मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

नेकपा बैठकमा ‘एमसीसी’ र ‘गुटबन्दी’ को चर्चा : टोली नेताले यसरी दिँदैछन् आ–आफ्नो प्रस्तुति

शुक्रबार, १७ माघ २०७६, १० : ५४
शुक्रबार, १७ माघ २०७६

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय समिति बैठक शुक्रवार तेस्रो दिन पनि जारी छ । बिहीबारको बैठकमा केन्द्रीय सदस्यहरुले विभिन्न प्रतिवेदनहरुमाथि सामुहिक छलफल गरेका छन् । २९ जनाका दरले १५ वटा समुहमा विभाजन गरेर भएको छलफलको निश्कर्ष शुक्रबार १ बजेपछि बस्ने बैठकमा टोली प्रमुखले पूर्ण बैठकमा प्रस्तुति दिँदैछन् ।

बुधबार सुरु भएको नेकपाको केन्द्रीय समिति बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड र महासचिव विष्णु पौडेलले राजनीतिक तथा सांगठानिक र विधान संशोधन प्रस्ताव पेश गरेका थिए । तीनै प्रस्तावहरुमाथि केन्द्रीत भएर सदस्यहरुले छलफल चलाएका हुन् । काठमाडौँको राष्ट्रिय सभागृह, धुम्बाराही र पेरिसडाँडामा समुहगत रुपमा प्रतिवेदनमाथि छलफल चलाइएको थियो ।

प्रतिवदनमाथि छलफलसहित सुझावहरु दिन बनाइएका समुहमध्ये धेरैजसोले विहीबारै छलफल सकेपनि केही समुहले शुक्रबार बिहान छलफल सकेर दिउँसो १ बजेभित्र पूर्ण बैठकमा प्रस्तुति दिने तयारी गरेका छन् ।

एमसीसी र गुटबन्दीको बढी चर्चा

नेकपाको जारी बैठकमा सबैभन्दा बढी चर्चाको विषय बन्यो अमेरिकाले दिने भनेको आर्थिक सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) । समुहगत रुपमा छलफलमा जुटेका नेकपाका धेरैजसो सदस्यहरुले एमसीसीका बारेमा चासो राखेका थिए । उनीहरु कतिपयले एमसीसीले मुलुकको विकासका लागि कोसेढुङ्गा हुने भन्दै विवाद गर्न नहुने धारणा राखेका थिए भने त कतिपयले यसबारे प्रस्ट नभइ अघि बढाउन नहुने धारणा राखेका थिए । अधिकांश समुहमा अहिलेकै अवस्थामा एमसीसी स्वीकार गर्दा मुलुकको राष्ट्रियता, अखण्डता र सार्वभौमसत्ताविरुद्ध हुने भन्दै विज्ञसँगको छलफल र परामर्शपछि मात्रै अघि बढाउनुपर्ने सुझाव दिएका थिए ।

एमसीसीपछि सदस्यहरुले पार्टीमा बढेको गुटबन्दी र त्यसको असर अनि सरकारका कामकारवाहीप्रति टिप्पणी गरेका थिए । तेस्रोमा पार्टी एकतामा भएको ढिलाइले समग्र सङ्गठन नै अस्तव्यस्त भएको भन्दै पार्टीलाई चुस्त र दुरुस्त बनाउन नेतृत्वले विधिविधानलाई पूर्ण पालना गर्नुपर्ने सुझाव दिएका थिए ।


पार्टीबाट सरकार निर्देशित हुन सुझाव

एक नम्बर टोली नेता उर्मिला अर्यालले समुहगत रुपमा भएको छलफलमा धेरै विषयहरु उठेपनि महत्वपूर्ण विषयहरु तीन चारवटा भएको बताइन् । उनले छलफलमा उठेका विषयहरुलाई आफुले केन्द्रीकृत ढङ्गले शुक्रबार बस्ने बैठकमा प्रस्तुत गर्ने जानकारी गराइन् । उनले अहिले सरकारको निर्देशनमा पार्टी चल्नुपरेको अनुभव भएको भन्दै नेताहरुले पार्टीको निर्देशनमा सरकार चल्नुपर्ने धारणा राखेको जानकारी पनि दिइन् ।

‘पार्टीबाट सरकार निर्देशित हुनुपर्छ भन्ने एउटा आवाज आएको छ । एमसीसीबारे अध्ययन कार्यदल बनाएर एकमतका साथ पासगर्नुपर्छ भन्ने नै धेरैको सुझाव आएको छ । इण्डोप्यासिफिकको बारेमा प्रतिवेदनमै स्पष्ट भएकाले त्यति धेरै चर्चा भएन,’ अर्यालले रातोपाटीसँग छलफलमा उठेका विषयबारे अघि भनिन्, ‘गुटहरु नष्ट गर्नुपर्छ, पार्टी संगठन व्यवस्थित हुुनपर्छ र संगठको सुदृढिकरण सँगै आर्थिक अभियान चलाउनुपर्छ भन्ने धेरैको सुझाव रहेको छ ।’

पार्टी एकतामा भएको ढिलाइले जनतामा जान असहज भएकाले यसलाई चाडो टुङ्गोमा पुर्याउनुपर्ने सुझाव पनि धेरै सदस्यहरुको छ । त्यस्तै पार्टीको विचार र सिद्धान्तका बारेमा पनि सदस्यहरुले चासो राखेका थिए । ‘जनताको जनवादको कार्यान्वयन प्रकृया के हुन्छ ? यसका पाटाहरु के–के हुन्छन् ? समाजवादका आधारहरु कसरी तय गर्ने ? यी विषयहरु कार्यान्वयनमा ल्याउन प्रष्ट अवधारणा बनाएर जानुपर्छ भन्ने कुरा आएका छन् यीनै विषयहरुको प्रस्तुती दिने तयारी गर्दैछु’, अर्यालको भनाइ छ ।

गुटबन्दीको मुहान केन्द्रीय नेतृत्व

त्यस्तै ३ नम्बर टोलीका टोली नेता खिमलाल भट्राईले आफ्नो समुहमा राजनीतिक, साङ्गठनिक तथा विधान संशोधनका अलवा अन्य समसामयीक विषयमा समेत खुला छलफल भएको प्रतिकृया दिए । उनले खासगरी पार्टी मौलाएको गुटबन्दीबारे सदस्यहरु चिन्तित भएको भन्दै गुटबन्दी पार्टीको नेतृत्वबाटै भएको र त्यो गुटबन्दीको मुहान नष्ट गर्नुपर्ने सुझाव दिएको बताए ।

‘गुटबन्दीको मुहान केन्द्रीय नेतृत्व नै हो । यो सच्चिन जरुरी छ । त्यस्तै पार्टीका जिम्मेवारी नपाएका सवै कार्यकर्ताहरुलाई अविलम्व जिम्मेवारी दिनुपर्यो । पार्टीमा सवै कार्यकर्ता, कमिटीहरु र समर्थक सुभेच्छुक समेत परिचालन हुनेगरी राष्ट्रिय अभियान सञ्चालन गर्नुपर्छ,’ सङ्गठनात्मक रुपमा उठेका कुराहरुबारे भट्टराईले जानकारी दिए ।

त्यस्तै, राजनीतिकरुपमा सरकारले गरेका राम्रा कामहरु पनि प्रचार हुन नसकेकाले पार्टी पङ्क्तिले राम्रा कामको प्रचार गर्नुपर्यो भन्ने सुझाव आएको भट्टराईको भनाइ छ । सरकारले गरेका राम्रा काम जनतामा पुग्न नसक्नुमा साधारण कार्यकर्ताहरु भन्दा केन्द्रीय नेतृत्वको कमजोरी बढी रहेको छलफलमा सहभागीहरुको भनाई थियो । ‘पार्टीले लिएको सिद्धान्त र नीतिका बारेमा सबैको धारणा उस्तै रह्यो ।

‘नीति विचारका बारेमा ठिकै छ, संक्रमणकालीन अवस्था लिएका नीतिहरु ठीकै छन् भन्ने सुझाव आएका छन् । जनताको जनवादमा आधारित भएर समाजवाद निर्माण गर्नेगरी अघि जाने भन्ने जुन कुरा छ यसमा जनवादका विशेषता र आधारहरुअझ स्पस्ट पार्नुपर्छ,’ आएका सुझावबारे भट्टराईले जानकारी दिए ।

त्यस्तै भट्टराईले एमसीसी पास हुनेमा दुई मत नभएपनि अस्पष्ट कुराहरुलाई अझ स्पष्ट पार्न सुझाव आएको जानकारी दिए ।

संस्थागत निर्णयमा जोड

५ नम्बर टोली नेता ठाकुर गैरेले एमसीसी, कालापानी समस्या, सरकारको काम र कार्यशैलीका बारेमा नेताहरुले धारणा राखेकाले त्यही अनुसार आफुले पनि प्रस्तुति दिने जानकारी दिए ।

‘जल्दोबल्दो विषय एमसीसी, सरकारका काम, शिक्षा, स्वास्थ्य र कृषिजस्ता क्षेत्रमा देखिएका समस्यामा छलफल केन्द्रीत भएर सुझाव पनि त्यही ढङ्गले आएको छ,’ गैरेले रातोपाटीसँग भने, ‘नीतिमा स्पष्टता, नीतिको नेतृत्व र विधिविधानको कार्यन्वयन नै छलफल र सुझावका रुपमा आएका छन् ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

 फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप