शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

रोल्पाली युवकको गुल्मीमा रहस्मय ‘हत्या’

शुक्रबार, १७ माघ २०७६, १९ : ३४
शुक्रबार, १७ माघ २०७६

गुल्मी ।  विहीवार साँझ गुल्मीको  छल्दिपनाह खोलामा एक युवकको शव फेला पर्यो । खोलामा बगेर  वा डुबेर नभइ कसैले युवकको हत्या गरेको आफन्तजनले दावी छ । मृतक युवक रोल्पाको सुनछहरी गाउँपालिका–३ बाहिरिगाम घर भइ हाल कपिलवस्तुको शिवराज नगरपालिका–२ हल्लानगरमा बस्ने १८ वर्षीय चन्द्रबहादुर बुढा हुन् ।

उनी माघ १३ गते अन्य चार जना साथीसँग मजदुरी गर्न गुल्मी आएका थिए । ईस्मा गाउँपालिका २ को रातचौर र रेसुङ्गा नगरपालिका ५ को अर्खले जोड्ने पक्की पुल निर्माण र पारी रातचौरको मोटरबाटोमा नाली बनाउने काममा बुढासहितका ५ जना युवा आएर काम गर्न थालेको दुई दिन मात्रै भएको थियो ।

मृतकका बाबु देवबहादुर बुढा जिल्ला प्रहरी कार्यालय  हुँदै  घटना स्थलसम्म पुगेपछि चन्द्रबहादुरको कसैले हत्या गरेर खोलामा फालेको दावी गर्छन ।

आशंकको आधार नम्वर–१

पहिलो दिन  नाली ढलान गर्ने काम गरेकै साँझदेखि उनले साथीसँग त्यहाँ काम नगर्ने र घर फर्किन्छु भन्दै थिए । उनी  घर जान्छु भन्दै रोएका पनि थिए । उनीसँगै काम गर्न  आएका कपिलबस्तु चन्द्रौटाका राजु कुमाल भन्छन्, ‘ म बस्दिन यहाँ, घर जान्छु भन्दै रोयो र त्यस रातैभर निदाएन पनि । दोश्रो दिन ( घटनाको दिन ) विहान विहान ७ बजे उठेर कोठादेखि तल नालीको काम गर्न गयौं । सदा झैं ११ बजे सम्म  सँगै काम गरियो । त्यसपछि माथि मेशमा आएर सँगै  खान खाइयो ।  करिव साढे १२ बजकोे समयमा  उही ठाउँमा काम गर्न गइयो । त्यहाँ पुगे पछि इञ्चार्जले निर्माणधिन पुलमा  गिटी बालुवा ओसार पसार गर्ने ठेला गाडा ल्याउन जाउ भनेर चन्द्रबहादुरलाई पठाए । त्यस पछि उनी आएनन् ।’ 

करिव आधा घण्टापछि  सँगै आएका अर्का साथी चन्द्रौटा कै प्रदेश घर्तिलाई खोज्न पठाए । पुल तरेर अलि माथि पक्कीबाटो हुँदै तल खेततर्फ चन्द्रबहादुर ओर्लेको केही मानिसले देखेका थिए । त्यतै तिर करिव आधा घण्टा चन्द्रबहादुरलाई खोजे उनी पर्किए ।

आशंकाको आधार नम्वर–२

 झण्डै चार घण्टा सम्म काम गर्ने स्थानबाटै सम्पर्क विहिन भएका चन्द्रबहादुरको थप खोजि किन गरिएन वा उनलाई खोज्दै नखोजी बसिएन । नखोजिएको भए किन कामदारको सुरक्षाको चासो दिइएन ? यदि उनलाई खोजी गरिएको भए को कसले खोज्यो र पछ्याउँदै गयो ?  यसको सुक्षम ढंगले प्रहरीले अनुसन्धान गर्नु पर्ने आफन्तजनको माग छ ।

पहिलो पटक गुल्मी आएका चन्द्रबहादुरले त्यो खोलाको बाटो देख्नु त परै जाओस त्यस भेगको गाउँको नाम समेत चिनेका थिएन ।  त्यो निर्माणधिन पुल भन्दा पैदल यात्रा झण्डै आधा घण्टाको दुरीमा पर्ने खोलाको बीचमा चन्द्रबहादुरको शव भेटिएको छ ।  उनको शव पहिलो पटक घर कै आँगनबाट देख्ने  स्याँला गाउँकी २० बर्षीया युवती हिरा कुमाल  हुन् ।

 उनले भनिन, ‘दिउँसो करिव ३ बजेको समयमा मान्छे डुबेको जस्तो देखँे र जेठी आमालाई बोलाएँ । जेठी आमाले ज्याकेट र पाईन्ट लगाएको छ , मान्छे नै होला । विहानसम्म त केहि देखिएको थिएन भन्नु भयो । त्यस पछि भाइहरुलाई बोलाएर हामी हेर्न गयौं , सानो ढुङ्गाले रोकिए जस्तो गरि  घोप्टो परेको अवस्थामा देखेका हौं ।’

 उनले त्यस दिन त्यो गाउँ भन्दा धेरै माथिको टोलमा कुल पुजा भएकोले गाउँमा सबै जना छोरा मान्छेहरु उतै गएकोले छोरा मान्छे गाउँमा कोही नभएका कारण दाजुलाई फोन गरेर जानकारी दिएको बताइन ।

 आशंकाको आधार नम्वर– ३

उनी  घर जान्छु भन्दै रोएको कुरा उनीसँगै आएका चारै जना साथीले मात्रै बताएनन त्यस निर्माण स्थलमा उनीहरु भन्दा पहिल्लै देखि काम गर्ने रोल्पाका अर्जुन सुनारले पनि बताए । 

‘उ घर जान्छु भन्दै रोएको कुरा हामीले इन्चार्जलाई भनेका थियौैं  । पैसा छैन भनेपछि नपठाइएको हो,’ राजु कुमालले भने ।  उनी सँग त्यस्तै २०÷ २५ रुपैयाँ मात्रै पैसा रहेको उनको भनाइ छ । शव निकाले पछि प्रहरीले पनि उनको साथबाट जम्मा २० रुपैयाँ मात्रै फेला पारेको थियो । तर उनको अगाडिको गोजीमा रहेको मोवाईल भने भेटिएन ।

उनीसँग अपो एप–९ मोडलको मोवाइल थियो । उक्त मोबाइलको भारत मै २० हजार आईसी परेकाले कतै गाउँ घरे लुटेराहरुले त्यही मोवाईल लुट्ने क्रममा प्रतिवाद गर्दा हत्या भयो कि भन्ने आफन्तजनको आशंका  छ ।

आशंका आधार नम्वर–२

कतै उनले पहिलो पटक धेरै टाढाका लागि घर छाडेको तनाव र काम मन नपरेर घर  फर्किने मन भएको तर बाटो खर्च साथमा नभएको पीडा सहन नसकी आफै खोलामा डुबेर आत्मा हत्या पो गरेकी भन्ने पनि अनुमान गरियो । तर त्यो अनुमान कुनै कोणबाट पनि मेल खाँदैन ।

जबकी पानीमा डुबेर उनले आत्मा हत्या गरेको भए उनको पेट पानीले फुलिनु÷ ढाडिनु पर्दथ्यो । उनको पेट खान खाएर आउँदा जस्तो थियो पछि उनका साथीहरु आएर हेर्दा झन तल बसेको उनै साथीहरुले बताए  ।

अर्को कुरा पानीको गहिराई पनि करिव डेढ फुट मात्र रहेको र चन्द्रबहादुरको उचाई ५ फिट छ ।    उनी तल खोलाको बाटो अर्थात वल्लोतिर बाट आएको हुनु पर्छ तर पल्लो तिर स्याँला गाउँ तर्फ  मानिसका पैतलाका तीन वटा पाईला देखिएका छन् । 

त्यसले गर्दा उनी खोलाको बाटो अलि तलै बाट छाडेर माथि गाउँतर्फको मोटरबाटोमा आएका थिए कि भन्ने देखाउँछ ।

खोलाले बगाएर मृत्यु भएको जस्तो पनि देखिँदैन । पानीको वाहव निकै कम छ । उनी आफै खोला माथिको भिरबाट हाम्फालेर आत्मा हत्या गरेकी भन्ने अनुमान गर्ने हो भने त्यहाँबाट हाम्फाल्दा  भिरको पहरो र तल खोलाको ढुङ्गामा बज्रिदा उनको शव क्षत विच्छेद् हुनु पर्दथ्यो । जवकी टाउँकामा त्यो पनि बायाँ पट्टि कसैले प्रहार गरे जस्तो  चोट छ ।

निधारमा पनि सामन्य चोट आँखामा थोरै दाग छ ।  त्यो भिरबाट  आफै हाम्फालेको  शवको अवस्थाले पटक्कै आशंका गर्न सकिँदैन । कपिलपस्तु  शिवराज नगरपालिका वडा नम्वर २ का शिवराज जैसी भन्छन्‘ घटना निकै  रहस्यमय छ  । खोलाले बगाएर मृत्यु भएको आशंका त एकरत्ती गर्न सकिँदै । कसैले हत्या गरेर फालेकै हाम्रो आशंका छ ।’

 उनको शव ईस्मा गाउँपालिका वडा नम्वर २ का वडाध्यक्ष टिकाबहादुर रेश्मीका रोहवरमा प्रहरीले निकालेको थियो । वडाध्यक्ष रेश्मी पनि यस घटनाको अनुमानै गर्न मुस्कील परेको बताए ।  खोलाले बगाएर, डुबेर ज्यान गएको होला भनौँ भने पनि पानी पिएको देखिँदैन । आफैले अन्यत्रै बिष पिएर आत्मा हत्या गरि खोलामा पसेको हो भनौ भने पनि  पोष्टमार्टमको रिर्पोटले देखाउला,’  रेश्मीले भने, ‘तर घटना  बढो रहस्यमय छ ।’

गएको बाटो किन पछ्याइएन ?

चन्द्रबहादुरलाई जब नाली ढलान गर्ने स्थानबाट करिव २ सय मिटर तल पुल निर्माण भएको स्थानमा पठाइन्छ तब उनी त्यहाँ पुगेर  दाङ्ग घर भएका अर्का साईड ईन्चार्ज मधु महरालाई भेटेर माथी  ठेला गाडा लिन पठाएका छन् भनेर भनेका थिए ।

महराले ठेला गाडा बिग्रेको छ भने । चन्द्रबहादुरले त्यही भए पनि लैजान्छु भने । उनले दिएनन । नदिए पछि उनी फर्केर उतातिर जाने मान्छे विरित बाटो जहाँ जाने कामै थिएन । जिल्ला प्रहरी प्रमुख राजेन्द्र सिंह खड्काको यस घटनाका सम्वन्धमा सोध्दा पोष्टमार्टमपछि  अनुसन्धान  गरिने प्रतिकृया दिए । 

साईड ईन्चार्ज विनोद रोकाको घर पनि कपिलवस्तु नै रहेको बताइन्छ । चन्द्रबहादुरसहितका पाँच जना मजदुरहरुलाई लिन उनी आफै गएका थिए । राजु कुमललाई १० जना कामदार चाहिएको छ भनेकोमा जम्मा ५ जना मात्र लिएर रोका गुल्मी आएका थिए ।

 उक्त पुल र  त्यस तर्फको सडक निर्माणको जिम्मा गुल्मी कै सुनिल समिर निर्माण सेवा  प्रालिले लिएको हो । त्यसका प्रमुख नारायण पोखरेलले मृतकका आफन्तजनलाई भेटेका छन् । 

उनले कुनै प्रतिकृया भने दिएका छैनन । शुक्रबार  साढे ५  बजे सम्म शव पोष्टमार्टम हुन सकेको छैन । मृतकका परिवारजनले हत्या घटनाको मुद्धा दर्ता गर्ने सहमति विना शव नबुझने अडान लिएका छन ।

निर्माण कम्पनीले पनि मृतकका परिवारजनलाई क्षतिपुर्ति दिने प्रतिबद्धता जनाउनु पर्ने मृतकका  जेठा बाबुका छोरा यामबहादुर बुढा मगरले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रेम सुनार
प्रेम सुनार

 सुनार रातोपाटी प्रदेश ५ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप