शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

चीनमा रहेका नेपालीलाई स्वदेश फर्काउने तयारी तीव्र : यस्तो छ सरकारको गृहकार्य

सोमबार, २० माघ २०७६, १५ : ५८
सोमबार, २० माघ २०७६

काठमाडौं । सरकारले चीनमा कोरोना भाइस प्रभावित क्षेत्रमा रहेका १८० जना नेपाली विद्यार्थीलाई नेपाल फर्काउने तयारी तीव्र रुपमा अगाडि बढाइएको जनाएको छ । तर चीनबाट ल्याइने नेपालीलाई कहाँ राख्ने, उनीहरुको स्वास्थ्य परीक्षण, निश्चित समयसम्म रेखदेख तथा निगरानी कहाँ र कसरी गर्ने भन्नेबारे अझै प्रष्ट खाका बनिसकेको छैन ।

चीनमा अध्ययन तथा कामको सिलसिलामा रहेका नेपालीलाई स्वदेश फर्काउनका लागि आवेदन खोलेको र फर्कन इच्छुक व्यक्तिले आवेदन फारम भरेको बेजिङस्थित नेपाली दुतावासले जनाएको छ । दूतावासका उपप्रमुख सुशील कुमार लम्सालका अनुसार रोजगारी गर्दै आएका नेपालीले भने आवेदन दिएका छैनन् । वुहान भ्रमणमा आएका नेपाली समेत फर्किन लागेको उपप्रमुख लम्सालले जानकारी दिए ।

नेपाल फर्किएपछि उनीहरुलाई कहाँ कसरी राख्ने भन्ने विषयमा सरकारले छलफल थालेको छ । तर ठोस निष्कर्ष र योजना अझै सार्वजनिक भइसकेको छैन ।

नेपाल आउन आवेदन दिएका १८० जनालाई लिन नेपाल वायु सेवा निगमको विशेष विमान उठाउने तयारी भइरहको परराष्ट्र मन्त्रालयका भरतराज पौड्यालले जानकारी दिए । 

‘आवेदन दिएका १ सय ८० जना एउटै सहरमा बस्नेहरु होइनन् । एक सहरबाट अर्को सहर ५ सय ४१ किलोमिरटसम्म टाढा रहेको बुभिएको छ,’ उनले रातोपाटीसँग भने, ‘नेपालीहरु चीनको ५ वटा सहरमा छन् । पहिले उनीहरुलाई एउटै ठाउँमा ल्याउनु छ । हुवानमा त ६५ जनामात्र छन् । सबै सहरमा रहेकालाई हुवानमा जम्मा गर्न केही समय लाग्छ ।’

पौड्यालका अनुसार हुवेई प्रान्तमा रहेका नेपालीलाई नेपाल ल्याउनेबारे परराष्ट्र मन्त्रालयले बेजिङस्थित नेपाली राजदूतावालाई तुरुन्त परिचालन गरिसकेको छ । 

‘त्यहाँ रहेका नेपालीको विवरण संकल र आउन इच्छुकहरुको विवरण संकलन गरिएको छ । त्यसलाई दूतावासले प्रमाणित गर्छ । किन कि त्यो लिस्ट उता चीनको सरकारी निकायलाई बुझाउनु पर्छ । उहाँहरुको सहजीकरण चाहिन्छ,’ प्रवक्ता पौड्यालले भने, ‘यसका लागि चीन सरकारसँग आवश्यक कुटनीतिक सम्बन्ध समन्वय र सहयोगको प्रतिक्रया पनि सुरु गरिएको छ ।’
सहजीकरणका लागि चीन सरकारसँग नेपाल सरकारले समन्वय गरिरहेको उनले जानकारी दिए ।

चीनबाट उद्धार गरि ल्याउने नेपाली विद्यार्थीहरुको स्वाथ्य जाँचपछि बस्ने व्यवस्था गरिने छ । चीनबाट प्रस्थान गर्ने विमानस्थलमा स्वास्थ्य परीक्षण हुने र त्यहाँबाट नेपाल आउने यात्रुको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पनि स्वाथ्य परीक्षण गरिने छ ।

कोरोना भाइरसबाट संक्रमित यात्रुलाई उपत्यकाका केही अस्पतालमा आइसोलेसन वार्डमा राखी उपचार गर्ने स्वास्थ्य मन्त्रालयको तयारी छ । 

त्यसका लागि विभिन्न विकल्पबारे छलफल भइरहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्रबहादुर श्रेष्ठले रातोपाटीलाई जानकारी दिए । 

उनले भने, ‘क्वारेन्टाइनका लागि हामी पनि एउटा सहयोगी हो । त्यसको व्यवस्थापनका लागि तयारी गर्दैछौँ । यसको विषयमा विभिन्न विकल्पको खोजी भइरहको छ । भोलिसम्म निर्णय हुन्छ ।’ 

राख्ने ठाउँको टुंगो लागेपछि जतिसक्दो चाँडो चीनबाट नेपालीहरुलाई नेपाल ल्याउने उनले बताए । उनले भने, ‘कसरी व्यवस्थापन गर्ने, कहाँ राख्ने, कति–कति जना राख्ने, खानपिनको व्यवस्था कसरी गर्ने र स्वाथ्य परीक्षण कसरी गर्ने भन्ने योजना बनाइरहेका छौँ । यसका लागि प्राविधिक कमिटीहरु बनेका छन् । जतिसक्दो चाँडो यहाँ ल्याउने प्रयास भइरहेको छ ।’

चीनबाट आउने नेपालीलाई १४ दिनसम्म क्वारेन्टाइनमा राखिने छ । स्वास्थ्य मन्त्रालय र मुख्य सचिवको समन्वयमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले ठाउँ खोजिरहेका छन् ।

५० वार्डसम्मको आइसोलेसन वार्ड बनाउने जिम्मा नेपाली सेनालाई दिइएको छ । नेपाली सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले आफूहरुले सबैसँग हातेमालो गरेर यो चुनौतीको समाना गर्न तयार रहेको बताए । यद्यपी उनले अहिलेसम्म चीनबाट ल्याइने नेपालीलाई कहाँ राख्ने भन्नेमा ठाउँको टुंगो लागिनसकेको बताए । 

‘आइसोलेसन वार्डहरु खोज्न भनेर जानकारी आएको थियो । कहाँ कहाँ हुनसक्छ भनेर हामीले केही ठाउँ छनोट गरका छौँ,’ उनले भने, ‘आगामी दिनमा पनि सरकारले दिएको जिम्मेवारी सेनाले पुरा गर्छ । सेना सबैसँग हातेमालो गरेर यो चुनौतीको सामना गर्न तयारी अवस्थामा छ ।’

नेपाल प्रहरीका प्रवक्ता शैलेस थापा क्षेत्रीले चीनबाट ल्याइने नेपालीहरुका लागि आइसोलेसन वार्ड निर्माण लगायतका विषयमा प्रहरीलाई कुनै जानकारी नरहेको बताए । ‘हामीलाई यसबारे जानकारी छैन,’ उनले भने, ‘सरकारले व्यवस्था गरिरहेको होला ।’

सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता अजय छतकुलीले पनि चीनबाट ल्याइने नेपालीका लागि आइसोलेसन वार्ड निर्माणबारे आफ्नो संगठनलाई खासै जिम्मेवारी नआएको बताए । ‘यसमा हामीलाई खासै जिम्मेवारी दिइएको छैन,’ उनले भने, ‘भइपरि आएको अवस्थामा सरकारले खटाएको जिम्मेवारी बहन गर्न संगठन तयार छ ।’

कोरोना भाइरस संक्रमित चिनियाँ क्षेत्रमा रहेका नेपालीहरु उकुसमुकुसको अवस्थामा रहेको बेइजिङस्थित नेपाली पत्रकार लक्ष्मी लम्सालले रातोपाटीलाई जानकारी दिए ।

भारत लगायतका विभिन्न मुलुकले आफ्ना नागरिकलाई चीनबाट उद्धार गरी फिर्ता लगिसकेको अवस्थामा समेत नेपालले आफ्ना नागरिकलाई फिर्ता लैजान ढिलासुस्ती गरेकोमा चीनमा रहेका नेपालीहरु आक्रोसित भएको उनले बताए ।

नेपाल फर्कन इच्छुकका लागि फर्म भर्न लगाइएको तर त्यो पनि निकै कम समयको मौका दिइएको भन्दै चीनमा रहेका नेपाली असन्तुष्ट छन् । संक्रमित क्षेत्रमा केही सातादेखि बजार बन्द, खानपिनको अभावजस्ता कारणले जनजीवन कष्टकर रहेको छ । अर्कोतिर नेपालीलाई स्वदेश फिर्ता लैजानका लागि सरकारले ढिला गर्दा आफूहरु असहायजस्तो भएको महसुस चीनमा रहेका नेपालीहरुले गरिरहेको पत्रकार लम्सालको भनाइ छ ।
चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस अहिले विश्वका करिब दुई दर्जन मुलुकमा फैलिइसकेको छ ।

विश्वका विभिन्न २७ वटा मुलुकमा १७९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३६२ पुगेको छ । गत डिसेम्बरमा पहिलो पटक संक्रमण देखिएयता आइतबार बिहानसम्म चीनमा मात्रै तीन सय ६१ जनाको मृत्यु भइसकेको चीनको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ । 

यो भाइरसको त्रास विश्वमै बढ्दो छ । नेपालमा पनि एक जनालाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप