बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

शालीनदीको मन्दिर व्यक्तिको जग्गामा : भेटीमा दाजुभाइको लुछाचुँडी (भिडियोसहित)

अदालत र नगरपालिकाको दुईथरी आदेश
सोमबार, २० माघ २०७६, १० : ०४
सोमबार, २० माघ २०७६

पौष शुक्ल पूर्णिमादेखि माघ शक्ल पूर्णिमासम्म १ महिना काठमाडौँको साँखुमा लाग्ने यो वर्षको शालीनदी मेलाको समापन नजिकिँदैछ । तर, शालीनदीमा रहेका धार्मिकस्थलको भेटी उठाउने बारेको विवाद भने साम्य भएको छैन । 

शालीनदी खोला पारी चन्द्रावतीको मूर्ति र गोमाकुटी छ । मेला चलेका बेला लाखौँ भक्तजनले पूजा गर्ने सो ठाउँ सार्वजनिकस्थल भने होइन । व्यक्तिको निजी जग्गामा रहेको सो स्थलमा महिनाभरीमा लाखौँ रुपैयाँ भेटी चढाइन्छ । अहिले भेटी र जग्गाको विवाद अहिले त्यहाँको नगरपालिका, प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय र अदालतसम्म छाएको छ । 

गोमाकुटी

जस्तो छ विवादको जरो

चन्द्रावती र गोमाकुटी रहेको सो जग्गामा २०६६ सालदेखि विवाद सुरु भएको थियो । शालीनदी पारी हाल मेला चलेको जग्गाका तल्सिङ राजेन्द्र श्रेष्ठ थिए ।

त्यसको मोही थिए देकुबहादुर रञ्जित । मोही रहेका देकुबहादुरको मृत्यु भएपछि उनका ३ भाई छोरामध्ये कान्छा छोरा शिवरामले सो जग्गा आफ्नो नाममा लगे ।

तर सो जग्गा अंशवण्डा नभएको जग्गा (अवण्डा जग्गा) रहेको गङ्गारामका छोरा गगन रञ्जित बताउँछन् ।

यसअघि, देकुबहादुरका ३ छोरा र उनकी श्रीमतीले हरेक वर्ष पालैपालो भक्तजनले चढाएको भेटी उठाउने गरेका थिए ।

तर, अवण्डा भएको जग्गा पाउनुपर्ने भन्दै शिवरामका दुई दाजुले जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गरे ।

त्योभन्दा पहिले पनि उनीहरुबीच त्यहाँको पुजारी को बस्ने बारेमा विवाद भएको थियो । विवाद मिलाउन काठमाडौँका सहायक जिल्ला अधिकारीले देकुबहादुरकी श्रीमति र उनका ३ भाइ छोरालाई हरेक वर्ष पालैपालो मन्दिरको पुजारी बस्ने निर्णय गराएका थिए ।

सोही अनुसार पालैपालो मन्दिरको पुजारी बसिरको बेला शिवरामले मुद्दा जिते । मुद्दा जितेपछि उनले आफ्नो जग्गामा रहेको मूर्तिको पुजारी आफूमात्रै बस्ने बताउँदै आलोपालो पद्धति नमान्ने बताए ।

उनले जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएर शान्ति सुरक्षा कायम गराउनुका साथै आफ्नो जग्गामा रहेको मन्दिरको पूजा गर्ने पत्र लिएर आए ।

यो वर्ष गङ्गारामको पुजारी बस्ने पालो थियो । आलोपालो नमान्ने भएपछि दाजुभाइबीचको विवाद चर्किन थाल्यो ।

गङ्गाराम गोमा कुटीमा केही दिन पुजारी बसेपछि दाजुभाइबीच झगडा नै भयो । झगडापछि गङ्गारामले शङ्खरापुर नगरपालिकाको न्यायीक समितिमा उजुरी गरे । 

नगरपालिकाले दुई पक्षलाई राखेर मिलाउने प्रयास गरेको तर दुबै मिल्न नसकेको शंखरापुर नगरपालिकाका मेयर सुवर्ण श्रेष्ठ बताउँछन् । गङ्गाराम र शिवरामलाई पटक–पटक प्रहरी र नगरपालिकाले मिल्ने अवसर पनि दियो । तर गोमा कुटी छोड्न दुवै दाजुभाइ तयार भएनन् ।

गङ्गारामले पालैपालै पुजारी बस्ने कुरामा अड्डी लिए भने शिवरामले जिल्ला अदालतबाट मैले जितेको जग्गा किन दिने भनेर अडान लिए ।

दुई पक्षबिच मेलमिलाप हुने अवस्था नभएपछि नगरपालिकाको न्यायीक समितिले अर्को फैसला नहुञ्जेलका लागि शालीनदीको चन्द्रावतीको मूर्ति र गोमा कुटीको भेटी आफैले लिने निर्णय ग¥यो । साथै त्यसको सुरक्षा गर्न महानगरीय प्रहरी प्रभाग साँखुलाई गत माघ ७ गते अनुरोध ग-यो ।

शालीनदीको मुख्य आकर्षण मध्येको चन्द्रावती मूर्ति र गोमाको झुपडी पनि हो । त्यही विषयमा दाजुभाइको लडाइँले मेला नै प्रभावित हुने भएपछि शान्ति सुरक्षा कायम गर्न सो क्षेत्रमा सुरक्षाका लागि प्रहरी परिचालन गरिएको महानगरीय प्रहरी प्रभाग साँखुका इन्चार्ज गोविन्द पन्थीले रातोपाटीलाई बताए ।

जिल्ला अदालतको शिवरामको पक्षमा फैसला गरेपछि उनका दाजु गङ्गारामले उच्च अदालत पाटनमा रिट दायर गरे । अदालतले भने गङ्गारामलाई सो जग्गामा रहेको मूर्तिमा पूजा गर्न अवरोध नगर्नु भनेर अन्तरिक आदेश दिएको छ । साथै मुद्दाका पक्ष र विपक्षलाई माघ २२ गते अदालतमा हाजिर हुन पनि आदेश दिएको छ ।

सो जग्गाधनी रहेका शिवराम रञ्जित शंखरापुर नगरपालिकाका सवारी चालक समेत हुन् ।

दुईथरी आदेश, चेपुवामा प्रहरी

अहिले शालीनदी खोला पारी रहेको गोमा कुटीमा नगरपालिका कर्मचारी भेटी सङ्कलन गर्न बसेका छन् भने प्रहरीले सुरक्षा दिइरहेको छ । भक्तजनले चढाएको भेटी हरेक साँझ बोरामा प्याकिङ गरेर त्यसमा लाहाछाप लगाएर साँखु प्रहरी प्रभागका इन्चार्ज गोविन्द पन्थीले हस्ताक्षर गरेपछि नगरपालिकाको कार्यालयमा लाने गरिएको छ ।

प्रहरी निरिक्षक पन्थीले भने, ‘पारदर्शी होस्, भोलीले कसैले प्रश्न उठाउने ठाउँ नहोस् भनेर उठेको भेटीमा लाहा छाप लगाएर नगरपालिका लाने गरिएको छ । हामीले सो क्षेत्रमा सुरक्षा र निगरानी समेत गरिरहेका छौँ ।’

नगरपालिकाले त्यहाँको भेटी आफ्नो जिम्मामा लिइरहेको अवस्थामा गत माघ १७ गते उच्च अदालत पाटनले गङ्गारामको पक्षमा अन्तरिम आदेश दिएको छ । उनीहरु पनि सो आदेश बोकेर प्रहरी कार्यालयमा पुगेका छन् ।

अर्को आदेश नभएसम्म गोमा कुटीको भेटी नगरपालिकाले लिने न्यायिक समितिले अन्तरिक आदेश दिएको छ भने अर्कोतिर उच्च अदालत पाटनले अर्को आदेश नभएसम्मका लागि गङ्गारामलाई पुजारीको काम गर्न अवरोध नगर्नु भन्ने अन्तरिक आदेश दिएको छ । दुई थरी आदेशले प्रहरीसमेत अप्ठेरोमा परेको प्रहरी निरिक्षक पन्थीले बताए ।

उच्च अदालतले दिएको अन्तरिम आदेशमा नगरपालिकालाई त्यहाँबाट हट्नु पनि नभनेको देखिएकोले अहिले नगरपालिकालाई पूजास्थलबाट हटाउन सक्ने अवस्था नरहेको उनले बताए । पन्थी हरेक साँझ भेटीमा लगाइएको लाहाछापमा हस्ताक्षर गर्न गोमा कुटी पुग्ने गरेका छन् । उनले हस्ताक्षर गरेपछि नगरपालिकाका कर्मचारीले भेटी कार्यालयमा ल्याउने गरेका छन् । 

मेला अवधीभर लाखौँ रुपैयाँ भेटी उठ्ने सो स्थलबाट शिवरामका दाजुभाइले भेटी लिँदै आएकोमा यसवर्ष नगरपालिकाले लिनु उचित भएको साँखुका संस्कृतिविद् प्रकाशमान श्रेष्ठले बताए ।

महिना दिनसम्म चल्ने सो मेलाअवधीर २० लाख भन्दा बढी भक्तजन जाने गरेका छन् ।

खोलाको धार परिवर्तनपछि सार्वजनिक जग्गा दर्ता, गोमाको कुटी नै नक्कली

व्यक्तिको निजी जग्गामा धार्मिकस्थल परेपछि त्यसलाई सार्वजनिक बनाउनुपर्ने माग परिवारभित्र बाटै उठेको छ ।

शिवरामका भतिज समेत रहेका शालीनदी सुधार समितिका पूर्व अध्यक्ष गगन रञ्जित त्यहाँ पहिले जग्गा नभएको आफूले सुनेको बताउँछन् । साथै सो स्थानलाई सार्वजनिक स्थल बनाउन उनको माग छ । उनले आफू शालीनदी सुधार समितिको अध्यक्ष भएको बेलादेखि नै सो कुरा उठाएको बताए । उनले भने–‘भगवान पनि कोही व्यक्तिको मात्र हुन्छ त ? त्यो ठाउँमा सार्वजनिक स्थल बनाउनुपर्छ । मैले आफू समितिको अध्यक्ष भएको बेलादेखि नै यो कुरा उठाउँदै आएको छु । मठ मन्दिर पाटी पौवा निजी हुन सक्दैन ।’

शङ्खरापुर नगरपालिकाका मेयर सुर्वण श्रेष्ठ अहिले चन्द्रावतिको मूर्ति र गोमा कुटी भएको ठाउँमा पहिले खोलाको धार रहेको बताउँछन् । पछि नदीले धार परिवर्तन गरेपछि २०२१ सालमा व्यक्तिले जग्गा दर्ता गरेको आफूले सुनेको उनको भनाइ छ ।

साँखुका संस्कृतिविद् प्रकाशमान श्रेष्ठ ‘सक्व’ शालीनदीमा रहेको सो गोमा कुटी पछि खडा गरिएको बताउँछन् । अहिले चन्द्रवतिको मूर्ति र गोमाकुटी भएको ठाउँमा पहिले नदीको धार रहेको र पछि नदीले धार परिवर्तन गरेपछि त्यहाँ जग्गा खडा गरिएको उनले बताए ।

आफू बाल्यकाल छँदा सो ठाँउमा चन्द्रावति कुटी बनाइएपनि गोमा कुटी भने पछि खडा गरेको बताए । वास्तविक गोमाकुटी लप्सेफेदीको खोलाछेउमा रहेको उनको भनाइ छ ।

उनले भने, ‘हामी बाल्यकालमा शालीनदीमा पौडी खेल्न जान्थ्यौँ । त्यहाँ छेउमा चन्द्रावती कुटी बनाइएको थियो । त्यो बेला गोमा कुटी नै थिएन । पानी परेको बेला हामी चन्द्रावटी कुटीमा ओत लाग्न जान्थ्यौँ । गोमा कुटी त शालीनदीमाथि लप्सेफेदीको खोलाको पुल पारी रहेको छ ।’

चन्द्रावति कुटीको विषयमा पनि विवाद भएपछि सो हटाइएको बताउँदै उनले अहिले गोमाकुटीबाट आउने भेटी नगरपालिकाले लिनु उचित भएको उल्लेख गरे ।

सार्वजनिक जग्गा बनाउन नगरपालिकाको पहल

धार्मिक महत्त्व बोकेको सो ठाउँलाई सार्वजनिक स्थल बनाउँन पहल थालेको नगरपालिकाका मेयर श्रेष्ठले जानकारी दिए । भेटीको विषयमा दुई पक्षबिच विवाद भएपछि नगरपालिकाको न्यायीक समितिले दुबै पक्षलाई तारिखमा बोलाएर अध्ययन गरिरहेको उनले बताए । लाखौं तीर्थालुको आस्थाको केन्द्रमा विवाद हुन नहुने भन्दै सो ठाउँलाई सार्वजनिक गर्न काठमाडौँ उपत्यकाका विकास प्राधिकरणसँग छलफल गर्ने उनले बताए । सो क्षेत्र प्राधिकरणको स्मार्ट सिटीभित्र परेकाले जग्गाधनीलाई अर्को जग्गा वा मुआब्जा दिएर सो क्षेत्रलाई सार्वजनिक बनाइने उनको भनाइ छ । त्यहाँबाट उठेको भेटीको रकम शालीनदीलाई व्यवस्थित बनाउनका लागि खर्च गर्ने मेयर श्रेष्ठले जानकारी दिए ।

हेर्नुहोस भिडियो :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप