बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

विमानस्थलबाट कोकिन छिर्छ, मदिरा रोकिन्छ

मङ्गलबार, २१ माघ २०७६, १५ : ०१
मङ्गलबार, २१ माघ २०७६

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको भन्सारको गोदामबाट करिब २ वर्षअघि एयर गन (राइफल) भेटियो । विदेशबाट पार्सलका रुपमा भित्र्याइएको अवस्थामा उक्त राइफल भेटिएको थियो । नेपाल प्रहरीको तालिमप्राप्त कुकुरले नियमित चेकजाँचका बेला उक्त हतियार गोदाममा फेला पारेको थियो ।

त्यसैगरी ०७१ सालमा भन्सारकै कर्मचारीको मिलोमतोमा ३३ किलो सुनसमेत एक्सरे मेसिन पास भएर आयो । उक्त सुन भित्र्याउनमा दर्जनौँ प्रहरीको संलग्नता रहेको भनियो तर पनि ३३ किलो सुनको मुख्य नाइके पत्ता लगाउन सकिरहेको छैन ।

यी र यस्ता घटना विमास्थलमा दैनिकजसो भएकै हुन्छन् । भन्सारका कर्मचारीको एकछत्र राज हुने र त्यसमा प्रहरीले चेकजाँच गर्न नपाउने हुँदा विमानस्थलको सुरक्षासँगै देशमा अवैध हतियारदेखि लागुऔषध भित्रिने गरेका छन् ।

व्यापारीहरुसँग भन्सार कार्यालयका कर्मचारीहरुले मोटो रकम लिएर सेटिङमा सामानहरु छुटाउने गरेको सूचनाका आधारमा पटक–पटक नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले भन्सारको कार्यालयमा छापा मार्दै पनि आएको छ ।

विमानस्थलमा भन्सारका कर्मचारीको मात्र एक छत्र राज हुँदा विमानस्थलबाट तस्करी बढेको भन्दै विमानस्थल भन्सारमा प्रहरीलाई पनि राख्ने निर्णय भयो । तर, भन्सारका कर्मचारीले उक्त निर्णयको विरोध जनाउँदै कामकाज ठप्प पारे । आफूसँगै प्रहरी बस्दा काम गर्न असहज हुने भन्दै उनीहरुले प्रहरीलाई राख्न दिएनन् । त्यसपछि प्रहरी ‘ब्याक’ भयो भने भन्सारका कर्मचारीको मनपरी झनै फस्टायो ।


भन्सारमा अवैध रुपमा ल्याएका सामान बरामद गर्ने, कानुनी रुपमा भन्सार दाखिला गर्नुपर्ने सामानलाई सोही बमोजिम दाखिला गराएर राजश्व असुल गर्नुपर्ने र गैरकानुनी रुपमा ल्याइएका सामान जफत गरी त्यस्ता सामान ओसार पसारमा संलग्नलाई कानुन अनुसार कारवाही प्रक्रिया अघि बढाउनु पर्ने हुन्छ ।

त्यसैले पनि भन्सार चेकजाँचमा सुरक्षाकर्मी र भन्सार कार्यालयका प्रतिनिधिको संयुक्त उपस्थिति आवश्यक हुन्छ । तर विमानस्थल भन्सारमा भन्सार कार्यालयका कर्मचारीमात्रको उपस्थितिले विदेशबाट आउने सामान चेकजाँच प्रभावकारी हुन नसकेको, भन्सार कार्यालयका कर्मचारीको मिलेमतोमा सजिलैसँग सामान पास हुने गरेको गुनासो बारम्बार आइरहेको छ ।

स्रोतका अनुसार भन्सारका कर्मचारीकै मिलोमतोमा अहिले पनि अवैध सुन भित्रिने गरेको छ । त्यसरी भन्सारले छाडेको सुन प्रहरीले पार्किङबाट समाएको कैयन् घटनाहरु छन् । एक बोतल रक्सीमा आँखा पुग्ने तर अवैध सुन, लागूऔषध, र हातहतियारमा भन्सारका कर्मचारीको आँखा नपर्नु सर्वसाधारणका लागि पनि अनौठो विषय भएको छ ।

पछिल्लो एक वर्षमा विमानस्थलबाट लागूऔषध नियन्त्रण ब्यूरो (एनसीबी) ले १४ किलो कोकिन बरामद गरेको छ । विमानस्थल बाहिरबाटै गोप्य सूचनाको आधारमा कोकिन बरामद गरिएको ब्यूरोले जनाएको छ । उक्त कोकिन कसरी भन्सारको चेकजाँच प्रक्रिया पार गरि बाहिर आइपुग्यो भन्नेबारे भन्सारका कर्मचारीहरु प्रष्ट जवाफ दिन सकिरहेका छैनन् । त्रिभुवन विमानस्थलबाट बारम्बार किलोका किलो कोकिन, हिरोइन, नुरफिन, फेनारगनजस्ता अवैध सामग्रीहरु भन्सारको कर्मचारीको सेटिङमा नै भित्रिने गरेको स्रोत बताउँछ ।

लामो समयदेखि विमानस्थल भन्सारमा कार्यरत एक अधिकारीले भने, ‘जाँदा जसरी प्रहरीले सुरक्षा जाँच गर्छ, आउँदा पनि त्यस्तै हुनुपर्ने हो ।’ ‘अध्यागमनले छाप हानेपछि उनीहरु सिधै तल आउँछन्, अपराधी आयो कि अथवा कुनै अवैध सामान लुकाएर ल्याएको छ, कुनै पत्तो हुँदैन,’ ती अधिकारीले भने ।

ती अधिकारीका अनुसार विमानस्थलबाट लगेज सिधै भन्सारको एक्सरे मेसिन हुँदै बाहिर बेल्टमा आउँछ, अनि ह्यान्डब्याग भन्सार कर्मचारी बसेको एक्सरे मेसिनमा राखिन्छ ।

‘लगेजमा केही भन्सार छली गरेर ल्याएको सामान देखिए ‘आरसी’ लेखिन्छ र बाहिर निस्कने बेला भन्सारका कर्मचारीले खोलेर हेर्ने गर्छन् । त्यसैगरी ह्यान्ड ब्यागमा ल्याएको सामान यात्रु आउने बाटोमा राखिएको एक्सरेमा हालिन्छ र मेटल डिटेक्टरबाट मानिसहरु निस्कन्छन् । ‘त्यसरी निस्कँदा सामान्यतया भन्सार छलीको सामानमात्र हेर्ने हो । कहाँबाट अवैध हातहतियार भेटाउनु,’ ती अधिकारीले भने ।

देशबाहिर जाँदा प्रहरीले विमास्थलबाट ३ तहमा चेकजाँच गर्छ । बडी चेकजाँचदेखि एक्सरे मेसिनमार्फत प्रहरीले कडाइका कारण चेक गर्दा त्यस्ता प्रतिबन्धित सामान यात्रुले सहजै लैजान पाउँदैनन् । तर विदेशबाट नेपाल आउँदा भने त्यस्तो छैन । खाली भन्सारका कर्मचारीले मात्र सामान्य रुपमा हेर्ने गरेका छन् ।

पटक–पटक लापरबाही गरेको भन्दै भन्सारका कर्मचारीहरु कारबाहीमा परेको समाचार पनि नआएका होइन् । ०७२ भदौ १२ गते भन्सार विभागका २ अधिकृत र २८ जना सुब्बा कारबाहीमा परे ।

तर पनि भन्सारका कर्मचारीहरुको लापरवाही अझै जारी छ । विमानस्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, राष्ट्रिय अनुसन्धान विभाग, अध्यागमन विभाग, भन्सार विभाग, नागरिक उड्डयन प्राधिकरण र एयरलाइन्सका कर्मचारीहरुको आ–आफ्नै भूमिका छ ।

यस्तैमा भन्सार विभागको काम राजश्व चुहावट र भन्सार छलेर ल्याएको सामानको निगरानी गर्नु हो । भन्सार प्रशासनले विभिन्न भन्सार बिन्दुहरुमा भन्सार महसुल, मूल्य अभिवृद्धि कर, अन्तशुल्क तथा अन्य करहरु असुल गर्दछ ।

नाम नबताउन नचाहेका भन्सारकै एक कर्मचारीले रातोपाटीसँग भने, ‘विमानस्थलमा भन्सारका कर्मचारीको भने चरम लापरबाही छ । भन्सारका कर्मचारीको व्यवहारले विमानस्थलमा यात्रुहरु आजित भएका छन् ।’

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अस्तव्यस्त छ, त्यहाँ कयौंपटक लगेज हराएका र चोरी भएका गुनासा आइरहन्छन् । नेपाल प्रहरीलाई चेकजाँचमा ‘इनभल्ब’ गर्नैपर्ने स्रोत बताउँछ ।

त्यो समस्या हो...

विदेशबाट नेपाल आउँदा विमानस्थलबाट हातहतियार तथा विस्फोटक पदार्थसहित लागूऔषध सजिलै भित्रिनुमा विमानस्थलमा कार्यरत कर्मचारीको ठूलो हात रहने पूर्व डीआईजी हेमन्त मल्ल बताउँछन् ।

मल्लले भने, ‘यात्रुहरु लगेज आउने ठाउँमा आइनपुग्दै कर्मचारीहरुले सामान हालिसकेको हुन्छ र सामान त्यहाँको कर्मचारीले निकालेर ठाउँ–ठाउँमा लगेर राखिसकेका हुन्छन् । त्यहीँबाट सामान हराउँछ ।’

एक बोतल रक्सी देख्ने भन्सारका कर्मचारीले अवैध रुपमा नेपाल ल्याइएको लागूऔषध पनि बरामद गर्नुपर्ने पूर्वडीआईजी मल्लको भनाइ थियो ।

छुटेको सामान भन्दै विमानस्थल भन्सारका कर्मचारीले मिलेमतोमा चोरेर राख्ने गरेको गुनासो पटक–पटक आइरहँदा पनि राज्य मौन बस्नु कति न्यायोचित होला ?

विमानस्थल स्रोतका अनुसार राज्यले राम्रोसँग अनुगमन गर्ने हो भने भन्सारका कर्मचारीको मिलेमतोमा चोरेर राखिएको सामानको गोदाम नै भेट्टाउन सकिन्छ । यस्तो संवेदनशील कुरामा राज्यको ध्यानकर्षण हुनु अति जरुरी छ ।

एउटा उदाहरण, गोरखाका डिल्लीराम पन्त पर्यटकीय भिषामा एक महिनाअघि जापान गएका थिए । फर्किँदा उनको साथमा एक बोतल ब्रान्डेड ह्विस्की, चकलेट र सुटकेस थियो ।

तर, जापानबाट ल्याएको रक्सी उनले घरसम्म पुर्याउन पाएनन् । रक्सी लिएर जाने हो भने थप पैसा लाग्ने भन्दै उल्टै डिल्लीरामलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हप्काएर पठाइयो ।

म सँग धेरै सामान पनि थिएन । रक्सीको बोतल हातमै थियो । अरु सामान सुटकेसमै थियो । मलाई चेकजाँच गरियो । हातमा भएको रक्सीको बोतल पनि चेकजाँचको लागि मेसिनमा राख्न भनियो ।

मैले मेसिनमा राखेँ । सामान राखेपछि मेसिन ‘चुइँय’ करायो । एकजना मान्छे आउनुभयो र मलाई सोधे के छ यो झोलामा ? मैले रक्सीको बोतलमात्र छ भने ।

तर, उहाँले मलाई एकातिर साइडमा लैजानुभयो । केही न केही छ यो झोलामा नभए किन करायो ? मैले बारम्बार भनिरहेँ– केही पनि छैन । हेर्नुस् नपत्याए भनेर देखाइदिएँ ।

त्यसपछि उहाँले झन् मलाई यस्तो रक्सी ल्याउन अनुमति छैन भन्दै हप्काउन थाल्नुभयो । विमानस्थलमा अरु मान्छेहरु आफ्नै सुरमा थिए । मैले केही बोल्नै सकिनँ । ती कर्मचारीले त्यो रक्सीको बोतल कब्जा गरे ।

विदशेबाट रक्सी ल्याउन पाइदैँन । यदि लैजाने नै हो भने थप पैसा लाग्छ । होइन भने नकराइ जानुहोस् भनेर उल्टै हप्काएर पठाउनुभयो । रित्तो हात विमानस्थलबाट फर्किएजस्तो भयो ।

त्यसपछि एकजना चिनेको साथीलाई विमानस्थलमा भएको कुराहरु सबै भनेँ । उहाँले मलाई सम्झाउँदै सोझासाझा देखेपछि त्यहाँका कर्मचारीले यसरी धेरैलाई ठग्दै आउने गरेको सुनाउनु भयो ।

म छाँगाबाट खसेजस्तो भए । हेर्दाहेर्दै आफूलाई त्यहाँको कर्मचारीले ठगेको थाहा भएपछि आफैँलाई लज्जित तुल्यायो ।

भन्सारकै मिलेमतोमा सेटिङ

विमानस्थलमा कार्यरत भन्सारका कर्मचारीको सेटिङमा भन्सार छलीका सामानको ओसारपोसार खुलेआम हुने गरेको स्रोतको दावी छ । राजस्व संकलनमा खट्नुपर्ने भन्सारमा कर्मचारीले नै तस्करहरूलाई सुरक्षाकर्मीबाट जोगिने कागजात बनाएर दैनिक लाखौँ राजस्व छली गर्न मद्दत गर्दै आएका छन् । पाँच लाखको सामान सेटिङमा विमानस्थलबाट छिराउन सके भने ३० प्रतिशतसम्म रकम उनीहरूले कमिसन लिन्छन् ।

पाँच लाखको सामानलाई एक लाखको मूल्याङ्कन गराएर राजस्व तिरेको कागज बनाएर भन्सार कर्मचारीले लुट्दै आएका छन् । भन्सार छलीका समाचार दैनिकजसो बाहिर आइरहे पनि राजस्व छली रोक्नेतर्फ जिम्मेवार निकाय नै मौन बस्दा मिलेमतोमा सामान पास हुने क्रम रोकिएको छैन, जसको प्रत्यक्ष प्रभाव राजस्व सङ्कलनमा परेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुजन पन्त
सुजन पन्त

पन्त सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप