शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

भ्रमण वर्षलाई असफल पार्न एउटा समूह लागिपरेको छ: पूर्वमन्त्री पण्डित

शुक्रबार, १७ माघ २०७६, १४ : २५
शुक्रबार, १७ माघ २०७६

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य एवम् पूर्वमन्त्री लालबाबु पण्डितले नेपाल भ्रमण वर्ष–२०२० लाई सफल तुल्याउनको लागि विभिन्न सरोकारवाला निकाय आ–आफ्नो ठाउँबाट लागिपर्नुपर्ने धारणा राखेका छन् ।

शुक्रबार जधानीमा आयोजित दोलखा जिल्लाको भीमेश्वर नगरपालिका वडा नम्बर–२ दोलखास्थित् प्रेम पूर्णप्रताप फाउण्डेशन नेपालले ‘भ्रमण वर्ष–२०२०’ लाई सफल पार्नको लागि नेपाल सरकार, गैरसरकारी संस्था र व्यक्तिहरु सबैले आ–आफ्नो ठाउँबाट भूमिका खेल्नुपर्नेबारे धारणा सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री पण्डितले यस्तो बताएका हुन् । उनले भने,‘भ्रमण वर्षलाई असफल पार्नको लागि एक खालको समूह लागिपरेको छ । ती समूहलाई रोक्नको लागि सरकार प्रतिबद्ध र कटिबद्ध छ ।’

भ्रमण वर्ष सफल बनाउनको लागि वर्तमान सरकार गम्भिर भएर लागिपरेको उनको धारणा छ । वर्तमान सरकारले ‘समृद्ध नेपाल, सुखी नेपाली’ नारालाई साकार पार्नको लागि त्यहीअनुसार काम गरिरहेको पनि पूर्वमन्त्री पण्डितले विश्वास दिलाए । उनले नेपाल पर्यटनको सम्भावना बोकेको देश भएकोले प्रत्येक नागरिक र सरोकारवालाहरुले भ्रमण वर्षलाई प्रोत्साहन गर्नुपर्ने स्पष्ट पारे । 

उनले भने,‘नेपाल एउटा सुन्दर मुलुक हो । नेपाल भ्रमणको लागि विश्वमै उपयुक्त गन्तव्य हो भन्ने सन्देश हामीले विश्वभरि नै फैलाउनुपर्छ ।’ उनले भ्रमण वर्ष सफल पार्नको लागि प्रेम पूर्ण प्रताप फाउण्डेशन नेपालले महत्वपूर्ण भूमिका खेलेको भन्दै प्रशंसा समेत गरेका थिए । 

त्यस्तै, फाउण्डेशनले ब्राण्ड एम्बासडरको रुपमा अघि बढाएका ‘नेपाली माईकल ज्याक्सन’ को उपनामले चिनिने कलाकार रेवन सापकोटाले गरेका कामको समेत पण्डितले प्रशंसा गरेका थिए ।  कार्यक्रममा हाँस्यकलाकार श्रीकृष्ण सिम्खडाले कलाकारहरुको माध्यमबाट भ्रमण वर्ष सफल पार्नको लागि देशव्यापी रुपमा कार्यक्रमहरु भैरहेको सुनाए । 

फाउण्डेशनका अध्यक्ष शिवजी प्रधानले आफूहरुको मुख्य लक्ष्य भनेको नेपाल सरकारले घोषणा गरेर अघि बढाएको ‘भिजिट नेपाल–२०२०’ लाई सफल तुल्याउन भूमिका खेल्ने र कलाकार रेवन सापकोटालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिस्तरमा अघि बढाउनु रहेको सुनाए । कलाकार रेवन सापकोटाले नेपाल सरकारले सुरु गरेको भ्रमण वर्षलाई सफल तुल्याउनको लागि त्यसको प्रचारप्रसारमा विभिन्न देशसमेत पुगेको सुनाए । उनकाअनुसार चीन र भारतका विभिन्न पर्यटकीयस्थलमा पुगेका छन् । त्यस्तै, नेपालमा पनि देशव्यापी रुपमा आफू अभियानमा हिँडिरहेको उनले सुनाए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप