केन्द्रीय संस्करण
मेराे जीवन

सेनाका पूर्वपाइलट विकाश जबराको जीवन : म हेलिकप्टर उडानमा कला देखाउन सक्छु

person explore access_timeमाघ १८, २०७६ chat_bubble_outline0
कुवेर गिरी

रातोपाटी

नेपाली सेनाका अवकास प्राप्त पाइलट विकाश जङ्गबहादुर राणा एक परिचित नाम हो ।  सेनादेखि व्यवसायसम्म उनको ठूलो नाम छ । १८ वर्ष ९ महिना सेनामा जागिरे जीवन बिताएका उनले पेन्सन हुनुअघि नै राजीनामा दिएका थिए । सेनामा रहँदा भारतीय इन्डियन एयरफोर्समा जहाज, हेलिकप्टर र ट्याक्टिकल फ्लाइङको तालिम गरेका उनी अहिले दुई एयरलाइन्स कम्पनी फिस्टेल एयर हेलिकप्टर कम्पनी र समिट एयरका अध्यक्ष हुन् ।  यस अगाडि वायु सेवा सञ्चालक सङ्घ, शिखर इन्सुरेन्सको अध्यक्ष र क्यानको बोर्ड सदस्य समेत रहिसकेका उनीसँग अन्य धेरै सङ्घसंस्थाको जिम्मेवारी निर्वाह गरेको अनुभव पनि छ । उनै विकाश जङ्गबहादुर राणाको जीवनका विभिन्न पाटा रातोपाटीको मेरो जीवन स्तम्भमा खोतल्ने प्रयास गरिएको छः

मेरो खाना
म बिहान बेलुका नै साधारण नेपाली खाना दालभात तरकारी खान्छु । योबाहेक जापनिज खाना मनपर्छ । सातामा एक दिन परिवारसँग जापानिज खानाको मज्जा लिने गरेको छु । खानेकुरामा चुजी  भने होइन ।
परिवार, साथीभाइसँग रेस्टुरेन्ट जाँदा सिफुड, जापनिज खानामा ट्याम्पुरा, स्कुइडहरु, सुसी लगायत मनपर्छ । पकाउन भने आउँदैन । तर आफ्ना लागि आवश्यक परे म्यानेज गर्नसक्छु ।  

मेरो पोसाक
धेरैजसो क्याजुअल पहिरन लगाउँछु । यस्तै पहिरन मनपर्छ । फर्मल कार्यक्रममा जानुपर्दा पनि पूरै फर्मल पहिरन प्रयोग गर्दिनँ । कम्फर्टेबल नै लाग्दैन । त्यसैले फर्मल कार्यक्रममा फर्मल पोसाक लगाउनै पर्यो भने मानिसले कुरा नकाट्ने ठाउँ राखेर मिक्स लगाउँछु । मनपर्ने पहिरन कलर कालो, सेटो, डार्क हो । ब्रान्डेट र रेडिमेट पहिरन रोज्छु । तर ब्रान्डेन नभएको पहिरन लगाउन हुन्न भन्ने सोच होइन । पहिरनमा वार्षिक डेढ लाखभन्दा बढी खर्च हुन्छ ।

मेरो फिट्नेस
मेरो नियमित क्रियाकलापमा खेल खेल्ने, एक्सरसाइज गर्ने पर्छ । पहिला १८, २० वर्ष रेगुलर टेनिस खेले । अलिअलि गल्फ पनि खेल्थे । अहिले सङ्गीततिर ध्यान गएकोले एक्सरसाइजमा कमी भएको छ ।
तर पनि दिनको एक घण्टा एक्सरसाइज नियमित गर्छु । मर्निङवाक पनि गर्छु । क्लबमा जिम गर्छु । घरका डम्बेल, ट्रेडमिलहरु छन् । तर घरमा एक्सरसाइज भने गर्दिनँ ।

मेरो अध्ययन 
पुस्ताक, फिक्सन अध्ययन गर्दिनँ । पत्रपत्रिका लगायत विभिन्न माध्यममा देश विदेशका समाचार पढ्छु । टेक्नोलोजिकल कुरा समेटिएका पुस्ताक पढ्छु । लिडरसिप, म्यानेजमेन्ट विषयका पुस्तक पनि बढ्न मनपर्छ ।

मेरो फुर्सद
मलाई फुर्सद छ । यसो भन्दैमा काम नभएको भने होइन । कामैकाम छन् । कामहरु डेलिकेट गरेर फुर्सद मिलाउँछु । कामको जिम्मेवारी कम्पनीको सीईओहरुलाई दिएको छु । डेटुडे अफियरमा म आफ्नो कुनै कम्पनी हेर्दिनँ । त्यसैले फुर्सदै छ भनौँ ।
फुर्सदमा खेलकुद, सङ्गीत र पारिवारिक काममा समय दिन्छु । घरको काम आइपरेको खण्डमा म जहिले पनि समय मिलाउन सक्छु ।

मेरो खेलकुद
पहिले १८, २० वर्ष रेगुलर टेनिस खेलेँ । अलि अलि गल्फ पनि खेल्थेँ । पल्टनमा हुँदा फुटबल पनि खेल्थेँ । मेरो घोडा सवारमा पनि रुचि थियो । राम्रो घोड्सवार पनि हुँ म । घोडा कुदाएर एक समय वीरेन्द्र सरकारको हातबाट प्राइजसमेत थापेको थिए ।
हेलिकप्टरमा पनि कला देखाउन सक्ने मानिस हुँ म । भारतीय एयरफोर्समा तालिम गर्दा हेलिकप्टर चलाउँदा पनि स्पोर्ट जस्तै खेल्न सक्ने कला सिकेको थिएँ । टेनिसमा भेट्रन च्याम्पेन समेत भए । गल्फ पनि खेल्थेँ ।
एक समय फुटबल र टेबुल टेनिसको पनि राम्रो खेलाडी थिएँ । अहिले टेनिस खेल्न छोडे । गल्फ चाँहिँ सामाजिक हिसाबले खेल्छु । टेलिभिजनमा खेल हेर्न मनपर्छ । त्यसमा टेनिस बढी हेर्छु । बक्सिङ र फुटबल पनि हेर्छु ।

मेरो मोबाइल 
अहिले मसँग दुईटा मोबाइल छ । यो दुवै आइफोन ब्रान्डका सेट हुन् । मोबाइल फोन गर्न, समाचार, सूचना थाहा पाउन, सामाजिक सञ्जाल चलाउन, युट्युबमा अन्तरवार्ता, ताजा विषयका कुराकानी र इन्ट्रेस्टिङ लागेको विषय हेर्न प्रयोग हुन्छ ।

मेरो टिभी 
हरेक साँझ नियमित २, ३ घण्टा टिभी हेर्छु । बढी हेर्न समाचार हो । देश तथा विदेशका सबै हेर्छु । अलजजिरा पनि हेर्छु । स्पोर्टमा लाइभ प्रतियोगिता बक्सिङ, टेनिस टिभीमा हेर्न मनपर्छ ।

मेरो चलचित्र
चलचित्र थोरै हेरेको छु । चलचित्र हेर्न जाऊँजाऊँ नै लाग्दैन केही गरी गएँभने पूरै मनोरञ्जनका साथ हेर्छु । पछिल्लो समय हेरेको फिल्म अहिले याद भएन । 
हिन्दी, नेपाली सबै प्रकारका फिल्म मनपर्छ । सामाजिक परिवेश, विषयवस्तु समेटिएको चलचित्र राम्रो लाग्छ । चलचित्रमा ह्युमर, रोमान्टिक र सन्देश पनि होस् भन्ने मेरो धारणा छ । 

 

मेरो भाषाशैली 
शिष्ट, नम्र र नेपालीमा प्रष्ट बोल्ने भाषाशैली नै मनपर्छ । कोही व्यक्तिका घुमाएर कुरा गर्ने बानी हुन्छ । मलाई त्यो मन पर्दैन । 
नेपालीमा अङ्ग्रेजी मिसाएर बोलेको पनि मनपर्दैन । केहीका ठाउँकुठाउँ अङ्ग्रेजी छाँट्ने बानी हुन्छ । त्यो ठीक लाग्दैन । कस्तो ठाउँका कुन भाषा उपयुक्त भन्ने जान्नुपर्छ । अङ्ग्रेजी बोल्नु, एड्भान्टेज हुनु राम्रो हो । तर त्यसको जथाभावी प्रयोग ठीक लाग्दैन ।

मेरो प्रेम 
मैले इन्टरकास्ट प्रेम विवाह गरेको हो । विवाह गरेको अहिले ४१ वर्ष भयो । उनी नेवार समुदायकी छोरी हुन् । २०३५ मा हाम्रो विवाह भएको थियो । प्रेम हुँदा म आर्मीको लेफ्टिनेन्ट थिएँ । उनी अस्कल कलेज पढ्दै थिइन् । हामी छिमेकी जस्तै पनि थियौँ । उनी कलेज जाँदा र फर्किंदा सधँै आँखा जुध्थ्यो । उनी राम्री लागिन् । सो समय प्रेमका लागि फोनमा ब्लफकल गर्ने, पछि लाग्ने चलन थियो । त्यो मैले पनि गरेँ ।
पछि लाग्दै भेट्टै जाँदा प्रेम बस्यो । त्यो समय हामीलाई प्रेमका लागि सजह भए पनि परिवारले स्वीकार्न भने गाह्रो थियो । पहिलो प्रेम प्रस्ताव मैले नै गरेको थिएँ । उनले स्वीकारिन् । विवाह भयो । त्यो प्रेम अहिले पनि चल्दैछ । त्योबाहेक बाहिर प्रेम भएन, गरिनँ ।

मेरो पेसा
पूर्व सैनिक म । सैनिक पेसा २०३२ मा सेकेन्ड लेप्टिनेन्टमा आबद्ध भएको थिएँ । मेरो आर्मीको जीवनको पूरै समय तालिममा बित्यो । कि मैले तालिम दिएँ, कि लिएँ । ३ वर्ष त खरिपाटीबाट लप्टनहरुको ट्रेनिङमा इन्स्टक्टर भएँ ।

९ वर्ष लगातार आर्मीमा विभिन्न ठाउँमा बसेर सेवा गरेँ । आर्मीमा हुँदाको मेरो चेला अहिले नेपाल आर्मीको दोस्रा हाइएस्ट पोस्टमा छन् । अहिलेको र यस अगाडिको आर्मीको चिफ साप पनि मभन्दा जुनियर हुन् ।
९ वर्ष आर्मीमा रेगुलर काम गरेपछि फ्लाइङमा आर्मीले पठाएको थियो । त्यसका लागि इन्डियन एयरफोर्समा जहाज, हेलिकप्टरको तालिम गरेँ । ट्याक्टिकल फ्लाइङको तालिम पनि गरेँ । 

यो तालिम गर्न पाउनु मेरा लागि ठूलो अवसर थियो । ट्रेनिङ गरेपछि ९ वर्ष ९ महिना आर्मीमा पाइलटको जागिर खाएँ । म पूरै १८ वर्ष ९ महिना सेनामा आबद्ध भएँ । ९ वर्ष ९ महिना आर्मीमा क्याप्टेन पाइलट भएर काम गरेँ ।

२० वर्षमा पेनसन पाक्थ्यो । एक वर्ष ३ महिना मात्र बाँकी हुँदा मैले छोडेँ । धेरैले समय छैन । पेनसन पकाउनु भन्थे । मलाई त्यस्तो लागेन छोडिदिएँ ।

किनभने बाहिर हेलिकप्टर कम्पनी खुल्ने भयो । तर पाइलट थिएनन् । त्यतिबेला हेलिकप्टर चलाउने पाइलट आर्मीसँग मात्र थियो । 

पर्यटनका लागि भनेर प्राइभेट हेलिकप्टर कम्पनी खुलेका थिए । देशको पर्यटनका लागि योगदान हुने र व्यक्तिगत रूपमा पनि राम्रो हुने ठानेर सेना छोडे । मैले ३ वर्ष प्राइभेट नेपालएर ओयज हेलिकप्टर कम्पनीमा काम गरे । त्यो कम्पनी जहाजको अपरेसनको कारणले बन्द भयो ।  त्यो कम्पनीमा जनरल म्यानेजर भएर काम गरेको म अन्त उचित जागिर मिलेन, मिलेको जागिर उचित लागेन ।
त्यसपछि दुःखसुख गरेर सानो लेभलबाट हेलिकप्टर कम्पनी आफैले खोले फिस्टिल एयर । त्यो अहिलेसम्म पनि राम्रो चलिरहेको छ । 

मेरो दुःख
दुःख रिलेटिभ कुरा हो जस्तो लाग्छ । हिजो मेरो जागिरे जीवन थियो । अभाव थियो तर त्यो समय मलाई दुःख लागेन । किनभने त्यतिबेला म आफूभन्दा तल्लो तहका सिपाहीलाई हेर्थें ।
अहिले हेर्दा दुःख हो जस्तो लाग्छ । अहिले कतिका लागि त्यो नै लग्जरियस जीवन लाग्दो रहेछ । त्यो पल्टनमा मजस्तो १२, १३ जना मात्र अफिसर थिए । त्यसैले त्यो बेला त्यो सुख नै लाग्थ्यो । आज पनि म आफूलाई सुखी, सम्पन्न सम्झन्छु । तर अहिले आर्मीका दिन सम्झँदा त मेरो जीवन कति गाह्रोमा बितेको रहेछ भन्ने पनि लाग्छ । अहिले जस्तो त्यतिबेला चाहेको चिज पुग्दैन थियो ।
मलाई लाग्छ अहिले कोही पनि सुखी छैन । दुःखभन्दा दुखीले पनि आफूभन्दा तलका मानिस हेर्ने हो भने सुख महसुस गर्न सक्छ । तर त्यो मानिसले गर्दैन ।

मेरो गीतसङ्गीत
गीतसङ्गीमा मेरो धेरै सोख छ । मेरी श्रीमतीले राम्रो गाउन सक्छिन् । उनको सङ्गतले मैले पनि गाउने इच्छा राखे । त्यसैले पनि अहिले सुरसालामा सङ्गीत विद्यालयमा अमृत क्षेत्री सरसँग नियमित सङ्गीत सिक्न थालेको छु । केही अगाडि कान्तिपुर एफएमको अवार्ड कार्यक्रममा पनि लाइभ पर्फर्मेन्स गरेको थिएँ । त्यो मेरो जीवनको पहिलो लाइफ पर्फर्मेन्स थियो । सुगम सङ्गीतका रोमान्टिक गीत सङ्गीत सुन्न मनपर्छ । गाउन भने ट्र्याजेटिभ भावका, पीडा भरिएका मनपर्छ ।

मेरो मापसे 
पहिला वाइन र बियर लिन्थेँ । अहिले करिब ३ वर्षजति भयो ह्विस्की पनि खान थालेको छु । धेरै खाने पनि होइन, रेगुलर खाने पनि होइन । तर खान्छु । साथीभाइ भेट भयो भने कहिलेकाहीँ नियमित जस्तो पनि हुन्छ । घरमा रक्सीको कलेक्सन छ । साथीभाइ, पाउना आउँदा खुवाउन सजिलो हुन्छ ।

मेरो सपना 
म जुन फिल्डमा हुन्छु त्यो क्षेत्रमा राम्रो किसिमको इमेज बनाएर स्थापित हुने सपना पहिले थियो । आफूले गरेको काममा भोलि नकारात्मक प्रतिक्रिया नआओस् । समाजमा उधारण बन्ने किसिमको बनोस् भन्ने थियो । अरूका लागि प्रेरणा मिल्ने जीवन बनाउने सपना थियो । त्यो पूरा भयोजस्तो लाग्यो । पैसा कमाउनु पर्छ अक्कल मिहिनेतले कमाउनुपर्छ भन्ने मान्यता मेरो छ । जो कोहीले राम्रो व्यक्तिको उदारण दिनु पर्दा मेरो नाम परोस् भन्ने चाहना छ ।

मेरो भूल 
जीवनमा भूल त भए होलान् । कहाँ कतिबेला भयो भनेर भन्न अहिले सकिन्न । मानिस हुँ भूल भएको छैन भन्न मिल्दैन । कतिपटक गलत डिसिजन गरियो होला ।
बिजनेसको हिसाबले पनि भूल धेरै भएका होलान् । राम्रो पनि भएको होला । विवेकले जानीजानी भूल भएजस्तो लाग्दैन । पछुताउनुपर्ने भूल अहिलेसम्म गरेको छैन । यो मावलामा म एकदमै खुसी छु ।
म जहाँबाट आएर अहिले समाजमा जे प्रतिष्ठा बनाए । यो मावलमा म सफल छु । पूर्ण सन्तुष्ट पनि । म ठूलो मानिस त होइन तर खुसी मानिस हुँ ।

मेरो रोग
एक पटक मुटुको एन्जियोप्लास्ट भयो । गेम खेल्दाखेल्दै दुःखेको थियो । त्यो समय एन्जियोप्लास्ट गरेको हो । त्योबाहेक केही अहिलेसम्म देखिएको छैन । अहिले ६२ वर्षको भएँ । म एक्सरसाइज गर्न सक्छु, दौडन सक्छु, गेम खेल्न सक्छु । म हरेक हिसाबमा फिट छु ।

मेरो राशी 
मेरो राशी मकर हो । ग्रहदशामा अलिअलि विश्वास लाग्छ । तर हेराउन हिँड्दिन । ग्रहदशाको खेल हुन्छ भनेर विश्वास लाग्छ । पूजापाठ गर्दिनँ । नास्तिक भने होइन । 

मेरो मृत्य 
मृत्य सत्य हो । यसलाई स्वाभाविक लिन्छु । तर सम्झँदा डर लाग्छ । मानिसले यसलाई साधारण भन्छन् । यो अनिवार्य हो । सबैको जाने अन्तिम बाटो मृत्यु हो । त्यसलाई आत्मसात गर्नैपर्छ । तर मृत्यु राम्रो चिज होइन जस्तो लाग्छ । त्यसैले डर भएको होला । आफूले र अन्य कसैले दुःख महसुस गर्ने गरेर मृत्यु नहोस् भन्ने चाहना छ  । मृत्यको कसलाई पो रहर हुन्छ र ?

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
Loading comments...