बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोना भाइरसको असरः वैकल्पिक पर्यटन बजारको खोजी

शनिबार, १८ माघ २०७६, १७ : ०६
शनिबार, १८ माघ २०७६

सरकारले चीनमा देखिएको कोरोना भाइरसले नेपालको पर्यटन क्षेत्रमा पार्नसक्ने प्रभावलाई मध्यनजर गरी बैकल्पिक पर्यटन बजारको खोजी गर्ने भएको छ । प्रमुख पर्यटकीय स्रोत बजारका रूपमा रहेको चीनमा फैलिएको कोरोना भाइरसले नेपालको पर्यटन क्षेत्रमा प्रभाव पार्ने सम्भावित जोखिम नियन्त्रण र वैकल्पिक पर्यटन बजारको खोजी गर्न लागिएको हो । 

कोरोनाको प्रभावका कारण चीनबाट नेपाल आउने पर्यटकको कमीलाई पूर्ति गर्न अन्य गन्तब्य बजारको खोजी गर्न संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले एउटा समिति गठन गरी काम अघि बढाएको छ । उक्त प्रयोजनका निम्ति मन्त्रालयका सहसचिव घनश्याम उपाध्याय, पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरे र नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा धनञ्जय रेग्मीको एक समिति बनाइएको छ । 
समितिलाई तीन दिनभित्र सङ्क्रमण व्यवस्थापनका लागि वैकल्पिक बजारका लागि प्रस्तावसहितको प्रतिवेदन मन्त्रालयसमक्ष पेश गर्न निर्देशन दिइएको छ ।

    चीनबाट हुनसक्ने पर्यटकको कमीलाई पूर्ति गर्न अन्य वैकल्पिक गन्तव्य बजारको खोजी भइरहेको पर्यटनमन्त्री योगेशकुमार भट्टराईले जानकारी दिए । 
कोरोना भाइसरको प्रकोपले नेपालको पर्यटन क्षेत्रमा पर्न सक्ने सम्भावित जोखिम न्यूनीकरणका विषयमा आज सरोकारवालासँगको छलफलमा उनले वैकल्पिक बजारका रूपमा खाडी मुलुकलगायतका गन्तव्यमा पर्यटन प्रवद्र्धनको काम तत्काल अघि बढाउन आग्रह गरे । 

    चिनियाँ पर्यटक कम आउने तथा होटल, एयरलाइन्सले पनि आफ्ना सेवामा कटौती गर्न थालेका सन्दर्भमा वैकल्पिक बजार खोज्नु नेपालका लागि अपरिहार्य भइसकेको छ । सन् २०२० लाई सरकारले नेपाल भ्रमण वर्ष अभियानको रुपमा मनाएर २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । भ्रमण वर्षको औपचारिक शुभारम्भ गरी प्रवद्र्धनात्मक गतिविधि सञ्चालन भइरहेको छ । भ्रमण वर्ष अवधिमा चीनबाट मात्रै पाँच लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य थियो । तर, यो लक्ष्यलाई अहिले चीनमा देखापरेको कोरोना भाइरसको प्रकोपले प्रत्यक्ष असर पुग्ने देखिएको छ । 

चीनमा फैलँदै गएको कोरोना भाइरसको प्रत्यक्ष प्रभाव नेपालको पर्यटन क्षेत्रमा पर्न जाने सम्भावना औँल्याउँदै सरोकारवालाले पनि वैकल्पिक बजारको खोजी गर्न आग्रह गर्दै आएका छन् । नेपालको प्रमुख पर्यटकीय स्रोत बजार चीनबाट वार्षिकरूपमा दुई लाखभन्दा बढी पर्यटक नेपाल आउने गरेका छन् । पछिल्ला चार वर्षको आँकडा हेर्दा चिनियाँ पर्यटकको सङ्ख्यामा निरन्तर बढोत्तरी भइरहेको छ । पर्यटन बोर्डका अनुसार चीनबाट सन् २०१६ मा एक लाख चार हजार पाँच, सन् २०१७ मा एक लाख छ हजार र सन् २०१८ मा एक लाख ५३ हजार ६३३ चिनियाँ पर्यटकले नेपाल भ्रमण गरेका थिए ।
    
अध्यागमन विभागको प्रारम्भिक तथ्याङ्कअनुसार सन् २०१९ मा झण्डै १२ लाख पर्यटक नेपाल आएका छन् । एघार लाख ९७ हजार १९१ पर्यटक आएका छन् ।    यो सङ्ख्यामध्ये चीनबाट सर्वाधिक बढी एक लाख ६९ हजार पर्यटक नेपाल भित्रिएका छन् । सन् २०१८ मा १२ लाख हाराहारी विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए ।
    
    मन्त्री भट्टराईले भ्रमण वर्ष मनाइरहेका बेला चीनबाट हुनसक्ने पर्यटकको कमीलाई अन्य गन्तव्यबाट पूर्ति गर्ने गरी बजार पहिचान र प्रवद्र्धनका कामलाई प्रभावकारी रुपमा अघि बढाइने बताए । 

    पर्यटन बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले चीनबाट हुने पर्यटकीय क्षतिलाई पूर्ति गर्न अन्य पर्यटकीय गन्तव्य बजारको खोजी र प्रवद्र्धन गरिनुपर्नेमा जोड दिए । 
कार्यक्रममा पर्यटन विभागका महानिर्देशक घिमिरेले चीनसँग सीमा जोडिएका नाकामा स्वास्थ्य कक्ष खडा गरी निरन्तर अनुगमन भइरहेको जानकारी दिए ।  अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले अध्यागमनमा कुनै समस्या नरहेको तर कोरोनाको अनावश्यक प्रचार भइरहेको गुनासो गरे । 

    त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका महाप्रवन्धक देवेन्द्र केसीले कोरोनाको सम्भावित जोखिम न्यूनीकरणका लागि विमानस्थलले विशेष सतर्कता अपनाएको बताए । 
 नेपाल एयरलाइन्सका सर्भिस निर्देशक जनकराज कालाखेती निगमका गन्तव्यमा कोरोना भाइरसको प्रकोप नरहेको र सम्भावित जोखिम नियन्त्रणका लागि आन्तरिक प्रयास गरिएको उल्लेख गगरे । 

    हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले चीनका केही गन्तव्यमा छोटो अवधिका लागि उडान सेवा स्थगन गरिएको बताए । 
 होटल एशोसिएशन अफ नेपाल हान का प्रथम उपाध्यक्ष विनायक शाहले होटल क्षेत्रमा अहिलेसम्म प्रभाव नपरेको र सदस्य होटललाई सतर्कता अपनाउन आग्रह गरिएको जानकारी दिए । 
ट्रेकिङ एजेन्सीज एशोसिएशन अफ नेपालका अध्यक्ष खोमबहादुर सुवेदीले सरकारी निकायबाट कोरोनाको प्रकोप नरहेको सन्देशसहितको विज्ञप्ति जारी गरिनुपर्नेमा जोड दिए । 

यसैबीच कोरोना भाइसरको प्रकोपबाट चीनमा रहेका नेपालीहरु सुरक्षित रहेको पर्यटन मन्त्रालयले जनाएको छ । नेपालस्थिति चिनियाँ दूतावास र चीनस्थित नेपाली दूतावासको समन्वयमा जानकारी लिइरहेको र हालसम्म कुनै समस्या नरहेको पर्यटन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले बताए । सचिव अधिकारीले कोरोना भाइरसको प्रकोपबाट सुरक्षित हुन सरकारले सबै किसिमका संयन्त्र परिचालन गरेको उल्लेख गरे । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप