बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

शान्तिको कामना गर्दै करम पूजा

शनिबार, १८ माघ २०७६, २० : ३६
शनिबार, १८ माघ २०७६

झापाको मेचीनगर–१५ मा सन्थाल समुदायले  शान्ति, पितृ उद्धार र प्राकृतिक विपत्तिबाट जोगिन परम्परागतरुपमा करम पूजा गरेका छन् । आयोजकका अनुसार पूजालाई पहिलोपल्ट मदिरामुक्त तुल्याइएको थियो । 
मोरङ जिल्लाबाट यहाँ आएका सन्थाल पुजारीले गाउँको माझमा निर्माण गरिएको पूजास्थलमा आज बिहान दियो बाली मन्त्र जपेपछि  पूजा शुरुआत गरिएको थियो । पूजामा प्रदेश नं १ का सांसद गोपाल बुढाथोकी, मेचीनगरका नगरप्रमुख विमल आचार्य, उपप्रमुख मीना उप्रेतीलगायतको सहभागीता रहेको थियो ।
शुक्रबारदेखि निराहार व्रत बसेका ती समुदायले आज पूजा सकेर नदीमा नुहाएपछि मात्र खानपिन गर्छन् । पुजारी लक्ष्मण शरणले करम पूजामा माछामासु र मदिरा प्रयोग नगरिएको जानकारी दिए । उनीहरुले पूजामा ढोल बजाउँदै सिठी फुकेर नाचगान गरेका थिए ।
उनले अब पूजाआजामा मदिरा र मासु नचलाउन प्रोत्साहित गर्न थालिएको बताए ।   पूजाको आयोजक मेचीनगर–१५ भिन्डीबस्तीका माझीहाडाम् (मुख्य मान्छे) कमलेश मर्डीले मेची नदीले सन्थाल बस्ती बगाउन लागेको, गाउँमा अकाल मृत्युका घटना बढेको र अशान्ति झै–झगडा बढ्न थालेकाले पूजाको आयोजना गरिएको जानकारी दिए ।
करम पूजा सकेपछि सबै सन्थाल समुदायका व्रतालुलाई आयोजकले खिचडी खुवाउने व्यवस्था मिलाएका थिए ।  माछामासु र मदिरा नचलाइने पूर्व जानकारी दिएकाले पूजामा सहभागीको समेत सङ्ख्या सोचे भन्दा कम भएको सन्थाल अगुवा एवं माझीहाडाम् मर्डीले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप