रोल्पाली युवाको मृत्यु अझै रहस्यमा
![रोल्पाली युवाको मृत्यु अझै रहस्यमा](https://rpcdn.ratopati.com/media/albums/youth-death_J3DJsAYZOO.jpg)
गुल्मी । यही माघ १६ गते बिहीवार गुल्मीको छल्दी पनाह खोलामा डुबेको अवस्थामा मृत फेला परेका रोल्पाका एक युवाको मृत्युबारेको रहस्य अझै खुल्न सकेको छैन । रोल्पाको सुनाछहरी गाउँपालिका–३, बाहिरिगामका १८ वर्षीय चनु भन्ने चन्द्रबहादुर बुढा गुल्मीको ईस्मा गाउँपालिका–२ को स्याँला गाउँ तल छल्ती पनाह खोलामा बिहीबार दिउँसो करिव ३ बजे मृत फेला परेका थिए । स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
सोही वडाको रातचौर र वारी रेसुङ्गा नगरपालिका–३ को अर्खले जोड्ने पक्की पुल निर्माण र त्यो सँगैको सडकमा नाली ढलान गर्ने काममा ज्यामीका रुपमा काम गरेका उनी एक्कासी बेपत्ता भएका थिए । उनी निर्माणस्थलभन्दा माथि (हिँडेर करिव आधा घण्टाको दुरीमा पर्ने) खोलामा मृत फेला परेका थिए ।
डुबेर मृत्यु भएको भनिएको शव निकालेर हेर्दा टाउको, निधार, आँखा र घुँडामा चोट लागेको पाइएको थियो भने डुबेको भनिए पनि पेट नफुलेका कारण पानी नपिएको स्पष्ट भएको ईस्मा गाउँपालिका–२ का वडाध्यक्ष टिकाबहादुर रेश्मी बताउँछन् ।
१३ गते कपिलवस्तुबाट त्यस निर्माणस्थलका पेटी ठेकेदार विनोद रोकाले चन्द्रबहादुरसहित ५ जना युवा कामदार लिएर गुल्मी आएका थिए । १४ गते तम्घास बसे । १५ गतेदेखि काममा लागेका थिए । काम लागेको पहिलो दिन साँझ नै चन्द्रबहादुरले आफुलाई काम मन नपरेको भन्दै घर जान्छु भनेर साथीहरुसँग भनेका थिए ।
उनीसँगै आएका राजु कुमाल भन्छन्, ‘पहिलो रात त ऊ सुत्नै सकेको थिएन । घर जान्छु भन्दै रोइ रहन्थ्यो ।’
बेपत्ता हुनुको एक डेढ घण्टा अघि पनि घर सम्झेर उनी रोएको देख्ने साथीहरु छन् । सँगै काम गर्ने रोल्पा कै राजु सुनारले भने, ‘बिहान ७ बजे काममा गएर ११ बजे खान खान मेसमा आएका थियौँ । त्यही बेलामा उसलाई एक जना साथीको फोन आयो । उसले भक्कानिएर अहिले फोन राख, पछि म आफैँ गर्छु भनेर राख्यो ।’ त्यसपछि उनी आफु बस्ने घरको छतमा गएर बर्बरी आँशु खसाल्दै गरेको आफूले देखेको सुनारले बताए ।
सुनारका अनुसार त्यसपछि उनीहरु साढे १२ बजेतिर काममा गए भने चन्द्रबहादुरलाई पेटी ठेकेदार रोकाले अलि तल पुलमा ठेला गाडा लिन भनि पढाएका थिए । अर्का पेटी ठेकेदार दाङ घर भएका मधु महराले पनि उनलाई देखेका थिए । ‘गाडा बिग्रेको छ, नलैजाउ’ भनेपछि चन्द्रबहादुर विपरित दिशातर्फ हिँडेका थिए ।
मृतकका बाबु देवबहादुर घर्तीले छोराको मृत्यु स्वभाविक नभएको भन्दै अनुसन्धान गरि पाउँ भनि जाहेरी दिई शव बुझेर लगेका छन् । आइतबार कपिलवस्तुमा उनको दाहसंस्कार गरिएको परिवारजनले बताए ।
चन्द्रबहादुरले तीन महिना अघि किनेको झण्डै ३२ हजार पर्ने मोबाइल सेट नभेटिनुले पनि कसैले लुट्ने क्रममा हत्या ग¥यो कि भन्ने आशङ्का उत्पन्न भएको स्थानीय शिवराज जैसी बताउँछन् । आफन्तजनले शवको प्रकृति हेर्दा चन्द्रबहादुरलाई खोलाले बगाएर वा डुबेर मृत्यु भएको विश्वास नै गर्न नसकिने ठहर गरेका छन् ।
कपिलवस्तुमा बर्खाको भेलमा समेत पौडी खेलेर बगेको मान्छेलाई तार्ने र खोलाका मुढाहरु समेत झिक्ने गरेका चन्द्रबहादुर हिउँदको सङ्लो र पातलो छल्दी खोलाले बगाएर वा डुबेर मर्ने कुरा त कल्पना पनि गर्न नसकिने परिवारजन बताउँछन् । चन्द्रबहादुर डुबेको खोलामा करिब डेढ फिट पानी छ ।
उनको शवभन्दा अलि माथि बाँध छ । शव पाइएको स्थानभन्दा नजिकै स्याँला गाउँको बस्ती छ । अलि माथि अग्लो भिर छ । स्याँला गाउँकी २० बर्षीया हिरा कुमालले पहिलो पटक चन्द्रबहादुरको शव देखेर सबैलाई खवर गरेकी थिइन् ।
गत एसईई परीक्षामा सामेल भएका चन्द्रबहादुर घरबाट बाहिर ज्यामी काम गर्न हिँडेको यो पहिलो पटक भएको बाबु देवबहादुरले बताए । दुई छोरामध्ये उनी कान्छा थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनाङको नेस्याङ केन्द्र बनाएर भूकम्पको धक्का
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
६ वर्ष बित्यो, सुरु भएन चक्रपथको दोस्रो खण्ड विस्तार
-
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री
-
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती
-
सहकारीको पैसामा मिटरब्याजको धन्दा, खाली चेक लिँदै, मुद्दा हाल्दै