शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रतिनिधिसभा शून्य समयः कुन सांसदले के भने ?

मङ्गलबार, २१ माघ २०७६, १४ : ३५
मङ्गलबार, २१ माघ २०७६

काठमाडौं । प्रतिनिधिसभाको मंगलबारको बैठकको शून्य समयमा बोल्दै सांसदहरुले समसायिक र क्षेत्रगत विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । सांसद निरुदेवी पालले सुदुरपश्चिम र मध्यपश्चिमका छाउगोठ भत्काउने काम भएको भन्दै गृहमन्त्रालयलाई धन्यवाद दिँदै छाउगोठ भत्काएकोमा विरोध गर्नेलाई एकदिन मात्रै छाउगोठमा बसेर देखाउन चुनौती दिइन् ।

उनले भनिन्, ‘डलर खेती गर्नेहरुको टाउको दुखाई गर्नु स्वभाविक हो किन भने घरहरु देखाएर आयस्रोत बटुल्ने प्रयास थियो । अरुको टाउको दुखाई हुनुपर्नुको कारण मैले बुझ्न सकेकी छैन । त्यस्तो टाउको दुखाई हुनुपर्ने दाजुभाई हुनुहुन्छ भने कम्तिमा पनि एकदिन मात्रै बसेर देखाइदिनुहुन अनुरोध गर्दछु । सुुदुरपश्चिमेली कर्णालीकाहरुले टाउको उठाइरहेका बेला किन यो विषय आएको हो ? म गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु ।’
सांसद पालकाअनुसार गृहमन्त्रालयले सोमबारसम्म सुदुरपश्चिम र मध्यपश्चिमका १२ जिल्लाका ८ हजार ७ सय छाउगोठ भत्काइएको छ । केहीअघि प्रतिनिधिसभाको बैठकमा जुम्लाका सांसद गजेन्द्र महतले छाउगोठ भत्काउने गृहमन्त्रालयको कार्यको विरोध गरेका थिए । 

त्यसैगरी सांसद डिला संग्रौलाले नेपालका मेडिकल कलेजले लिएको बढी शुल्क फिर्ता गर्ने सहमति भएपनि कार्यान्वयन नहुन नसकेको भन्दै सोको बारे यथार्थ जानकारी सदनलाई गराउन माग समेत गरिन् । चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा नियुक्त डाक्टर कृष्ण गिरीको योग्यताको विषयमा प्रश्न उठेको भन्दै सत्य तथ्य छानविन गर्न सरकारको ध्यानाकर्षण गराइन् ।

दिलेन्द्रप्रसाद बडूले कोरना भाईरसको महामारी रोकथामबारे नेपाल सरकारको योजना के छ भनी प्रश्न गरे । उनले चीनमा रहेका नेपालीको संख्या, अवस्था र उद्धारका लागि भइरहेको प्रयास र सो रोगको भरपर्दो र सुरक्षित उपचारको व्यवस्था गर्न सक्ने तयारी के छ सोबारे सदनलाई जानकारी गराउन माग गरे । 

दिव्यमणि राजभण्डारीले विश्वभर नै नकारात्मक रुपमा कोरना भाईरसका बारेमा नकारात्मक सन्देश फैलिरहेको भन्दै नेपाल सरकारलाई सच्चाई ढंगले चीनलाई सहयोग गर्न सरकारको ध्यानाकर्षण गराए । दुर्गा पौडेलले उखु किसानका लागि उखुको समर्थन मूल्य नै उपलब्ध गराउने र सरकारले दिएको अनुदानको रकम पुरै उनीहरुले पाउने व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराए ।

देवप्रसाद तिमिल्सिनाले उखु किसानले उखु बेच्न नपाउने र बेचेपछि पनि पैसा नपाउने समस्या सदनमा पटक–पटक उठाउँदा त्यसको सरकारले सुनुवाई नगरेको भन्दै त्यसतर्फ ध्यानाकर्षण गराए । उनले भने, ‘के को लागि सरकार ? किसानको उखुको भुक्तानी दिन नसक्ने दुई तिहाईको सरकारले जनतालाई के दिन सक्छ ? के को लागि सरकार ?’ उनले सितलहरका कारण रौतहटमा ठूलो जनधनको क्षति भएको भन्दै त्यसतर्फ पनि सरकारको ध्यानाकर्षण गराए ।

देवेन्द्रप्रसाद पौडेलले एनसेल कर लाभांस विवाद, हायात होटल, ललिता निवास, यति होल्डिङ जस्ता प्रकरणहरु दिनहुँ मिडियामा छाउने गरेको भन्दै यी विषयमा छानविन गरि सर्वसाधरणलाई यथार्थ जानकारी गराउन सरकारकोे ध्यानाकर्षण गराए । 

नारायणप्रसाद खतिवडाले भ्रमण वर्ष मनाउँदै गर्दा काठमाण्डौसँग जोडिएको नुवाकोटसम्म पुग्ने पासाङल्हामू राजमार्ग र टोखा छहरे सडककोे अवस्था बिग्रेको भन्दै समयमै सडक सुधार र पुननिर्माणमा ध्यान दिनुको साथै टेण्डर भइसकेपछि निर्माण व्यवसायीले काम नगर्ने समस्याको अन्त्य गर्न सरकारको ध्यानाकर्षण गराए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप