शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नेकपा बैठकमा भ्रष्टाचारीलाई मृत्युदण्ड दिने कानुन बनाउन माग

शनिबार, १८ माघ २०७६, १६ : २१
शनिबार, १८ माघ २०७६

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटी बैठकमा भ्रष्टाचारीलाई मृत्युदण्ड दिनुपर्नेदेखि लिएर यति होल्डिङ्स प्रालिको जग्गा भाडा लगायतका विभिन्न अनियमितताको गम्भीर छानविनको माग उठेको छ ।

बैठकमा पेश भएका विभिन्न प्रतिवेदनमाथि समूहगत छलफलका क्रममा यस्ता धारणा आएका हुन् । 

शनिबार बसेको बैठकमा विभिन्न समूहका टोली नेताहरुले आ–आफ्नो समूहका निष्कर्ष रिपोर्टिङ गर्दै भ्रष्टाचारीलाई मृत्युदण्डको व्यवस्था गर्नुपर्ने मागसमेत उठेको जानकारी गराए । 

समूह नम्बर ५ का टोली नेता ठाकुर गैरेले आफ्नो समूहमा भ्रष्टाचारीलाई मृत्युदण्डको व्यवस्था गर्न माग उठेको जनाए । अहिले मृतयुदण्ड दिने कानुन नभएपनि सरकारले अब साे कानुन बनाउनु पर्नेमा आवाज उठेकाे थियो ।  उनले सार्वजनिक पदमा बस्नेकोसम्पत्ति छानविन गर्नुपर्ने माग पनि उठेको बैठकमा जानकारी दिए ।

सबैजसो टोलीमा यति होल्डिङ्सको जग्गा भाडामा भएको अनियमितता, बालुवाटार जग्गा प्रकरणबारे चर्चा भएको थियो । पछिल्लो समय सरकारका मन्त्रीहरु, पार्टीका नेताहरु विभिन्न काण्डमा मुछिन थालेको भन्दै उनीहरुले कडाइका साथ छानविन गरी सत्यतथ्य बाहिर ल्याउन मागसमेत गरेका छन् ।


तत्कालीन सभामुख कृष्णबहादुर महरामाथि लागेको यौन दुर्व्यवहारको आरोपमा पनि पार्टीले छानविन गर्नुपर्ने माग बैठकमा उठेको छ । समूह नम्बर १५ का टोलीनेता हिमाल शर्माले छलफलमा महरा प्रकरणमा पार्टीले गहन छानविन गर्नुपर्ने माग उठेको जानकारी गराए ।

समूह नम्बर १० मा बालुवाटार जग्गा प्रकरण, एनसेल लाभकर, यती होर्डिङ्स जग्गा विवादबारे पार्टीको दृष्टिकोण प्रष्ट हुनुपर्ने माग उठेको टोली नेता युवराज चौलागाईले बताए ।

पूर्णकुमारी सुवेदी नेतृत्वको समूह नम्बर ७ मा भने यति होल्डिङ्स, बालुवाटार जग्गा अनियमितता प्रकरणमा उच्चस्तरीय छानविन टोली गठन गरी वास्तविकता सार्वजनिक गर्न माग गरिएको छ ।

समूहगत छलफलमा केन्द्रीय सदस्य धर्मशीला चापागाईंले भ्रष्टाचारका कारण राजनीतिप्रति नै सर्वसाधारणको वितृष्णा बढ्न थालेको, सार्वजनिक पदमा पुग्ने जोसूकै पनि भ्रष्टाचारमा उद्यत हुन थालेको भन्दै भ्रष्टाचारीलाई मृत्युदण्डको सजाय हुनुपर्ने बताइन् । 

उनले समाजवाद के हो र समाजवादमा पुग्ने आधारमा के हो भन्दै प्रश्नसमेत गरिन् । ‘हाम्रो व्यवहार पूँजीवादमा गयो,’ उनले भनिन्, ‘नारामा समाजवाद, व्यवहारमा पूँजीवाद देखियो ।’

उनले नेताहरुको सम्पत्ति छानबिन हुनुपर्ने मागसमेत गरिन् । स्वास्थ्य र शिक्षालाई निःशुल्क गराउनुपर्नेमा जोड दिँदै उनले यी दुवै आधारभूत क्षेत्रका माफियालाई पार्टीमा ठाउँ दिन नहुने बताइन् । यसैबीच  १५ वटै टोली नेताले सगुहगत छलफलमा उठेको विषय रिपोर्टिङ सकेका छन् । 

अब आइतबार अध्यक्ष र महासचिवले बैठकमा उठेका प्रश्नको जवाफ दिनेछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप