बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

अन्नपूर्ण आधार शिविर जोड्ने ‘मौरिस हर्गोज ट्रेल’

शनिबार, १८ माघ २०७६, १७ : ३३
शनिबार, १८ माघ २०७६

अन्नपूर्ण गाउँपालिका–४ नारच्याङदेखि आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको उत्तरी आधार शिविर जोड्ने ‘मौरिस हर्गोज टे«ल’ सञ्चालन गरिएको छ । नेपाल भ्रमण वर्ष २०२० का अवसरमा गाउपालिकाले पदमार्ग सञ्चालन गरेको हो । 

आठ हजार मिटरभन्दा अग्ला हिमालको पहिलोपटक आरोहण गरेका फ्रान्सका मौरिस हर्गोजका नाममा तयार भएको यो पदमार्ग नयाँ हो । हिमाल आरोहण भएको ७० वर्षपछि अन्नपूर्ण प्रथम हिमालको आधार शिविर पदमार्गले जोडेर सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले बताए । 

“आधार शिविरलाई आधारभूत स्तरको पदमार्गले जोड्नुका साथै पूर्वाधार निर्माणलाई तीव्रता दिएका छौँ,” उनले भने “नारच्याङदेखि नीलगिरिखोलाको किनारै–किनारै आधार शिविर जोड्ने पदमार्गमा पर्यटक र पूर्वाधारका लागि लगानी भित्र्याउन पहल थालेका छौँ ।” पदमार्ग तयार भएको, अन्नपूर्ण आधार शिविर म्याग्दीमा पर्ने सन्देश प्रवाह गराउन पदमार्गको प्रवेशविन्दु नारच्याङमा बिहीबारदेखि प्रथम अन्नपूर्ण पर्यटन महोत्सव शुरु भएको छ । 

महोत्सव उद्घाटनका क्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले ‘मौरिस हर्गोज टे«ल’ घोषणा गर्नुका साथै पदमार्गको नक्सा सार्वजनिक गरेका थिए । हार्जोगले १९५० जुन ३ मा अन्नपूर्ण प्रथम हिमालको आरोहण गर्दै आठ हजारभन्दा अग्ला हिमालमा पहिलो पाइला टेक्ने दुर्लभ रेकर्ड बनाएका थिए । अन्नपूर्ण प्रथम आरोहण भएको तीन वर्षपछि सगरमाथामा मानव पाइला परेकाले यसलाई जेठो हिमाल पनि भनिन्छ । यो पदमार्ग मौरिसकालीनजस्तै कठिन र ‘वाइल्ड’ रहेको संरक्षण क्षेत्र व्यवस्थापन समिति नारच्याङका अध्यक्ष तेज गुरुङले बताए । 

आठ वर्षअघि गुरुङको अगुवाइमा पदमार्ग पहिचान भएको थियो । पछिल्लो पाँच वर्षयता पर्यटन विभाग, प्रदेश सरकार, गाउँपालिका र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को रु डेढ करोड लगानीमा पदमार्ग, झोलुङ्गेपुल, फड्के पुल, सिँढी निर्माण भएको छ । पदयात्रामा आउने पर्यटकका लागि सेल्टर निर्माण भएको छ । होटल तथा लज नभएकाले क्याम्पिङ पदयात्रा गर्नुपर्ने हुन्छ । 

नारच्याङदेखि छोटेपा, हुमखोला, भुसकेत हुँदै तीन दिनमा आधार शिविर पुग्न सकिन्छ । हिमाल आरोहण मात्र नभएर झरना, ताल, हिमाल, वन्यजन्तु, वनस्पति पदमार्गका आकर्षण भएका धवलागिरि पर्यटन विकास परिषद्का अध्यक्ष अमर बानियाँले बताए । फराकिलो फाँट भएकाले दुर्घटनाको जोखिम कम भएको अन्नपूर्ण आधार शिविरमा पुग्न सकिने सबैभन्दा छोटो, रमणीय र सुरक्षित यो पदमार्ग आठ वर्षअघि पहिचान गरिएको थियो । यसअघि मुस्ताङको कुञ्जो हँुदै भिर र जङ्गलमा एक साता हिँडेर, हेलिकोप्टरमार्फत अन्नपूर्ण आधार शिविर पुग्नुपर्ने बाध्यता थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप