बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

मुख्यमन्त्रीसहित नेताहरुको नाम भजाउँदै करोडौंको ठगी

मङ्गलबार, २१ माघ २०७६, १४ : ४६
मङ्गलबार, २१ माघ २०७६

रौतहट । संघीय समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत र प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र यादवलगायतको नाम भजाउँदै रौतहटमा संघीय समाजवादी पार्टीकै एकजना नेताले करोडौंको जग्गा ठगी गरेको आरोप लागेकाे छ ।

ठगी मुद्दामा यसअघि हिरासतमा बसिसकेका समाजवादी पार्टीका राष्ट्रिय परिषद् सदस्य जयनाथ यादवले जिंगडिया निवासी शेख कादिरको छोरालाई अष्ट्रेलिया पठाइदिन्छु भन्दै गरुडा नगरपालिकाका आइटी अफिसर भुपनारायण यादवको मिलेमतोमा तीन कठ्ठा तीन धुर जग्गा ठगी गरेकाे आरोप लागेको हो ।

छोरालाई अष्ट्रेलिया पठाउने भन्दै सो बापत लाग्ने खर्चका लागि कादिरसँग उक्त जग्गा लिएका जयनाथले न उनको छोरालाई अष्ट्रेलिया पठाए, न जग्गा नै फिर्ता दिएका छन् । पीडित कादिर न्यायका लागि महिनौंदेखि भौंतारिए पनि उनको गुनासोको सुनुवाइ कतैबाट भएको छैन ।

उल्टै समाजवादी पार्टीका केही स्थानीय नेताले आफूलाई विभिन्न दवाव दिरहेको पीडितको भनाइ छ ।

यसरी ठगिए शेख कादिर
पीडित पक्षका अनुसार जयनाथ यादवले समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत, राज्यमन्त्री योगेन्द्र राय यादवसँग आफ्नो राम्रो सम्बन्ध रहेको बताउँदै शेख कादिरको छोरालाई अध्ययनका लागि अष्ट्रेलिया पठाइदिन्छु भनेका थिए ।

सामान्य हैसियतका कादिरले छोरा विदेश पढ्न गएमा भविष्य राम्रो हुने सपना बोकेर जयनाथको कुरालाई विश्वास गरे । जयनाथले कादिरलाई छोरा पठाउनका लागि सात दिनभित्र १० लाख रुपैयाँ जम्मा गर्न भने । उक्त अवधिमा कादिरले रकम जम्मा गर्न सकेनन् । जयनाथले नै कादिरका सामु विकल्प राखे, जग्गा बन्धकी राखेर १० लाख जम्मा गर्ने ।

२०७५ भदौ २१ गते जयनाथले आफ्नै नातेदार गरुडा नगरपालिकाका कर्मचारी भुपनारायण यादवबाट कादिरलाई गरुडा नगरपालिका अन्तर्गत मुल बाटोमा पर्ने तीन कठ्ठा तीन धुर जग्गा बन्धकी राखेर १० लाख रुपैयाँ दिलाए ।

‘एक महिनाभित्र तिम्रो छोरो अष्ट्रेलिया उड्छ, चिन्ता नलिनू’ भनेर जग्गा बन्धकीबापतको १० लाख रुपैयाँ भुपनारायण यादवसँग  जयनाथ यादवले आफ्नै बैंक खातामा राख्न लगाए । 

आफ्नो छोरालाई विदेश नपठाइएपछि शंका लागेर कादिर चार महिनापछि जयनाथ यादवसँग भेट गर्न गए । त्यतिबेला जयनाथले आफूलाई छोरा पठाउन नसकेको स्वीकार गर्दै २०७७ साउन १५ गतेको मिति राखेर सिद्धार्थ बैंकको १२ लाख रुपैयाँको चेक काटेर दिएको कादिर बताउँछन् । 

चेक पाएको भोलिपल्ट कदिर बन्धकी राखेको खेत फिर्ता गराउन तथा व्याजबारे हरहिसाव गर्न नगरपालिकाका कर्मचारी भुपनारायण यादवलाई भेट्न गए । तर भुपनारायणले आफूलाई ‘तिमीलाई चिन्दिनँ, म नेता जयनाथ यादवलाई चिन्छु, तिम्रो जमिन बिक्री भयो’ भन्दै थर्काएर पठाए ।

जयनाथले दिएको चेकसमेत नसाटिएपछि कादिरले आफू ठगिएको चाल पाएका हुन् । 

२०७५ भदौ २१ मा कादिरले बन्धकी स्वरुप भुपनारायणलाई रजिष्टरी गरेको उक्त तीन कठ्ठा तीन धुर जग्गा चार महिनापछि २०७५ पुस ५ मा गमहरिया–२ का स्थानीय सजिदा बेगम प्रविणका नाममा पास गरिदिएको पाइएको छ ।

छोरा पनि अष्ट्रेलिया जान पाएन, जग्गा पनि गयो र जयनाथले दिएको चेक पनि नसाटिँदा कादिर अहिले घरको न घाटको भएर न्यायका लागि भौँतारिइरहेका छन् ।

नगरपालिका, जिल्ला प्रशासन कार्यालय गौरलगायत विभिन्न निकायमा उजुरी दिँदा पनि राजनीतिक दवाबको कारण आफूले न्याय नपाएको कादिर बताउँछन् ।

कादिर ठगीमा परेकोबारे रातोपाटीले राखेको जिज्ञासामा जयनाथले कसैलाई आफूले नठगेको दावी गरे । कादिरले जग्गा बन्धकी राखेर साहुसँग लिएको रकमको सावाँ–ब्याज भुक्तानी गरेमा उक्त जग्गा फिर्ता पाउने बताए जयनाथको भनाइ थियो । 

चेक नसाटिएको विषयमा भने उनी केही बोल्न चाहेनन् ।

जयनाथ यादवले तत्कालीन उखु उत्पादक किसान संघ, रौतहटको अध्यक्ष तथा तत्कालीन संघीय समाजवादी फोरमको जिल्ला अध्यक्ष हुँदा श्रीराम सुगर मिल्स, गरुडाको नामले नक्कली चलानपुर्जी र नक्कली नेट छापेर मिल तथा किसानको करोडौं रुपैया ठगी गरेका थिए ।

मिलको जाहेरीमा ईलाका प्रहरी कार्यालय गरुडाका तत्कालीन प्रमुख सन्तु जईसवारले जयनाथ यादवमाथि ठगी मुद्दा चलाएर पीडितलाई रकम फिर्ता गराएका थिए ।

हाल जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यरत डिएसपी जईसवारले प्रहरीको अनुसन्धानमा जयनाथ यादव गलत प्रवृतिको मानिस पाइएको बताए ।

प्रदेश २ का भूमि व्यवस्था सहकारी तथा कृषि राज्यमन्त्री योगेन्द्र यादव भने जयनाथ यादवले ब्यक्तिगतरुपमा कसैलाई ठगेको छ भने कानुन अनुसार कारवाही हुनुपर्ने बताउँछन् । उनले पीडितलाई न्याय दिलाउन समाजवादी पार्टी कुनै पनि हालतमा बाधक नहुने जनाए ।

पटके ठगीका आरोपी जयनाथ यादव भने पछिल्लो समय सामाजाजिक सञ्जाल फेसबुकमा पत्रकारलाई विभिन्न अपशब्द लेखेर गालीगलौजमा उत्रिएका छन् ।

मधेश र मधेशीलाई हक अधिकार दिलाउने भन्दै दर्जनौँ मधेशीको सहादतपछि स्थापित समाजवादी पार्टीमा रहेर जयनाथ यादवले दर्जनौँ मधेसीलाई ठगेर पीडा दिरहेको अवस्थामा पार्टी नेतृत्वले उनीमाथि कस्तो कारवाही गर्छ ? त्यो प्रतीक्षाकै बिषय बनेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सञ्जय मिश्रा
सञ्जय मिश्रा

सञ्जय मिश्रा रातोपाटीका लागि रौतहट जिल्लाका संवाददाता हुन् ।

लेखकबाट थप