शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

५ ट्रिलियन डलरको अर्थतन्त्रको लक्ष्य पूरा गरेरै छाड्छौं : भारत

शुक्रबार, १७ माघ २०७६, १४ : १४
शुक्रबार, १७ माघ २०७६

काठमाडौं । भारतले ५ ट्रिलियन डलरको अर्थतन्त्रको लक्ष्य हासिल गरेरै छाड्ने जनाएको छ । भारतको लोकसभा र राज्यसभाको संयुक्त सत्रमा आर्थिक वर्ष २०२०÷२१ का लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै भारतीय राष्ट्रपति रामनाथ कोविन्दले सरकारले लिएको २०२४ भित्र ५ खर्बको अर्थतन्त्रको लक्ष्य पूरा गरेरै छाड्ने प्रतिबवद्धता व्यक्त गरेका हुन् ।

भारतले सन् २०२४ भित्र त्यस्तो लक्ष्य पूरा गर्ने लक्ष्य लिएको थियो । अहिले भारतको अर्थतन्त्र २.६५ ट्रिलियन डलर मात्रै छ । आर्थिक मन्दीको चपेटामा गुज्रिरहेको भारतले सो लक्ष्य पूरा गर्न सक्नेमा अन्तर्राष्ट्रिय संस्थाहरुले आशंका गरिरहेका छन् ।

राष्ट्रपति कोविन्दले भारतसँग अहिले ४ बिलियन डलर विदेशी मुद्रा सिञ्चिति रहेको, अघिल्लो वर्षभन्दा ३ अर्ब डलर प्रत्यक्ष वैदेशिक लगानी बढेको, गाउँका बैङ्कहरुको क्षमता बढेको, १२ ओटा सरकारी बैङ्कहरु नाफामा रहेको जस्ता तथ्याङ्कहरु प्रस्तुत गरेका थिए ।

कोविन्दले भारतमा इलेक्ट्रोनिक सामानको उत्पादन बढ्दै गएको भन्दै २०१४ मा १ लाख ९८ हजार करोड बराबर इलेक्ट्रोनिक सामान उत्पाद भएकोमा २०१९ मा ४ लाख ५८ हजार करोड पुगेको तथ्याङ्क समेत प्रस्तुत गरेका थिए । उनले अहिले भारत सबैभन्दा ठूलो मोबाइल निर्माता देश बनेको समेत दाबी गरेका थिए । त्यस्तै अन्तरिक्षमा पुग्ने भारत चौथो देश भएको समेत उनले बताए ।

भारतले आगामी वर्ष देशभर ५ ओटा औद्योगिक क्षेत्र बनाउने प्रक्रिया अघि बढेको समेत कोविन्दले बताएका छन् । त्यस्तै सरकारले प्रधानमन्त्री सडक योजनाको तेस्रो चरण सुरु गरी १ लाख २५ हजार किलोमिटर सडक बनाउने घोषणा गरेको छ । त्यस्तै जलमार्गको विस्तार गरी गंगा नदीमा ठूला जहाज चलाउने ९६० किलोमिटर मेट्रोरेल विस्तार गर्ने लगायतका योजनाहरु समेत सरकारको रहेको उनले बताए ।

त्यस्तै, देशभरका १०२ शहरमा ‘क्लिन मिसन’ सुरु गर्ने योजना समेत रहेको उनले सुनाए ।

कोविन्दले सरकारले लिएको आतङ्कवाद विरुद्धको प्रतिबद्धताको प्रशंसा गर्दै सरकारको यसको नतिजा जम्मु कश्मिरमा देख्न सकिने समेत बताए । उनले छिमेकी राष्ट्रहरुसँग कनेक्टिभिटी बढाउने समेत घोषणा गरे । भारतको ‘नेवरहुड फष्र्ट’ को नीति निरन्तर रहेको समेत उनको भनाइ थियो ।

उनले २०२२ भित्र उत्तरपूर्वी राज्यहरु सिक्किम, मणिपुर, असाम मेघालयलगायत राज्यहरुलाई देशहरु रेल्वेको नेटवर्कमा जोडिने समेत उनले बताए । उनले अन्तर्राष्ट्रिय स्तरका सबै सूचकहरुमा भारत माथि उक्लिएको समेत उनको भनाइ थियो ।

कोविन्दले आउने दशक र शतकमा भारत दुनियाँमा उदाउने घोषणा गर्दै २०२० यो दशकलाई कर्तव्यको दशक बनाउन भारतीय नागरिकहरुलाई आह्वान समेत गरे । सरकारको ‘सबका साथ, सबका विकास, सबमा विश्वास’ नारामार्फत् देशलाई माथि उठाउँदै गएको भन्दै कोविन्दले भने, ‘देशको प्रतिष्ठा दलीय प्रतिबद्धताभन्दा बढी हुन्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप