शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

आँखा पोल्ने र बर्बरी आँसु झार्ने ग्याँस

अश्रुग्याँसले कसरी काम गर्छ ?
आइतबार, १९ माघ २०७६, ०५ : ५८
आइतबार, १९ माघ २०७६


२०४६ सालको आन्दोलनको बेलाको घटना हो । पञ्चायती व्यवस्थाको अन्तको माग गर्दै जुलुस काठमाण्डौको रत्नपार्कमा अगाडि बढिरहेको थियो । बागबजारमा पुलिसको ठुलै जमात खडा थियो । अचानक “डुंग” ‘गोली पड्केकोÚ आवाज आयो । जुलुसमा सहभागी सबै झस्के । त्यत्तिकैमा जुलुसको भीडनेरै धुँवाको सानो मुस्लो देखियो । सबैका आँखा तीब्र रुपमा पोल्न थाले । कसै कसैको त छाला पनि चिलाउन र पोल्न थाल्यो । कत्तिलाई चाहिँ खोकी लाग्न थाल्यो । यस्तो स्थिति खप्न नसकेर जुलुस तितरबितर भयो । त्यत्तिकैमा पुलिसले लाठीचार्ज पनि गर्न थाल्यो । कसैको टाउको फुट्यो, कसैको हात भाँच्चियो । आँखानै खोल्न नहुने गरी पोलिरहेको बेलामा प्रहरीले लाठीचार्ज पनि गर्न थालेपछि जुलुसमा सहाभागीहरुको भागभाग भयो । अर्थात जुलुस विथोलियो र फेरि केही क्षणपछि मात्र यो सम्हालियो ।

यो २०४६ सालका आन्दोलनको बेलाको एउटा सामान्य घटना हो । त्यसबेला प्रहरीले जुलुसलाई विथोल्न अश्रुग्याँस प्रयोग गरेका थिए । प्रहरीले त्यस अश्रुग्याँसको प्रयोग गर्दा गोली पड्केको जस्तो अवाज आएको थियो, धुँवको सानो मुस्लो देखिएको थियो र जुलुसमा सहभागीहरुलाई आँखै खोल्न नहुने गरी पोलेको थियो ।  

यो त एउटा उदाहरण हो । भीडलाई नियन्त्रण गर्न अश्रुग्याँसको प्रयोग हरेक आन्दोलनहरुमा प्रहरीले गर्ने गरेका छन् । नेपालमा मात्रै हैन, विश्वका अन्य भागहरुमा पनि भीडलाई नियन्त्रण गर्न अश्रुग्याँसको प्रयोग हुने गर्छ ।

आखिर हो के यो अश्रुग्याँस भनेको ? यसले गर्छ कसरी काम ? आउनुहोस यसबारे सामान्य चर्चा गरौं ।

अश्रुग्याँस भनेको वास्तवमा रासायनिक अस्त्र हो । विशेष गरी यो अस्त्र प्रहरीले जुलुस तथा भीडलाई तितरबितर पार्न प्रयोग गर्छ ।

अश्रुग्याँस वास्तवमा विशेष किसिमको रासायनिक पदार्थहरुको वाष्पिकृत रुप हो । अर्थात, विशेष किसिमको रसायनको वाफको नै अश्रुग्याँस हो । अश्रुग्याँसको रुपमा प्रयोग गरिने रसायनहरु धेरै छन् । तर पनि मुख्य गरेर अश्रुग्याँसमा बेसी प्रयोग गरिने रसायन क्लोरोएसेटोफेनोन (Chloroacetophenone) नै हो । किनभने, अश्रुग्याँसको रुपमा यो रसायन अन्य  रसायनहरुको तुलनामा बेसी प्रभावशली हुन्छ । क्लोरोएसेटोफेनोन बाहेक, अश्रुग्याँस ब्रोमोएसीटोन, जाइलल ब्रामइट, क्लोरोपिकरिन जस्ता रसायनहरुबाट पनि बनाइन्छ ।

अश्रुग्याँसमा माथि उल्लेखित रासायनिक यौगिकहरु झोल अवस्था (तरल रुप) मा प्रयोग गरिएका हुन्छन् । तिनीहरुलाई प्रयोग गर्नका लागि बम, हथगोला वा गोलीमा हालेर विष्फोट गराउँदा उत्पन्न तातोले गर्दा ती रासायनिक यौगिक वाफ बन्न पुग्छ र बाक्लो धुँवा जस्तो निस्कन्छ । त्यही धुँवालाई हामी अश्रुग्याँस भन्दछौं ।

अश्रुग्याँसले शरीरको सबै अंगहरुमा प्रभाव पार्छ । अश्रुग्याँस परेको अंगमा पोल्ने, चिलाउने जस्ता शारीरिक पीडाहरु हुन्छन् । त्यसबाहेक, अश्रुग्याँसले हाम्रो घाँटी पोल्ने, घाँटी चिलाउने, खोकी लाग्ने जस्ता प्रभावहरु पनि पार्दछ । तर पनि मुख्य  गरेर, अश्रुग्याँसले आँखामा नै विशेष प्रभाव पार्दछ । अश्रुग्याँसले भेट्टाए छि हाम्रो आँखामा खुर्सानी परे जस्तो गरी अति पोल्छ । फलतः हाम्रो आँखबाट बरर आँसु आउँछ । वास्तवमा हुन्छ के भने, हाम्रो आँखामा लैकरीमल ग्लान्ड्स अर्थात अश्रुग्रन्थीमा आँसु उत्पादन हुन्छ । अश्रुग्याँसले हाम्रो आँखाको आँसु बनाउने त्यही ग्रनथीलाई उत्तेजित पार्छ र आँसु आउछ । यसरी अश्रुग्याँसले हाम्रो आँखाबाट अति बेसी आँसु निकाल्ने भएकोले अश्रुग्याँसमा प्रयोग गरिने रासायनिक यौगिकलाई लैकरीमेटर्स पनि भनिन्छ । यसको अर्थ ‘आँसु निकाल्ने’ हो ।

त्यसो त अश्रुग्याँसको प्रभाव क्षणिक हुन्छ । यसको प्रभाव केही मिनेटमै आफै हराएर जान्छ । अझ, अश्रुग्याँस प्रहार हुनेबित्तिकै पानीको सम्पर्कमा आयो भने त त्यसको प्रभाव नै हुँदैन । त्यसैले अश्रुग्याँस प्रहार गर्दा तत्कालै पानीमा भिजाएको रुमालले आँखा पुछेमा र शरीरमा पानी दलेमा अुश्रुग्याँसले खासै असर पार्दैन ।

इतिहास पल्टाएर हेर्ने हो भने, अश्रुग्याँसको प्रायोग जुलुस तथा भीडलाई तितरबितर पार्न मात्र हैन, युद्धमा समेत भएको पाइन्छ । विशेष गरी प्रथम विश्वयुद्धमा अश्रुग्याँसको बेसी नै प्रयोग भएको थियो । त्यसबेला यो ग्याँसले अति ठूलो महत्त्व पाएको थियो । त्यसबेला, अश्रुग्याँसमा प्रयोग गरिने रसायनहरु बेसी हालिन्थ्यो । फलतः त्यसको दुष्प्रभाव पनि बेसी नै हुन्थ्यो । त्यसबेला प्रयोग गरिने अश्रुग्याँसले घाउ समेत बनाउथ्यो ।
तर आजभोलि त यो ग्याँस त्यस्तो डरलाग्दो हुँदैन । यो खालि जुलुस वा आक्रोशित जनसमुहलाई अगाडि बढ्नबाट रोक्न वा भीडलाई तितरबितर पार्न मात्रै प्रयोग गरिन्छ ।

Title Photo: https://www.newstatesman.com

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप