बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

एमसीसी र महिला सभागितामा नेतृत्वले लचकता देखाउँँदा नेकपामा उत्साह

आइतबार, १९ माघ २०७६, १९ : ५८
आइतबार, १९ माघ २०७६

काठमाडौं । सत्तासिन दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय समितिको दोस्रो पूर्ण बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ । नेताहरुले बैठक पूर्ण सफल भएको रुपमा अथ्र्याएका छन् । नेकपा बागमती प्रदेशकी इन्चार्ज अष्टलक्ष्मी शाक्यले बैठक सोचेभन्दा पनि उपलब्धिमूलक भएको प्रतिक्रिया दिइन् । उनले भनिन्, ‘केन्द्रीय समितिको बैठकको व्यवस्थापन के होला कसो होला भन्ने लागको थियो । विषयबस्तु पनि कसरी उठान् होलान् ? त्यसलाई कसरी निष्कर्षमा पुर्याउने भन्ने लागेको थियो । सोचेचन्दा राम्रो गरी बैठकको व्यवस्थापन भयो । त्यही ढंगले सम्पन्न भयो ।’

उनले केन्द्रीय सदस्यको पनि खुलेर प्रशंसा गरिन् । ‘राजनीतिक, सांगठनिक र विधान संशोधन प्रतिवेदनमा पेस भए, जुन एजेण्डा अहिलेको अवस्थामा आवश्यक थियो । त्यसमा पनि जुन कमी कमजोरी देखिका दिए, त्यसमा केन्द्रीय सदस्यबीच बृहत्त छलफल भयो,’ उनले भनिन्, ‘केन्द्रीय समस्यहरुले मैले साह्रै पाकोपन देखेँ । देशलाई कसरी अगाडि बढाउने, पार्टीलाई कसरी अगाडि बढाउने भनेर चिन्ता गरेको पाइयो । राष्ट्रिय परिस्थितिको सवालमा दुरदराजमा बसेर उहाँहरुले ज्ञान लिएको पाइयो ।’

केन्द्रीय सदस्यको सुझावले पार्टी नेतृत्वलाई निकर्षमा पुग्न सहयोग गरेको इन्चार्ज शाक्यको भनाइ थियो । ‘समूहगत छलफलमा उहाँहरुले धेरै महत्वपूर्ण कुरा राख्नुभयो । जसले नेताहरुलाई निष्कर्षमा पुर्याउन सघायो,’ उनले भनिन्, ‘अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बैठकको समापनमा जुन कुरा राख्नु भयो, त्योसम्म ल्याउनका लागि केन्द्रीय सदस्यको महत्वपूर्ण सुझाव सहयोग पुर्याएको जस्तो देखियो ।’

प्रचण्डले पार्टीको स्थायी समिति र सचिवालयमा विधान बमोजिम महिलाको उपस्थिति ३३ प्रतिशत पुर्याउने प्रतिबद्धता व्यक्त गरेका थिए । नेकपामा अहिले नौ सदस्यीय सचिवालयमा एकजना पनि महिला छैनन् । यस्तै ४४ जनाको स्थायी समितिमा २ जना मात्रै महिला छन् । बैठकमा केन्द्रीय सदस्यको जोडदार मागपछि प्रचण्डले बाध्य भएर महिला सभागिताको प्रतिबद्धता जनाएको उनको बुझाइ छ ।

‘महिला र पुरुष कमरेडहरुले जोडदार ढंगले महिला सहभागिताको कुरा उठाउनुभयो,’ इन्जार्च शाक्यले भनिन्, ‘अब छिट्टै सचिवालय पनि महिलाको सभागिता गराउने र स्थायी कमिटीमा महिलाको संख्या थप्ने र ३३ प्रतिशत महिलाको उपस्थिति गराउने कुरा भएको छ । यसलाई सकरात्मक रुपले बुझ्नुपर्छ ।’

उनका अनुसार केन्द्रदेखि स्थानीय तहसम्म एकजना उपाध्यक्षमा महिला अनिर्वाय गर्ने कुरा पनि उठेको थियो । शाक्यले भनिन् ,‘त्यो महाधिवेशनबाट गरौँला भन्ने कुरा भयो । नेतृत्व पितृसत्तात्मक सोचबाट अलि माथि उठेको भान भएको छ ।’ यद्यपि, केन्द्रीय समितिले वामदेव गौतमलाई उपाध्यक्षको वैधानिकता दिएको थियो ।

यस्तै एमसीसीमा पार्टीभित्र देखिएको विवादलाई पनि केन्द्रीय समितिले सहज अवतरण गराएको छ । बैठकको एजेण्डासमेत नबनेको अवस्थामा नेतृत्व एमसीसीबारे ध्यान कार्यदल बनाउन तहमा पुगेको छ । शाक्यले भनिन्, ‘एमसीसीको विषय बैठकको एजेण्डा थिएन । तर समूहगत छलफल प्रशस्त कुरा उठ्यो । अनि त्यसको अध्ययन कार्यदल बनाउने ठाउँमा पुगियो ।’

बैठकको उद्घाटनमै पार्टी प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओलीले यथाशिघ्र एमसीसी पास गर्नुपर्नेमा जोड दिएका थिए । एमसीसीबारे बैठकमा भएको छलफलबारे उनले भनिन्, ‘धेरै नेताहरुले छलफल गर्नुपर्छ, अध्ययन गर्नुपर्छ  र सहमतिका साथ पास गर्नुपर्छ भनेर सुझबुझका साथ कुरा राख्नुभयो । त्यसले अध्ययन कार्यदल बनाउने ठाउँमा पुग्यो ।’

केन्द्रीय कमिटी बैठकले अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन(एमसिसी)बारे सुझाव दिन  पार्टी वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ । समितिमा पार्टी नेता भीमबहादुर रावल र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली रहेका छन् ।

यस्तै नेकपामा झाँगिदो गुटगत राजनीतिबारे नेतृत्वले आत्माआलोचना गर्नुलाई सकारात्मक रुपमा बुझिइएको पाइएको छ । ‘अध्यक्षद्वयको प्रतिवेदनमै गुटगत गतिविधिबारे आत्मआलोचना भएको छ । त्यो सबैभन्दा राम्रो कुरा हो,’ शाक्यले भनिन्, ‘पार्टीभित्र गटु अन्य गर्नुपर्छ । विचार कमजोर हुँदा गुट झाँगिएको हो ।’

नेकपा स्थानी समिति सदस्य राजेन्द्र पाण्डेले पनि नेतृत्वले आत्मआलोचना गर्नुले पार्टीमा विधि विधानबाट चल्ने आशा बढेको बताए । उनले भने, ‘यो २० महिनाको बीचमा पार्टी नेतृत्वले के–के गर्नुपथ्र्यो ? किन गरिएन ? समयमा बैठक किन बोलाइएन भन्ने खालका आवाज उठे । त्यसबाट नेताहरुलाई हामीले गल्ती ग¥यौं । आत्माआलोचना गर्छौै भन्ने ठाउँसम्म गुग्न बाध्य बनाइयो । अब पार्टी विधि विधानअनुसार चल्छ होला ।’
अध्यक्ष प्रचण्डले बैठकमा केन्द्रीय सदस्यहरुबाट आएका आलोचनालाई स्वीकार गर्दै भविष्यमा पार्टीमा आलोचना आउन नदिने र कार्यकर्ताको कुरा सुनेर अगाडि बढ्ने बताएका थिए । 

बैठकमा सदस्यको सुझावका आधारमा पार्टीमा गुटबन्दी र पूर्वघटकको मान्यता माथिल्लो तहबाटै अन्त्य गराउन दुवै अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सङ्कल्प गरे । यता केन्द्रीय समिति बैठकको समापन सत्रमा अध्यक्ष ओलीले पार्टी एकताबद्ध रहेको बताए । ओलीले भने, ‘हामीलाई फलानो गुटको भनेर यति टाउका यतातिर यति टाउका यतातिर भनिएको छ । टाउका जोडेर सञ्चारमाध्यममा समाचार प्रकाशित गरिएको छ । हामी कुनै गुटका होइनौं । नेकपा गुटका हौं ।’ बैठकले नेतृत्वमा अब तानाशाहका रुपमा उपस्थिति हुनु हुँदैन भन्ने सन्देश दिएको पाण्डेले बताए । 

‘हामी केन्द्रीय समितिका साथीहरुको छलफलबाट निचोडका आधारमा हिँड्नुपर्छ । अब हामी समय समयमा यस्ता बैठक गर्दै  कतिपय विचारहरु बनाउँदै अगाडि बढ्नुपर्छ नेताहरुले महसुश गरेको पाइयो,’ उनले भने । बैठकले पार्टीद्वारा सरकार निर्देशित हुनपर्छ भन्ने कुराको प्रधानमन्त्रीलाई महसुस गराएको उनले बताए । ‘प्रधानमन्त्रीले पार्टीद्वारा सरकार निर्देशित हुनपर्छ, पार्टीको विचार सिद्धान्तबाट हिँड्नुपर्छ भन्नुभएको छ,’ उनले भने, ‘जसले मरुभूमिमा पानी परेको जस्तो भएको छ । यसले पार्टीमा उर्जा दिन्छ ।’ 

शीर्ष नेताको सम्पत्ति छानबिन गर्न उठेको विषयलाई केन्द्रीय अनुशासन आयोगले अध्ययन गर्ने र निर्वाचन प्रणालीलाई कम खर्चिलो बनाउन र जनमुखी प्रणाली स्थापित गर्नका लागि बहस सञ्चालन गर्ने निर्णय पनि भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप