शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भिडियो समाचार : चीनमा रहेका नेपालीमा कोरोना भेटिए नफर्काइने, किन बढ्यो कुखुराको मासुको मूल्य ?

सोमबार, २० माघ २०७६, १९ : ०१
सोमबार, २० माघ २०७६

काठमाडौँ । चीनमा रहेका नेपालीहरुलाई स्वास्थ्य परीक्षण गरेर मात्रै स्वदेश ल्याउने तयारी भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाल फर्किनका लागि आइतबार बिहानसम्म १८० जनाले फारम भरेको र उनीहरु सबैको स्वास्थ्य परीक्षण गरी स्वदेश ल्याइने जनाएको छ । 

मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले फारम भरेका सबैको स्वास्थ्य परीक्षण हुने बताए ।  परीक्षणका क्रममा संक्रमण देखिएकाहरुलाई चीनमै राखेर उपचार गरिने उनले जनकारी दिए । ‘त्यहाँ पनि सबैको स्वास्थ्य जाँच हुन्छ । यदि पोजेटिभ देखियो भने चीनले पठाउँदैन त्यही उपचार हुन्छ । बाँकी अन्यलाई फिर्ता गरीन्छ’, उनले भने । 
अहिलेसम्म सबै सुरक्षित रहेको पनि प्रवक्ता श्रेष्ठले प्रस्ट पारे ।  नेपाल फर्काएपछि उनीहरुलाई क्वारेन्टाइनमा राखिने उनले बताए । 

 ‘क्वारेन्टाइनमा स्वस्थ मान्छेलाई राखिन्छ । उहाँहरु सबै स्वस्थ हुनुहुन्छ । आइसोलेसनमा हो संक्रमितमा राख्ने’, श्रेष्ठले भने । 

मन्त्रालयले उनीहरुलाई राख्ने ठाउँको पहिचान भइरहेको जनाएको छ । मंगलबर बेलुकीसम्म ठाउँ एकिन हुने प्रवक्ता श्रेष्ठले बताए । 

मन्त्रालयले तीन तहमा समिति बनाएर अध्ययन गरीरहेको बताउँदै उनले फर्काइएका नेपालीलाई दुई सातासम्म क्वारेन्टाइनमा राखिने बताए ।  यसअघि वुहानबाट फर्किका एक जनामा संक्रमण देखिएको थियो ।

कुखुराको मासुको मूल्य बढ्यो

बजारमा कुखुराको मासुको मूल्य अस्वाभाविक रूपमा बढेको छ । एकै पटक मासुमा प्रतिकेजी १ सय रुपैयाँदेखि १ सय ६० रुपैयाँसम्म मूल्य वृद्धि भएको छ । केही दिनअघिसम्म प्रतिकेजी दुई सय १० रुपैयाँको हाराहारीमा रहेको कुखुराको मासुको मूल्य अहिले ४ सय रुपैयाँसम्म पुगेको छ । 

राष्ट्रिय कुखुरा व्यवसायी सङ्घले गत हप्ता तोकेको नयाँ मूल्यअनुसार काठमाडौँ उपत्यकामा तयारी मासुको मूल्य प्रतिकेजी ३ सय ५० रुपैयाँ छ । तर अहिले बजारमा प्रतिकेजी मासु ४ सय रुपैयाँसम्म कारोबार भइरहेको छ । थोक मूल्य ३ सय ५० रुपैयाँ भए पनि कोल्डस्टोर व्यवसायीहरुले खुद्रामा ३ सय ७० देखि ४ सय रुपैयाँसम्म लिइरहेका छन् । यसले आम उपभोक्तालाई समस्यामा पारिरहेको छ । बजारमा माग अनुरूपको कुखुरा आपूर्ति हुन नसक्दा मासुको मूल्य वृद्धि भएको व्यवसायीको भनाइ छ ।


चीन उडान बन्द

चीनमा कोरोना भाइरसले महामारीको रुप लिएपछि नेपाल–चीन हवाई सेवा पनि बन्द गरिएको छ ।

चीनवाट दैनिक नेपाल आउने चार वायु सेवा कम्पनीहरुद्वारा उडान स्थगित गर्ने सूचना आएको नेपाल नागरिक उड्ययन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए । 

 कोरोना भाइरस महामारीको रुप लिएपछि रोकथामको प्रयास स्वरुप चिनियाँ एयरलाइन्सले करिब एक महिनाका लागि भन्दै उडान स्थगनको जानकारी गराएको क्षेत्रीले बताए । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार काठमाडौंवाट दैनिक उडान गर्दै आएका चार वायुसेवा कम्पनीले पनि उडान स्थगितको सूचना दिएका छन् । 

अन्य विदेशी एयरलाइन्सले उडान स्थगित गरेसँगै त्यसको प्रभाव नेपालमा पनि पर्ने देखिएको छ । यद्यपी नेपाल सरकारकातर्फबाट चीन हुने हवाई उडान स्थगित वा रद्दको कुनै निर्णय नगरेको प्राधिकरणले जनाएको छ ।

कोरोनाको नयाँ अस्पताल

उता चीनले कोरोनाभाइरस संक्रमणको केन्द्रविन्दु मानिएको चीनको हुबेइ प्रान्तको वुहानमा भाइरसबाट संक्रमित बिरामीहरुको उपचारको लागि लक्षित गरेर चीन सरकारले १० दिनमा अस्पताल तयार गरेको छ । 

अस्पतालमा आजबाट चिनियाँ सेनाका १४ सय मेडिकल स्टाफले उपचार सुरु गर्ने चिनियाँ सञ्चारमाध्यम सिन्ह्वाले जनाएको छ । तीमध्ये ९५० जना चीनको जनमुक्ति सेनाको अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी रहेका छन् भने ४५० जना सेना, जलसेना र वायुसेनाका मेडिकल विश्वविद्यालयका स्वास्थ्यकर्मी रहेका छन् ।
गत जनवरी २३ मा १ हजार शैथ्या क्षमता भएको हुओसेन्सान अस्पतालको निर्माण शुरु गरिएको थियो ।

यसअघि सन् २००३ मा पनि सार्सको महामारीका दौरान बेइजिङमा सियाओताङसान अस्पताल एक हप्ताभित्रै तयार गरिएको थियो ।

त्यसैगरी, कोरोना भाइरसको प्रकोपले ठूलो रुप लिएसँगै चीनमा कैयौँ सहर र तिनको आर्थिक कारोबार ठप्प छन् । यसले तीनमा ठूलो आर्थिक प्रभाव पार्ने देखिएको छ । अहिले नै क्षतिको पूर्णस्तर मापन गर्न सकिने अवस्था नभए पनि विश्व अर्थतन्त्रमै यसको असर देखिने भएको छ । 

प्रकोपको कारण पछिल्लो त्रैमासिकमा चीनको आर्थिक वृद्धिमै दुई प्रतिशतसम्म गिरावट आउनसक्ने अनुमान विज्ञहरुले लगाइरहेका छन् । 

यता नेपालमा सुरु भएको भ्रमण वर्षलाई पनि कोरोना भाइरसको प्रकोपले प्रत्यक्ष असर गर्ने भएको छ । 

‘एमसीसी’बारे अध्ययन सुरु
 मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे सुझाव पेश गर्न गठित नेपाल कम्युनिस्ट पाटी ९नेकपा० का नेता झलनाथ खनाल नेतृत्वको कार्यदलको पहिलो बैठक सोमबार बसेको छ । सिंहदरवारमा बैठक बसेर कार्यदलले एमसीसीबारे दस्तावेजहरुको अध्ययन अनुसन्धानका लागि गृहकार्य थालेको हो । 

‘आज पहिलो बैठक बस्यो, बैठकमा कसरी काम गर्ने भन्ने सामान्य छलफल गर्नुका साथै कार्यसूची पनि तय गरेका छौँ, त्यही कार्यसूचीका आधारमा एमसीसी सम्बन्धी डकुमेन्टहरु पनि अध्ययन र अनुसन्धान गर्दै सुझाव तयार गर्छौँ’, बैठकपछि कार्यदलका संयोजक खनालले भने, ‘तोकिएको समयसीमामा सुझाव पेश गर्नेगरी काम सुरु गरेका छौँ ।’

आइतबार सम्पन्न नेकपाको केन्द्रीय समिति बैठकले तीन सदस्यीय कार्यदल गठन गरेको थियो । वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा कार्यदलमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र स्थायी कमिटी सदस्य भीम रावल सदस्य रहेका छन् । कार्यदललाई १० दिनभित्र एमसीसीबारे सुझाव पेश गर्ने जिम्मेवारी दिइएअनुसार कार्यदलको बैठक बसेको हो । 

कार्यदलमा रहेका दुई सदस्यमध्ये परराष्ट्रमन्त्री ज्ञवाली एमसीसीको समर्थन गर्दै आएका छन् भने रावलले केही बुँदा परिमार्जन गर्नुपर्ने माग गर्दै आएका छन् ।


सञ्चार मन्त्री बाँस्कोटा
सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारसँग जोडिएका संस्थाहरुमा अनुसन्धान र विकासका कामहरु कमजोर रहेको बताएका छन् । 

नेपाल टेलिभिजनको ३५ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले नेपाल टेलिभिजनमा पनि अनुसन्धान गरेर कार्यक्रमहरु उत्पादन गर्नुपर्ने बताएका हुन् । 

उनले सरकारसँग जोडिएका सबै संस्थामा अनुसन्धान र विकास सम्बन्धमा कमजोर रहेको उल्लेख गर्दै नेपाल टेलिभिजनमा पनि यसको अवस्था कमजोर रहेको बताए । 

दीगो विकास समिति

राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिले ललितपुर महानगरपालिकाको इजलास समितिको अनुगमन गरेको छ । 

समितिको वार्षिक कार्यक्रमअनुसार महानगरको इजलास समितिको अनुगमन गरिएको हो । समितिको कार्यसम्पादन कस्तो छ, कस्ता मुद्धाहरु आउँछन्, चुनौतीहरु के छन् ? भन्ने विषयमा बुझ्न अनुगमन गरिएको समिति सभापति तारादेवी भट्टले बताइन् । 

 जनतासँग प्रत्यक्ष सरोकार भएका विषयहरु भएकाले इजलास, फैसला गर्ने तरिका र चुनौतीका विषयमा जानकारी लिनुपर्ने आवश्यकता भएको उनले बताइन् । 

स्थानीय तहहरुमा गठन भएका न्यायीक समितिहरुबाट जनताले कस्तो सुविधा पाएका छन् भन्ने विषयको जानकारी दिन अनुमगनले सहयोग गर्ने उल्लेख गर्दै सभापति भट्टले इजलासका क्रममा आइपर्ने अफ्ठ्याराहरुका विषयमा समितिलाई जानकारी गराए समितिले सक्दो सहयोग गर्ने प्रतिवद्धता पनि उनले जनाइन् । 

 क्षेत्राधिकार भन्दा बाहिरका मुद्दाहरु बढी आउने भएकाले लक्ष्य अनुसार न्याय दिन नसकिएको गुनासो न्यायीक समितिका पदाधिकारीहरुले गरेका थिए । 

महिला समिति

महिला तथा सामाजिक समितिले परोपकारको आवरणमा व्यापार चलाउने संस्थाहरुको पहिचान गरी कारवाही गर्न गृहमन्त्रालयलाई निर्देशन दिएको छ ।

समिति बैठकले त्यस्ता संस्थाहरुको अनुगमन र पहिचानगरी तत्काल कारवाही गर्न गृहमन्त्रालय, बालबालिका मन्त्रालय र समाज कल्याण परिषद्लाई निर्देशन दिएको हो । 

समितिले बालबालिकाको हित प्रवर्धनका लागि खुलेका गैरसरकारी संस्थाहरुको काम कारवाहीमा पारदर्शीता कायम गर्न, पोषणको अवस्था सुधार गर्न मन्त्रालयलाई निर्देशन दिएको छ । 

त्यसैगरी नेपाल बाल संगठनलाई संघीय संरचनाअनुसार परिवर्तन गर्नका लागि चल अचल सम्पूर्ण सम्पत्ति र बालबालिकाको संरक्षकत्व तत्काल महिला मन्त्रालय मातहत ल्याउन पनि समितिले निर्देशन दिएको समिति सभापति निरुदेवी पालले बताइन् । 

त्यसैगरी नेपाल बाल संगठन र अन्य बालबालिका संरक्षण गर्ने संस्थाहरुसँग आवद्ध रहेका व्यत्तिलाई आवद्धता समाप्त भएको ५ वर्षसम्म बालगृह खोल्न र कुनै पनि आवद्धता कायम राख्न नपाउने व्यवस्था गर्न पनि समितिलाई निर्देशन दिएको छ । 

नेपाल चिकित्सक संघ 

नेपाल चिकित्सक संघको २८ औं कार्यकारिणी समितिका लागि सोमबार पनि मतदान जारी छ ।

संघको केन्द्रीय कार्यालय काठमाडौंको भृकुटीमण्डप स्थीत प्रदर्शनिमार्गमा पाँच दिनका लागि मतदान तय भएअनुसार चौथो दिन सोमबार पनि मतदान जारी रहेको केन्द्रीय निर्वाचन अधिकृत डा. योभिनकुमार यादवले बताए ।  

यादवले दुईचरणमा निर्वाचन गरिएको र पहिलो चरणमा उपत्यका बाहिरका १६ वटै शाखामा आइतबार नै मतदान सम्पन्न भइसकेको बताए । 

संघको चुनावमा कुल १३ पदका लागि दुई प्यानल मैदानमा उत्रिएका छन् । लोकतान्त्रिक समूह तर्फ डा. लोचन कार्कीको समूह र प्रगतिशील समूह तर्फ डा. पुष्पमणि खरालको समूह निर्वाचनमा होमिएका छन् । त्यस्तै महासचिवमा २ जना र सदस्यमा २ जना चिकित्सकले स्वतन्त्र उम्मेद्वारी रहेको यादवले बताए । 

चिकित्सक संघमा कुल ९ हजार ९ सय १६ मतदाता रहेका छन् । मतदान सम्पन्न भएपछि मात्र मतगणना शुरु हुने यादवले जानकारी दिए ।  मतदान मंगलबार सम्म जारी रहने छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप