बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

छोरी शिक्षा बिमाको रकम ३ लाख पु-याइयो

शुक्रबार, १७ माघ २०७६, १५ : ५०
शुक्रबार, १७ माघ २०७६

जनकपुर । प्रदेश  २ को सरकारले बेटी पढाउ, बेटी बचाउ अभियान अन्तर्गतको छोरी शिक्षा विमाको रकम ३ लाख पु-याएको छ ।

२०७५ माघ १ पछि जन्मेको छोरीहरुको १ लाखको शिक्षा बिमा गर्ने घोषणा गरेको प्रदेश सरकारले सो रकमलाई तीन लाख पु-याएको हो ।

सरकारको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री लालबाबु राउतले २०७५ माघ १ गते पछि प्रदेशमा जन्मिएकी छोरीहरु अब ३ लाख पाउने घोषणा गरेका छन् । पत्रकार सम्मेलनमा उनले भने, ‘प्रदेशमा जन्मिने छोरीहरु अब लखपति होइन कम्तिमा तीन लखिया भएकी छिन् ।’

स्थानीय सरकारहरुलाई समेत यस अभियानमा सहयोग गर्न आग्रह गर्दै मुख्यमन्त्री राउतले भने, ‘हामी अहिलेलाई तीनलाख पु-याएका छौँ, स्थानीय सरकारले सहयोग गरे भने यो रकम लाई २० वर्षमा २० लाख पु-याउने लक्ष्य लिएका छौँ ।’

छोरी शिक्षा बिमा अन्तर्गत हालसम्म करिब १५ हजार विमा प्रदेश सरकारले गरिसकेको छ । विमा गराइसकेका छोरीहरुले समेत यो सुविधा पाउने भएकी छिन् ।

यसका साथै मुख्यमन्त्री राउतले अति विपन्न दलित तथा मुस्लिम परिवारका कक्षा १ देखि ८ सम्मका छात्राहरुलाई प्रति महिना पाँचसय दिने आफूहरुको योजना रहेको र यसै आर्थिक वर्षदखि पाइलट प्रोजेक्टको रुपमा शुरु गरिने जानकारीसमेत गराए ।

मुख्यमन्त्री राउतले जनकपुरस्थित प्रादेशिक अस्पताललाई आर्युविज्ञान प्रतिष्ठानमा रुपान्तरण गरिने प्रक्रिया समेत सरकारले शुरु गरि सकेको जानकारी गराए ।

आजै सम्पन्न मन्त्रिपरिषद्को बैठकले प्रादेशिक अस्पताललाई प्रदेश आर्युविज्ञान प्रतिष्ठानको रुपमा रुपान्तरण गर्ने निर्णय गरेको छ । यसका साथै मन्त्री परिषदले मधेश आन्दोलनका शहीद परिवार तथा घाइतेहरुको दीर्घकालिन व्यवस्थापनका लागि मधेशी शहीद प्रतिष्ठान गठन गर्ने निर्णय समेत गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप