा एचपीभी भाइरसको सङ्क्रमणको कारण क्यान्सर हुन्छ । महिलाहरूमा पाठेघरको मुखको क्यान्सर पनि एचपीभी भाइरसकै कारण हुन्छ । कतिलाई साना साना मुसाहरू आउने र पछि त्यसले क्यान्सरको रूप लिने गरेको पनि छ । त्यस्तै, धूमपान गर्नेहरूमा पनि मलद्वारको क्यान्सरको खतरा बढी छ ।

मलद्वारको क्यान्सर कस्ता मानिसमा बढी हुन्छ ?

धूमपान बढी गर्नेहरूमा मलद्वारको क्यान्सरको जोखिम हुन्छ नै अझ एचआईभी पोजेटिभ भएका व्यक्तिहरूमा मलद्वारको क्यान्सरको खतरा अत्यधिक हुन्छ । होमोसेक्सुअल (समलिङ्गी)हरूमा पनि यस्तो क्यान्सर देखिएको छ ।

मलद्वारमा क्यान्सर गराउने भाइरस यौन सङ्क्रमितहरूबाट सजिलै सर्न सक्ने भएकाले होमोसेक्सुअलहरूमा यसको जोखिम धेरै छ । विशेष गरेर एचआईभी पोजेटिभ भएका र होमोसेक्सुअलहरूमा मलद्वारको क्यान्सर धेरै भेटिएको छ ।

नेपालमा उनीहरू समस्या आइसकेपछि मात्र अस्पताल आउने चलन छ तर वास्तवमा यस्ता व्यक्तिहरूले निरन्तर चेकजाँच गराइराख्नुपर्छ ।

मलद्वार क्यान्सरका लक्षण र उपचार

मलद्वार क्यान्सरका सामान्य लक्षणमा चिलाउनु हो । त्यसैगरी दिसा गर्दा अप्ठ्यारो हुने, रगत आउने, साना साना मुसा पलाउने, मासु पलाउने यस्तो लक्षण मलद्वारको भित्री भागमा वा बाहिरी भागमा जहाँ पनि देखिन सक्छ ।

मलद्वार क्यान्सर सुरुको अवस्थामा छ भने पलाएका मासु तथा मुसालाई सामान्य शल्यक्रियाबाटै हटाउन सकिन्छ । यदि यो बढेको छ भने रेडियसन दिनुपर्ने हुन्छ । पहिला पहिला मलद्वार (स्कोयमस सेल क्यान्सर) क्यान्सर भएमा अपरेसनमार्फत पूरै मलद्वार नै निकालेर फाल्नुपर्ने हुन्थ्यो भने अहिले आएर किमोथेरापी र रेडियसनबाट उपचार गरिन्छ । किमोथेरापी र रेडियसनबाट पनि क्यान्सर पूरा निर्मूल भएन भने चाहिँ अपरेसन गरेर मलद्वार नै फाल्नुपर्छ ।

त्यसैले सामान्य समस्या देखिने बित्तिकै उपचार सुरु गरिहाल्ने हो भने भोलि आउने जोखिमको खतरबाट बच्न सकिन्छ । यदि मलद्वारमा केही असहज महसुस भएको छ भने पनि सावधानी अपनाउने र चेकजाँच गराइहाल्नु बुद्धिमानी हुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

टुना भट्ट
टुना भट्ट

टुना भट्ट रातोपाटी अनलाइन टिभीकी  संयोजक तथा समाचार प्रस्तोता हुन् ।

लेखकबाट थप