शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

वुहानमा रहेका १७७ नेपाली विद्यार्थी फिर्ता ल्याइँदै, संक्रमितलाई नेपालमै यसरी गरिनेछ उपचार

आइतबार, १९ माघ २०७६, १७ : ११
आइतबार, १९ माघ २०७६

 काठमाडौँ । चीनको वुहानमा रहेका  १७७ नेपाली विद्यार्थीलाई नेपाल ल्याइने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी १७७ जना विद्यार्थीलाई नेपाल ल्याउने तयारी भएको जानकारी दिएको हो । चीनको वुहानमा कोरोना भाइरसको संक्रमण फैलिएपछि नेपाली विद्यार्थीलाई नेपाल फिर्ता ल्याउन लागिएको हो । 

बेइजिङस्थित नेपाली दूतावासले उहानमा रहेका नेपाली विद्यार्थीहरुलाई सुरक्षित तबरले नेपाल ल्याउनका लागि फाराम भर्न शनिबार नै सूचना जारी गरिसकेको छ । 

उनीहरुलाई नेपाल ल्याइँदा चीनबाट प्रस्थान गर्ने विमानस्थलमा स्वस्थ्य परीक्षण हुनेछ भने त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा पनि फेरि स्वास्थ्य परीक्षण गरिनेछ । 

चेकजाँचको क्रममा संक्रमण भएको पाइए उपत्यकाको विभिन्न अस्पतालमा व्यवस्था गरिएको आइसोलेसन वार्डमा राखी उपचार गर्ने व्यवस्था सरकारले मिलाएको छ । 

यस्तै कोरोनाको संक्रमणको आशंका भएकालाई पनि अन्तर्राष्ट्रिय मापदण्डअनुसार दुई साता निगरानीमा राखिने मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका प्रवक्ता मोहन प्रसाद श्रेष्ठले शंकास्पद हवाइ यात्रुलाई दुई हप्ता निगरानीमा राख्नका लागि १ सय ५० जना अट्ने क्षमता भएको भवनको खोजी  भइरहेको जानकारी दिए । 

चीनबाट आएका नेपाली नागरिकलाई  छुट्टै क्वारेन्टइनमा राख्नका लागि  भक्तपुरको विद्युत तालिम केन्द्र, स्टाफ कलेज जावलाखेल र कृर्तिपुरको केही सम्भावित क्षेत्रहरुको अवलोकन  गरिरहेको उनले बताए ।

सरकारले नेपालीलाई उद्दार गर्न जहाज तयारी अवस्थामा राखेको भएपनि कहिले पठाउने भन्नेबारे चाहिँ टुंगो लागिसकेको छैन । 

कोरोना भाइरस वुहानबाटै फैलिएको हो भने अहिले चीनमा यो रोगले भयावह रुप लिएको छ ।

नोवेल कोरोना भाइरसको संक्रमण फैलिएपछि वुहानबाट अमेरिका,जापान, श्रीलङ्का, अष्ट्रेलिया लगायतका मुलुकले आफ्ना नागरिकलाई स्वदेशमा फर्काइसकेको छन् ।

वैदेशिक रोजगारीमा जाने नागरिकमाथि लुट
वैदेशिक रोजगारीमा जाने नागरिकलाई कोरोना भाइरस जाँच्ने नाममा  विभिन्न स्वास्थ्य संस्थाहरुले आर्थिक लुट मच्चाएको प्रवक्ता श्रेष्ठले बताए । अन्य मेडिकल चेकजाँचसँगै कोरोना भाइरसको जाँच गर्ने भन्दै नागरिकबाट महँगो शुल्क उठाएको उनले बताए । 

मन्त्रालयको अनुमतिबिना विभिन्न ल्याब तथा स्वास्थ्य संस्थाहरुले नागरिकलाई झुक्याउने काम गरेको उनले बताए । जवरजस्ती कोरोना भाइरसको टेष्ट गराउनेलाई कारबाहीको दायरामा ल्याउने समेत उनले बताए ।

यसैबीच चीन लगायत विभिन्न राष्ट्रमा नोवेल कोरोना भाइसरको संक्रमण फैलिएपछि काठमाडौं उपत्यकामा मास्कको अभाव हुन थालेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप