बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

‘दार्चुलामा छाउगोठ छैन’

शनिबार, १८ माघ २०७६, १७ : ३५
शनिबार, १८ माघ २०७६

जिल्ला प्रशासन कार्यालयले जिल्लामा छाउपडी भए पनि छाउगोठ नभएको जनाएको छ । गृह मन्त्रालयले छाउगोठ भत्काउन दिएको निर्देशनपश्चात छाउपडी प्रथा उन्मूलन सम्बन्धमा जिल्ला प्रशासन कार्यालयले जिल्लाभरि गरेको सर्वेक्षणमा छाउगोठ नभएको जनाएको हो ।

छाउगोठ सम्बन्धमा जिल्लाका नौ वटै स्थानीय तहका ६१ वडामा प्रहरीले निरीक्षण गरी छाउगोठ नभएको पाइएको जिल्ला प्रशासन कार्यालयले निर्णय गरेको छ । जिल्लाका सबै २५ प्रहरी युनिटमार्फत छाउगोठको अवस्थाबारे निरीक्षण गरिएको थियो भने स्थानीय तहलाई समेत छाउगोठको अवस्थाबारे पत्राचार गरिएको थियो । जिल्लाभरि कुनै पनि स्थानीय तहमा परम्परागत छाउगोठ नरहेको पाइएको सहायक प्रमुख जिल्ला अधिकारी टेकसिंह कुँवरले जानकारी दिए । 
 
जिल्लामा छाउगोठ नरहेको भए पनि महिनावारी भएका बेला अलग्गै बस्ने तथा छाउ बार्ने चलन कायमै रहेकाले सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको छ । छाउपडी गोठका बारेमा कहीँबाट उजुरी आए अथवा छाउपडीबारे विभेद गरेको पाइएमा छाउपडी उन्मूलन अभियानलाई कडाइका साथ कार्यान्वय गरिने बैठकले निर्णय गरेको छ । बैठकमा प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेल, निमित्त जिल्ला न्यायाधिवक्ता गोविन्दबहादुर चन्द र प्रहरी निरीक्षक सुरेन्द्रप्रसाद जोशीको सहभागिता थियो ।

जिल्लामा महिनावारी भएको बेला दूध–दहीसमेत खान नहुने कुप्रथा छ । जिल्लाको लेकम, मालिकार्जुन गाउँपालिका तथा शैल्यशिखर नगरपालिका क्षेत्रमा छाउपडी कुप्रथा बढी छ । यहाँका किशोरीले पनि महिनावारीका बेला विद्यालय नजाने र मन्दिर प्रवेशसमेत गर्न नहुने अन्धविश्वास छ । महिनावारी भएका बेला चार÷पाँच दिनसम्म कुनै व्यक्तिलाई छुन नहुने र दूध–दही खान नदिने तथा मन्दिर भएर गए देवता रिसाउँछन् भन्ने अवस्था भने विद्यमान रहेको लेकम गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नारायण भट्टले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप