शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

आयात घट्यो, निर्यात बढ्यो : तर सन्तोष मान्ने ठाउँ छैन

शुक्रबार, १७ माघ २०७६, २० : ३७
शुक्रबार, १७ माघ २०७६

काठमाडौं । चालू आर्थिक वर्षको पहिलो ६ महिनामा ६ खर्ब ९४ अर्बको आयात भएको छ । भन्सार विभागको तथ्याँकअनुसार उक्त अवधिमा ४६१३ प्रकारका सामान आयात हुँदा उक्त रकम बराबरका मालवस्तु आयात भएको हो । सो अवधिमा नेपालको कूल निर्यात ५९ अर्ब ६१ करोड रुपैंया निर्यात हुँदा ७२४ प्रकारका मालवस्तु बाहिर गएका थिए । आयात र निर्यातको यो परिणामले व्यापार घाटा ६ खर्ब ३७ अर्ब रुपैंयाँ पुगेको देखिएको छ । 

नेपालमा भएको आयात अघिल्लो वर्षको तुलनामा ४.०४ प्रतिशत कम हो भने निर्यात २६.१३ प्रतिशत बढी हो । अघिल्लो वर्षको सोही समयमा ७ खर्ब २३ अर्ब रुपैंयाको अआयात तथा ४५ अर्ब ४१ करोड रुपैंयाको निर्यात भएको थियो ।

नेपालको आयात व्यापारमा पेट्रोलियम पदार्थ, फलाम, पाम आयल, मोबाइल तथा टेलिकमका सामान, चामल, हवाई पार्टपुर्जा, सोयाविन तेल, सुन लगायत छन् । यो अवधिमा १२३ प्रकारका वस्तुहरुको आयात १ अर्बभन्दा माथि रहँदा ती सामानहरुले आयातको कुल ६३ प्रतिशत हिस्सा ओगटेको छ । 

त्यस्तै, निर्यात व्यापारमा पाम आयल, सोयाबिन आयल, कार्पेट, फाइबर, यार्न, चिया, अलैंची जस्ता वस्तुहरुको योगदान उच्च छ । १३ प्रकारका मालवस्तुको आयात यो अवधिमा १ अर्बभन्दा माथि रहेकोे देखिँदा ती वस्तुहरुको योगदान ३५ अर्ब ५० करोड रहेको देखिएको छ, जुन करिब ६२ प्रतिशत हो । 

राजश्व कति उठ्यो ?

भन्सार विभागले ६ महिनामा कुल १ खर्ब ७७ अर्ब रुपैंया भन्सार राजश्व संकलन गरेको छ । यो औसत २६ प्रतिशत हो । निर्यातमा भने केही वस्तुबाहेक अरुमा निर्यात कर लाग्दैन । आयातमा लाग्ने भन्सार राजश्वमध्ये भारतबाट आएको सामानबाट १ खर्ब २२ अर्ब, चीनबाट आउने सामानबाट २६ अर्ब मात्रै राजश्व संकलन गरिएको छ, जुन कूल राजश्वको क्रमशः ६८.९२ प्रतिशत र १४.६९ प्रतिशत हो । बाँकी देशबाट आउने सामानमा बाँकी १६.३९ प्रतिशत मात्रै राजश्व उठ्ने गरेको छ । 

आयात–निर्यात अनुपात

आयातमा आएको कमी र निर्यातको वृद्धिदर उच्च हुँदा यो वर्ष आयात निर्यात अनुपातमा उल्लेख्य सुधार भएको छ । अघिल्लो वर्षको ६ महिनामा १५.९ प्रतिशत रहेको उक्त अनुपात यो वर्ष १२.१ प्रतिशतमा झरेको छ । यसको अर्थ नेपालले १०० रुपैंयाको वस्तु निर्यात गर्दा १२१० रुपैंयाको वस्तु आयात गर्छ भन्ने हो । यो महिनामा आयातको कमी अघिल्लो महिनाको भन्दा कम देदिए पनि निर्यात वृद्धिदर उच्च हुँदा आयात निर्यात अनुपातमा सामान्य सुधार देखिएको हो । तर पनि अहिलेको यो अनुपातबाट सन्तुष्ठ हुने ठाउँ भने फेरि पनि देखिँदैन । 

अहिले भारत सरकारले पाम आयलमो आयातमा प्रतिबन्ध लगाएको छ । यो प्रतिबन्धका कारण अब यो वस्तुको निर्यात व्यापार ठप्प हुने निश्चित छ । कूल निर्यात व्यापारको २४.२६ प्रतिशत हिस्सा रहेको यो वस्तुको आयात घटेपछि यो अनुपातले आकाश छुने फेरि पनि निश्चित नै छ । 

पाम आयलको निर्यात १४ अर्ब नजिक

नेपालले यो ६ महिनामा १३ अर्ब ८९ करोडको पाम आयल निर्यात गरेको छ । तर यही अवधिमा १२ अर्ब १७ करोडको सोही आयल आयात गर्यो । आयात र निर्यातको यो हिसाबले नेपालले पाम आयलमा करिब १४ प्रतिशत मात्रै मूल्य अभिवृद्धि गर्न सकेको देखिन्छ । तर उद्योग मन्त्रालयका सहसचिव तथा द्विपक्षीय तथा क्षेत्रीय व्यापार महाशाखाका प्रमुख नवराज ढकालले भने पाम आयलमा ३० प्रतिशत मूल्य अभिवृद्धि भएको दाबी गरे । 

उनले मूल्य अभिवृद्धि गणना हुने छुट्टै सुत्र हुने भन्दै आयात र निर्यातको आधारमा मात्रै मूल्य अभिवृद्धिको गणना हुन नसक्ने बताए । ‘नेपालको आन्तरिक खपत पनि हुन्छ, त्यसैले आयात र निर्यातलाई मात्रै हेरेर मूल्य अभिवृद्धि गति भयो भन्न सकिँदैन’ ढकालले भने । त्यस्तै, सोही अवधिमा७ अर्ब ९६ करोडको सोयाबिन आयल आयात भई ४ अर्ब ९७करोड रुपैंयाको आयात भएको छ । 

कुन देशसँग कस्तो व्यापार ?

निर्यात व्यापारमा सबैभन्दा बढी योगदान भारतको छ भने त्यसपछि चीन, बंगलादेश, अमेरिका लगायत मुलुक छन् । ६ महिनाको अवधिमा भारत ४० अर्ब १४ करोडको निर्यात भएको छ भने चीनसँग १० अर्ब १६ करोडको आयात भएको छ । यो हिसाबले कूल निर्यातमा भारतको हिस्सा ६७.३४ प्रतिशत, चीनको हिस्सा १७.०४ प्रतिशत तथा बाँकी अन्य देशसँग रहेको देखिएको छ । अन्य देशमा हुने निर्यातमा बंगलादेश, अमेरिका लगायत देशहरु प्रमुख रहेको विभागको तथ्यांकमा उल्लेख गरिएको छ । 

आयातमा बढी भएका ती मुलुकहरुमध्ये भारतबाट ४ खर्ब २३ अर्ब, चीनबाट १ खर्ब १८ अर्ब, बंगलादेशबाट ३ अर्ब ९० करोड तथा अमेरिकाबाट १० अर्ब २२ करोडको आयात भएको छ । भारतबाट करिब ६०.९५ प्रतिशत र चीनबाट १७ प्रतिशत तथा बाँकी अन्य देशबाट आयात भएको देखिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शंकर अर्याल
शंकर अर्याल

अर्याल रातोपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप